नरैनापुरका सबै संक्रमित निको भए

११८ संक्रमितमध्ये ११७ निको भएर घर फर्किए, एकको मृत्यु

जेष्ठ ३१, २०७७

रुपा गहतराज

नेपालगन्ज — कोरोनाको हटस्पट बनेको बाँकेको नरैनापुरका सबै संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना हटस्पट बनेको बाँकेको नरैनापुर गाउँपालिका अहिले कोरोनामुक्त बनेको छ ।

त्यहाँ देखिएका ११८ जना संक्रमितमध्ये एक जनाको क्वारेन्टाइन्मा मुत्यु भएको थियो भने बाँकी ११७ जना सबै अहिले निको भएर घर फर्किसकेका छन् ।

नरैनापुरका गाँउपालिका प्रमुख इश्तियाक अहमद शाहका अनुसार गाउँमा अहिले खुसीयाली छाएको छ । ‘धेरै दिनपछि राहत महसुस गरेको छु’ अध्यक्ष शाहले भने,‘अब विद्युतको काम सकेर गाउलाई उज्यालो बनाउँछौं ।’

भारतबाट धेरै नागरिक गाउँ फर्किएपछि त्यहाँ कोरोनाको संक्रमण सुरु भएको थियो । भारतको महाराष्ट्रमा काममा लागि पुगेका धेरै जना नेपालीहरु धमाधम घर फर्किएपछि नरैनापुरमा कोरोनाको हटस्पट बनेको थियो ।

राज्यको ठूलो शक्ति नेपालगन्जको मुख्य नाकामा केन्द्रित भएका बेला जिल्लाको भूगोल बुझेका मानिसहरुले पूर्वको यो नाका प्रयोग गरिरहेका थिए ।

बाँके प्रहरीले रातिमा गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति बनाएको थियो ।

गाउँपालिकाले लुकिछिपी गाउँमा कोही नबसून्, पहिला क्वारेन्टाइनमा बसुन् भन्ने नीति लिएर भारतबाट आएकालाई भ्याएसम्म क्वारेन्टाइनमा राखेको थियो ।

जिल्लाको पूर्वी दक्षिण यो पालिकाबाट ठूलो संख्याका मानिस भारतमा रोजीरोटीका लागि पुग्ने गर्दछन् । प्राय: कारोबार भारतीय बजारमा नै हुन्छ । कोरोनाको सुरुवाती चरणमा नेपालगन्जको वडा नं. ८ हटस्पट बने पनि पछि नरैनापुर अगाडि आयो । 

बाँकेमा हालसम्म २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५६ जना निको भएका छन् । त्यस्तै क्वारेन्टाइनमै मृत्यु भएका एक जना २५ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully