‘मास्क लगाए संक्रमणबाट सुरक्षित हुन सकिन्छ’

तीन तहको कपडाको मास्क प्रयोग गर्न सकिने

जेष्ठ ३२, २०७७

अतुल मिश्र

काठमाडौँ — सरकारले लकडाउन खुकुलो पारेसँगै कोभिड–१९ संक्रमणको जोखिम बढेकाले घरबाहिर निस्किँदा मास्क अनिवार्य लगाउन विज्ञहरुले सुझाव दिएका छन् । मास्क लगाउँदा जोखिमबाट जोगिन सकिने उनीहरुको भनाइ छ । कोभिड–१९ संक्रमणका कारण विभिन्न मुलुकमा घरबाहिर निस्किँदा मास्क अनिवार्य गरिएको छ । नेपाल सरकारले पनि जनचेतना मुलक सन्देशहरुमा घरबाहिर निस्किँदा मास्क लगाउन अनुरोध गर्दै आएको छ ।

‘सरकारले मास्कको प्रयोग अनिवार्य गरेको छैन तर स्वास्थ्य मन्त्रालयले सावधानीका लागि घरबाहिर निस्किँदा मास्क लगाउन आग्रह गर्दै आएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘मेडिकल मास्क स्वास्थ्यकर्मी, उच्च जोखिम भएकाहरुलाई मात्र उपयोग गर्न प्रोत्साहन गरेका छौं ।’ उनले संक्रमणबाट जोगिन तीन तहको कपडाको मास्क प्रयोग गर्न सकिने बताए । ‘मास्क नपाइने ठाउँमा सफा गम्छा तीन तह बनाएर नाक मुख राम्ररी छोप्दा केही हदसम्म संक्रमण सर्नबाट जोगिन सकिन्छ,’ डा. अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयका इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले सबै व्यक्तिले मास्क अनिवार्य प्रयोग गर्दा संक्रमण विस्तार रोक्न सहयोग पुग्ने बताए । ‘घरमा बनाइएको कपडाको मास्कले पूर्ण सुरक्षा दिँदैन तर संक्रमित व्यक्तिबाट निस्किएको कोरोना भाइरससहित थोपालाई श्वासप्रश्वास प्रणालीमा कम प्रवेश गराउँछ,’ उनले भने ।

घरबाहिर निस्किनेहरुमा धेरैजसोले कपडाको मास्क वा मेडिकल मास्क लगाइरहेका छन् । कसैकसैले एन–९५ जस्ता मास्कसमेत लगाउने गरेको भेटिन्छ । कोभिड–१९ विरुद्घको लडाइमा मास्कको उपयोग धेरै महत्त्वपूर्ण भए पनि यो मात्रै पूर्ण होइन । ‘मास्क लगाएसँगै कम्तीमा २ मिटरको व्यक्तिगत दूरी राख्नु, साबुनपानीले नियमित हात धुनु, हातले अनावश्यक सतह र नाक मुख नछुनुसमेत महत्त्वपूर्ण छ,’ डा. अधिकारीले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि कोभिड–१९ फैलन नदिन मास्क प्रयोग गर्नुपर्ने भनेको छ । ‘अब हामीले घर वाहिर निस्किँदा मास्क लगाउने, साबुनपानीले हात धुने, भौतिक दूरी कायम राख्नेजस्ता बानी विकास गर्नुपर्छ,’ डब्लूएचओका मुख्य वैज्ञानिक डा. शौम्या स्वामिनाथनले भनिन्, ‘कोभिड–१९ श्वासप्रश्वाससम्बन्धी भाइरस हो, यो माथिल्लो श्वासनलीमा रहन्छ । धेरैजसोमा पानीको थोपाजस्तै स–साना कण एकबाट अर्को व्यक्तिमा फैलिन्छ ।’ उनका अनुसार संक्रमित व्यक्तिको मुख, नाकबाट निस्किने पानीको थोपा स्वस्थ व्यक्तिको हातमा पर्दा संक्रमण हुन्छ । यस्तो हातले पुन: आँखा, नाक, मुख छुँदा भाइरस शरीरमा प्रवेश गर्छ ।

डा. शौम्या स्वामिनाथनका अनुसार कोरोना भाइरस पानीको ससाना कणको माध्यमले १०–१५ मिनेटसम्म हावामा रहिरहन सक्छ । ‘खोक्दा, हाच्छिउँ गर्दा वा कुनै पनि प्रक्रियाले संक्रमित व्यक्तिको थुक टेबल, कुर्सी, ह्यान्डिल, वस्तु आदिमा पर्दा स्वस्थ व्यक्तिले छोएर पुन: नाक, मुख छुँदा सर्न सक्छ । तर यसरी सर्ने सम्भावना कम हुन्छ,’ उनले भनेकी छन् । डब्लूएचओ इमर्जेन्सी डिजिज एन्ड जुनोसिस प्रमुख डा. मारिया वैन केरखोवका अनुसार कपडाको मास्क मुख र नाक राम्ररी छोप्ने खालको हुनुपर्छ ।

विज्ञहरुका अनुसार ‘सर्जिकल डिस्पोजेबल’ मास्क धोएर पुन: प्रयोग गर्नु हुँदैन । पुन: प्रयोगमा आउने मास्कलाई भने दिनहुँ धोएर घाममा राम्ररी सुकाएर लगाउनुपर्छ । मास्कको प्रयोग अति विपन्नसम्म पुर्‍याउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दा गम्छा (पातलो तौलिया) मास्कका रूपमा प्रयोग गरेका थिए ।

कोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully