हटस्पटमै छैन कन्ट्याक्ट ट्रेसिङ

जेठ पहिलो सातादेखि संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्नेबाहेक काम भएको छैन । स्थानीय तह क्वारेन्टाइनमा बसेकालाई घर पठाउने हतारोमा छन् । कन्ट्याक्ट ट्रेसिङलगायत जोखिम रोकथाममा चासो छैन ।

जेष्ठ ३२, २०७७

दुर्गालाल केसी, मनोज पौडेल, सन्जु पौडेल

कपिलवस्तु, दाङ, रुपन्देही — प्रदेश ५ का कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ‘हटस्पट’ मानिएका जिल्लामै संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा बेवास्ता गरिएपछि समुदायमा संक्रमण फैलिने खतरा बढेको छ । जेठ पहिलो सातादेखि संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्नेबाहेक काम भएको छैन । पछिल्लो समय संक्रमितको ट्रेसिङ गर्नै छाडिएको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको मात्रै स्वाब परीक्षण भइरहेको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वाब परीक्षणको रिपोर्ट आउन दुई साताभन्दा बढी कुर्नुपर्छ । प्रतिष्ठानमा अहिले ५ हजारभन्दा बढी स्वाबका नमुनाको थुप्रो लागे पनि दैनिक बढीमा २ सय नमुनाको मात्रै परीक्षण भइरहेको छ । परीक्षणको प्रक्रियामा रहेका नमुनाको रिपोर्ट आउन नै २५ दिनभन्दा बढी लाग्ने अवस्था छ । यस्तोमा स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थित गर्न कठिनाइ भएको छ । जसका कारण स्थानीय तह क्वारेन्टाइनमा बसेकालाई घर पठाउने हतारोमा छन् । ट्रेसिङलगायत जोखिम रोकथाममा चासो छैन ।

राजपुर गाउँपालिकामा एक साताअघि घर पठाइएका ३ जनामा संक्रमण पुष्टि भएपछि दोस्रो दिन पुन: क्वारेन्टाइन फर्काइयो । भारतबाट आएर राजपुरका चारवटा क्वारेन्टाइनमा रहेका १ सय ५४ जनालाई परीक्षण रिपोर्ट नआउँदै घर पठाइएको थियो । उनीहरूलाई खोजेर फिर्ता त ल्याइयो तर संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ हुन सकेन । क्वारेन्टाइनमा बसेकाहरू घर जान हतारिँदा र घर फर्किसकेकाहरू पुन: फर्किन नमान्दा समस्या भइरहेको उक्त गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकायाले बताए । ‘भारतबाट आएर लामो समय क्वारेन्टाइनमा बसेका सबै आत्तिएका थिए । व्यवस्थापनमा पनि समस्या भइरहेको थियो,’ उनले भने, ‘प्रतिष्ठानबाट आएको पहिलो पत्रमा तीन जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ भएको जस्तो बुझियो । त्यसपछि उनीहरूबाहेक सबैलाई घर पठाइदियौं । भोलिपल्ट थप तीन जनाको रिपोर्ट पोजिटिभ आयो ।’

सानो गल्तीले ठूलो समस्या सिर्जना भएको उनको भनाइ छ । ‘संक्रमितलाई फर्काउन जाँदा गाउँलेले लापरबाही भयो भनेर विरोध गरे । सम्झाइबुझाइ गरेर बल्लबल्ल ल्यायौं,’ उनले भने, ‘संक्रमितहरू घरबाहेक अन्यत्र कतै गएको देखिएको छैन । समुदायमा संक्रमण फैलिन पाएको छैन ।’

स्वाब परीक्षणमा भइरहेको ढिलाइ र १४ दिनसम्म लक्षण नदेखिए कोरोना पोजिटिभ हुँदाहुँदै पनि घर पठाउने गरिएका कारण ट्रेसिङमा ध्यान नपुगेको हो । ‘एक सातासम्म कुनै लक्षण नदेखिए पोजिटिभ भए पनि अरूमा संक्रमण फैलिन सक्दैन,’ कोरोना विशेष अस्पताल बेलझुन्डीका सदस्यसचिव डा. सर्वेश शर्माले भने, ‘मन्त्रालयबाट पनि त्यस्तो परिपत्र भएका कारण पोजिटिभ हुँदाहुँदै घर पठाउने गरिएको हो ।’ लक्षण नदेखिएको अवस्थामा कम जोखिम भएकाले सबैको ट्रेसिङ हुन नसकेको उनले बताए ।

तर संक्रमितहरूको ट्रेसिङ हुन जरुरी रहेको बताउँछिन् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारी । ‘संक्रमितको ट्रेसिङ नगर्नु जोखिमपूर्ण छ । एउटा व्यक्तिले कति धेरैलाई संक्रमण फैलाउन सक्छ भन्ने बुझ्नुपर्छ,’ उनले भनिन्, ‘ट्रेसिङ नहुँदा हामी स्वास्थ्यकर्मीलाई समेत जोखिम भइरहेको छ । अस्पतालमा आएका बिरामी कस्ता छन् भन्ने नै थाहा नहुने भइसक्यो ।’ सुरुमा भारतबाट आएकालाई मात्रै निगरानीमा राख्ने गरेकामा अहिले सबैबाट सतर्क हुनुपर्ने अवस्था आइसकेको उनले बताइन् । संक्रमितको विवरण राख्ने र विस्तृत ट्रेसिङ गर्ने काम स्थानीय तहको हो । ‘गाउँपालिकाले हतारमा क्वारेन्टाइनबाट मानिसहरूलाई घर पठाउनु गलत हो । समग्र समन्वय र व्यवस्थापनमा पालिकाले ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘आफ्नै तरिकाले मानिसहरू पठाउन मिल्दैन । केही दिन क्वारेन्टाइनमा राख्दा के हुन्छ ? यस्तो बेला पालिकाले संयमित भएर काम गर्न सक्नुपर्छ । नत्र समुदाय जोखिममा पर्छ ।’

संक्रमितहरू सबैको ट्रेसिङ हुँदै आएको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको दाबी छ । ‘धेरैजसो भारतबाट आएर सीधै क्वारेन्टाइनमा बसेका छन् । उनीहरू अरूको सम्पर्कमा जानै पाएका छैनन्,’ उनले भने,

‘कोही कतै सम्पर्कमा गएको थाहा पाए ट्रेसिङ गरेर क्वारेन्टाइनमा राख्ने र स्वाब परीक्षण गर्ने गरेका छौं ।’ दाङमा शनिबारसम्म ९४ जनामा संक्रमण पुष्टि भएको छ । अहिले २ सयवटा क्वारेन्टाइनमा ४ हजार ९ सय जना बसिरहेका स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । जिल्लामा ६ हजार ७ सय ८८ जनाको स्वाब संकलन भएकामा अझै ३ हजार ५ सय १७ जनाको परीक्षण रिपोर्ट आइसकेको छैन ।

हटस्पटमै बेवास्ता

कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित रंगपुरका त्रियोगीनारायण जयसवाल घरबाहिर निस्किन डराउँछन् । गाउँमा संक्रमितको संख्या धेरै भएकाले उनी हिँड्डुल गर्न छाडेका हुन् । संक्रमितसित घुलमिल भएका व्यक्ति पनि खुलेआम घुम्ने गरेकाले उनी ढुक्क छैनन् ।

‘भारतबाट क्वारेन्टाइनमा बस्न आएकाहरू पहिले घरमै पुगे,’ उनले भने, ‘पछि क्वारेन्टाइनमा गएपछि कोरोना पोजिटिभ पाइयो । तर उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ नहुँदा गाउँ डुल्न डर लाग्छ ।’

महाराजगन्ज नगरपालिका हर्दौनाका श्याम प्रजापतिको अवस्था पनि उस्तै छ । ‘गाउँका दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरिएकै छैन,’ उनले भने, ‘उनीहरूका परिवार गाउँमा हिँड्डुल गरिरहेका छन् ।’ यसले संक्रमण फैलाउने चिन्ता बढेको उनले बताए । ‘घरबाहिर निस्कनै डर लाग्छ । तर सरोकारवालालाई भने मतलबै छैन,’ उनले भने । कोरोनाको हटस्पट मानिएको जिल्लामै ट्रेसिङ हुन नसकेको हो । यसमा कसैको ध्यान पुगेको देखिँदैन ।

मुलुकमै सबैभन्दा धेरै संक्रमित रहेको जिल्लामा कन्ट्याक्ट ट्रेसिङ नहुँदा यहाँको समुदाय चिन्तामा छ । सचेत र अगुवा नागरिक यसले नराम्रो अवस्था निम्त्याउन सक्ने आकलन गर्दैछन् । जिल्लामै सबैभन्दा बढी १ सय ६८ संक्रमित रहेको यशोधरा गाउँपालिकामै कन्ट्याक्ट ट्रेसिङ गरिएन । पहिलोपटक वैशाख ३० मा यहाँ १२ जना संक्रमित भेटिएका थिए । उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा ५२ जना सम्पर्कमा आएको पाइयो । जसमध्ये २५ जना अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा सँगै बसेका थिए । बाँकी २७ जना समुदायमा पुगिसकेका थिए । ‘समुदायमा गएर उनीसँग भेटेर फर्म पनि भरेर ल्यायौं,’ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले भने, ‘तर उनीहरूको स्वाब लिन सकेनौं ।’

उनका अनुसार स्वाब संकलन गर्न भीटीएमको अभाव थियो । ‘क्वारेन्टाइनकै मान्छेको स्वाब लिन सक्ने अवस्था भएन । समुदायको कसरी लिने ?,’ उनले प्रश्न गरे । कन्ट्याक्ट ट्रेसिङमा आएका समुदायका व्यक्ति सम्पर्कमा आउन नचाहेको र आफूले पनि जोरजबरजस्ती नगरेको उनको भनाइ छ । ट्रेसिङकै लागि ‘बी वान फर्म’ भरेर अनुशिक्षण पनि दिइयो । दुई अहेब र एक जना अनमी राखेर ५ वटा समिति पनि बनाइयो तर काम हुन सकेन । समिति अहिले निष्क्रिय छ । ‘पहिले अगाडि जे समस्या आयो, त्यसको समाधानमा लाग्यौं,’ गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले भने, ‘जिल्ला, प्रदेश र मन्त्रालयबाट पनि ताकेता भएन ।’

महाराजगन्ज नगरपालिकामा पनि कन्ट्याक्ट ट्रेसिङको काम हुन सकेन । यहाँ १ सय २२ संक्रमित छन् । यसकै लागि ३ वटा समिति गठन गरिएको छ । तर काम नभएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवाल स्विकार्छन् । ‘यहाँ ३० वटा क्वारेन्टाइनमा १ हजार ५ सयसम्म मान्छे थिए,’ उनले भने, ‘तिनको व्यवस्थापन गर्दा ठिक्क भयो ।’

संक्रमितको कन्ट्याक्ट ट्रेसिङ नहुँदा गाउँमा गाह्रो भइरहेको गैडहवाका नरसिंह कहारले बताए । ‘उनीहरूलाई पीसीआर पनि नगरी छाडिएको छ,’ नरसिंहले भने, ‘उनीहरूलाई देख्दा आफू तर्कनुपर्ने अवस्था छ ।’ उनका अनुसार गाउँमा ‘दहशत’ (आतंक) जस्तै अवस्था बनेको छ । ६७ संक्रमित रहेको मायादेवी गाउँपालिकामा पनि अन्य पालिकाको भन्दा सुदृढ अवस्था छैन । वैशाख २५ र २६ मा देखिएका ५ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ हुँदा १० जना सम्पर्कमा आएको देखिएको थियो । उनीहरूको बाहेक कसैको पनि कन्ट्याक्ट ट्रेसिङ गरिएको छैन । जिल्लामै पहिलो संक्रमित त्यहीं देखिएपछि मन्त्रालयको पनि ध्यान गयो । टोली आयो । कन्ट्याक्ट ट्रेसिङ गर्न आग्रह गर्‍यो । ‘हामीले पनि हरेक वडामा ३/३ जना स्वास्थ्यकर्मीको टोली बनायौं,’ गाउँपालिका स्वास्थ्य शाखाका अहेब रनकुमार श्रेष्ठले भने, ‘तर काम भने गर्न सकेका छैनौं ।’ संक्रमितहरू बढ्दै जाँदा सबैको ध्यान त्यतै गएको उनले बताए ।

३३ संक्रमित भेटिएको कपिलवस्तु नगरपालिकामा एकघन्टे अनुशिक्षणबाहेक अन्य काम नभएको नगरका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । बजेट र जनशक्ति अभावमा अन्य काम हुन नसकेको उनले सुनाए । २७ जना संक्रमित रहेको विजयनगर गाउँपालिकाको अवस्था पनि उस्तै छ । भारतबाट आएका सबै जना सीधै क्वारेन्टाइनमा बसेकाले समुदायमा संक्रमण नभएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वाईपी अधिकारीले ठोकुवा नै गरे ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने सघन रूपमा नभए पनि बिस्तारै ट्रेसिङ भइरहेको बताए । ‘क्वारेन्टाइन व्यवस्थापन, त्यहाँ बसेकाको स्वाब संकलन र परीक्षण गराउनुपर्दा धेरै समय गयो,’ उनले भने, ‘अब तीव्र गतिमा काम गर्छौं ।’ शनिबार २९ जनामा संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ३४ पुगेको छ ।

सरकारी निर्णयको असर

दैनिक संक्रमितको संख्या बढे पनि उनीहरूको सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ नहुँदा रूपन्देहीमा पनि समुदायमा संक्रमण फैलिने चिन्ता सुरु भएको छ । सुरुको अवस्थामा जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका सबैको परीक्षण गरिएको थियो ।

एक सातायता संक्रमितको पनि एकपटक मात्र परीक्षण गरिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई परिवारबाट अलग्गै बस्ने सल्लाह स्थानीय तह र तिनका स्वास्थ्य शाखाले दिने गरेका छन् । स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीका अनुसार संक्रमितको सम्पर्कमा आएका व्यक्तिबारे बुझेर पालिकामा जानकारी गराउन भनिएको छ । त्यसपछि स्थानीय तहले परीक्षणको व्यवस्था मिलाउने गरेका छन् । पछिल्लो समय नाकाबाट आएर सीधै क्वारेन्टाइनमा जाने भएकाले अन्य व्यक्तिसँग सम्पर्क नहुने र क्वारेन्टाइनमा भएकाको जाँच भइरहेकाले ट्रेसिङ घटेको उनको तर्क छ ।

अहिलेसम्म मुलुकको अवस्था हेर्दा समुदायमा संक्रमण फैलिएर महामारीको अवस्था आउने नदेखिएको बताउँछन् बुटवल कोरोना अस्पतालका चिकित्सक डा. दिनेश गौतम । ‘संक्रमण पुष्टि भएकामध्ये पनि ३/४ जनामा मात्र अन्य लक्षण देखिएको छ,’ उनले भने, ‘लक्षण नदेखिएको खण्डमा १४ दिनपछि घर पठाउन स्वास्थ्य मन्त्रालयले समेत पत्र जारी गरिसकेकाले सम्पर्कमा आएका व्यक्ति स्थानीय आइसोलेसनमा दुई सातासम्म बसेमा रोग निको हुन सक्छ ।’

अस्पतालमा आउने बिरामीको यात्रादेखि बासस्थान र परिवारसँग समेत बुझेर उनीहरूको सम्पर्कमा आएका व्यक्तिको स्थानीय तहसँगै समन्वय गरेर ट्रेसिङ गरिएको डा. गौतमले दाबी गरे । सबैको पीसीआर परीक्षण गरिएमा रोग नियन्त्रण हुने र समुदायमा नपुग्ने उनको भनाइ छ ।

प्रदेश ५ मा शुक्रबारसम्म २७ हजार १ सय ८४ को स्वाब संकलन गरिएको छ । त्यसमध्ये ७ हजार ७ सय ९ नमुनाको रिपोर्ट आउन बाँकी छ । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले आवश्यक परेको स्थानमा पुगेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको बताए । अहिले अधिकांश भारतबाट फर्किरहेकामा संक्रमण देखिएको र उनीहरू सीधै क्वारेन्टाइनमा गएकाले ट्रेसिङ आवश्यक नरहेको उनको पनि मत छ । उनका अनुसार स्थानीय तहमै गठित केस इन्भेस्टिगेसन एन्ड कन्ट्याक्ट ट्रेसिङको समूहले जानकारी पाउनासाथ सम्बन्धित स्थानमा पुगी ट्रेसिङ गरिरहेको चौधरीले बताए ।

कोरोना भाइरस

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully