नौ महिनाकी गर्भवती उनी तेस्रो पटक आमा बन्ने क्रममा छिन् । तर, सुत्केरीको मुखमै कोरोना संक्रमण देखिएपछि भने यसअघिभन्दा डराइन् र आत्तिइन् पनि । सबैतिरबाट अप्ठ्यारो रोग हो भन्ने सुनेकी उनी सोमबार निको भएर घर जाने क्रममा भने ढुक्क देखिन्थिन् ।
दुल्लु, दैलेख — सुत्केरी हुने समय आउन एक महिना पनि बाँकी थिएन । क्वारेन्टाइनमा रहेकी उनी जेठ १५ मा नियमित गर्भजाँचका लागि दुल्लु अस्पताल पुगिन् । भारतबाट आएकी हुनाले अस्पतालले उनको आरडीटी परीक्षण गर्यो । रिपोर्ट नेगेटिभ आयो । तर, अस्पताल प्रमुख डा. पूजा बीसी ढुक्क हुन सकिनन् ।
उनले सोही दिन आइसोलेसनमा राखेर पीसीआर परीक्षणका लागि स्वाब निकालिन् । दुई दिनमै रिपोर्ट आयो । उनमा कोरोना देखियो ।
दुल्लु नगरपालिका–११, कालभैरवकी २३ वर्षीया ती महिला हुन त तेस्रो पटक सुत्केरी हुँदै थिइन् । तर, उनको मनमा पहिलो पटक गर्भवती हुँदाको बेलाभन्दा बढी डरले डेरा जमायो । ‘कोरोना भएपछि गर्भको बच्चामात्र होइन, अरू दुई नानी–बाबुको चिन्ताले पनि उत्तिकै सतायो, सबैतिर अप्ठ्यारो रोग हो भन्ने सुनेकी थिएँ,’ सोमबार कोरोनामुक्त भएर घर फर्किँदै गर्दा उनले भनिन्, ‘आखिर आफूले मन बलियो बनाएर डाक्टरले भनेअनुसार गरेपछि सन्चो हुने रोग रहेछ ।’ आइसोलेसनमा बस्दासम्म सरसफाइमा विशेष ख्याल गर्दै नियमित रूपमा तातोपानी पिएको उनले बताइन् ।
आरडीटी रिपोर्ट नेगेटिभ आए पनि अस्पतालले उनका दुई वर्षीय छोरा र सोही गाउँकी अर्की ३० वर्षीया महिलालाई पनि आइसोलेसनमा राखेको थियो । यी तीनैजना सोमबार एकैसाथ निको भएर घर फर्केका हुन् । ‘ऊ गर्भवती थिई, म पनि कमजोरै थिएँ, कोरोना भएपछि अब त बाँचिन्नँ कि भन्ने लागेको थियो,’ अर्की महिलाले भनिन्, ‘आखिर मन दह्रो बनाएपछि जस्तो रोगलाई पनि पचाउन सकिने रहेछ ।’
दुल्लु नगरपालिकाले कोरोना संक्रमितका लागि छिउडी स्वास्थ्य चौकीलाई कोरोना विशेष अस्पताल बनाएको छ । संक्रमितको उपचार र निगरानीका लागि डा. प्रशान्त चौलागाईंको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको छ । डा. चौलागाईंलाई पनि गर्भवती र अस्वस्थ महिलाको अवस्था हेर्दा समयमै निको हुनेमा शंका नलागेको होइन । यसका लागि सबैभन्दा पहिले उनले विशेषगरी गर्भवती महिलालाई दुई घण्टासम्म ‘काउन्सिलिङ’ गरे । ‘कोरोना सजिलै निको हुने रोग हो, तपाईंको साथमा हामी छौं, चिन्ता मान्नु पर्दैन भनेर उहाँलाई मानसिक रूपमा बलियो बनाउने काम गर्यौं,’ डा. चौलागाईंले भने, ‘त्यसपछि पनि उहाँको आत्मबल बढाउन अन्य विधि अपनायौं, जसले गर्दा कोरोनाका लक्षण नदेखिएरै निको हुनुभयो ।’ अर्की महिलालाई भने रुघाखोकी र ज्वरोको औषधि खुवाउनु परेको उनले बताए ।
ग्रामीण क्षेत्रमा रहेको उक्त स्वास्थ्य चौकीमा नगरपालिकाले १० सिलिन्डर अक्सिजनको व्यवस्थासहित उपचारको राम्रो प्रबन्ध मिलाएको छ । तीन जना डिस्चार्ज भइसकेपछि अहिले त्यहाँ ११ जना उपचाररत छन् । नगरप्रमुख घनश्याम भण्डारीले संक्रमितलाई ओसारपोसार गर्न दुल्लु अस्पतालको एउटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको बताए । ‘सामान्य अवस्थाका संक्रमितलाई यहीँ उपचार गर्ने र जटिल अवस्था देखिएमा सुर्खेत लैजानका लागि एम्बुलेन्स तयारी अवस्थामा छ,’ उनले भने, ‘हामीले कोरोना आइसक्यो भन्दै आत्तिने र उपचारमा बेवास्ता गर्ने गरेका छैनौं ।’ कोरोना भाइरसमुक्त भएकोमा तीनै जनालाई बधाई दिँदै उनले गाउँमा गएर सावधानीसाथ बस्न र अरूलाई सचेतना फैलाउन आग्रह गरे ।
संक्रणमुक्त दुई महिला र बालक भारतको राजस्थानबाट आएपछि जेठ ९ बाट क्वारेन्टाइनमा बस्न थालेका थिए । क्वारेन्टाइनमै रहेका उनीहरूका श्रीमान्लाई भने संक्रमण देखिएको छैन । आफूहरूलाई मात्र कोरोना कसरी भयो भन्ने कुराले उनीहरू अचम्मित छन् । ‘बाटोमा आउँदा हूलमूलमा कोहीसँग लसपस भएर भयो कि गाडीमा आउँदा भयो, पत्तै पाइएन,’ ३० वर्षीया अर्की महिलाले भनिन्, ‘आखिर जहाँबाट सरे पनि निको भइसक्यो, अब अरू दाजुभाइ, दिदीबहिनी पनि हामीजस्तै हाँसीखुसी भएर घर फर्केको सुन्न पाउँ ।’ छिटो निको हुनका लागि आत्मबल बलियो बनाएर बस्न र सरसफाइमा ध्यान दिन उनले सुझाइन् ।
दैलेखमा बुधबारसम्म ३ सय ८६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ४२ जना दुल्लुका छन् । जिल्लामा निको भएर घर फर्किनेको संख्या भने चार जना मात्रै छन् । यी तीन जनाबाहेकका व्यक्ति नारायण नगरपालिकाको आइसोलेसनबाट डिस्चार्ज भएका थिए । दुल्लुकै नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेका एकको भने जेठ १७ मा हृदयाघातका कारण मृत्यु भएको थियो ।
दुल्लु अस्पतालकी प्रमुख डा. बीसीले अब नगरको आइसोलेसनमा रहेका संक्रमितको संख्या ३८ जना रहेको जानकारी दिइन् । उनका अनुसार ११ जना छिउडीस्थित स्वास्थ्य चौकीको कोरोना विशेष अस्पतालमा र २७ जना द्रोणाचल क्याम्पसको आइसोलेसनमा छन् । उपचारका क्रममा स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई भने दुई सेटमात्र मौज्दात छ । पुन: प्रयोग गर्न मिल्ने पीपीई भने सबै चिकित्सक र स्वास्थ्यकर्मीसँग एक/एक सेट रहेका उनले बताइन् । ‘दिउँसो दुइटै ठाउँमा चिकित्सकको टोली नै बसेर उपचार र स्वास्थ्य अवस्था जाँच्ने काम गर्छ, राति भने अन्य स्वास्थ्यकर्मीले निगरानी राख्नुहुन्छ,’ उनले भनिन्, ‘अहिलेसम्म संक्रमितहरूको अवस्था सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था छैन ।’
कर्णालीमा ३५ जना डिस्चार्ज
कर्णालीमा कोरोना संक्रमण बढिरहँदा डिस्चार्ज हुनेको संख्या बढिरहेको छ । सामाजिक विकास मन्त्रालय र विभिन्न अस्पतालका अनुसार बुधबारसम्म ३५ जना संक्रमित निको भएर घर फर्केका छन् ।
शुक्रबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा रहेका ७ जना घर फर्केका थिए । बुधबार थप ६ जनालाई डिस्चार्ज गरिएको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए । दैलेखमा पनि चार जना डिस्चार्ज भएका छन् । तीन जना दुल्लुस्थित कोरोना विशेष अस्पतालबाट र एक जना सदरमुकामस्थित आइसोलेसनबाट डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । उनका अनुासार मंगलबार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका १८ जना घर फर्केका छन् ।
उपचारका क्रममा वा आइसोलेसनमा रहेको अवस्थामा कसैको पनि मृत्यु नभएको डा. तिवारीले बताए । उनका अनुसार हालसम्म प्रदेशमा कोरोना संक्रमित तीन जनाको मृत्यु भए पनि दुईको ‘होम क्वारेन्टाइन’ मा र १ जनाको क्वारेन्टाइनमा मृत्यु भएको थियो । तीनै जनामा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
कर्णालीमा बुधबारसम्म ७ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये अधिकांशमा कोरोनाका लक्षण नदेखिएको चिकित्सकहरूको भनाइ छ । डा. तिवारीले संक्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा सम्बन्धित जिल्लाकै आइसोलेसनमा राखिएको बताए ।
