मृत्यु हुनेमा जटिल स्वास्थ्य समस्या भएका धेरै

मृत्युदर ० दशमलव ३७ प्रतिशत, निको हुने दर १३ प्रतिशत, संक्रमित ८० प्रतिशतलाई कुनै लक्षण छैन

जेष्ठ २७, २०७७

अतुल मिश्र

काठमाडौँ — नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेमा पहिलेदेखि जटिल स्वास्थ्य स्थिति भएकाहरू धेरै छन् । केही व्यक्तिमा कोरोना संक्रमण भए पनि एक्कासि मृत्यु भएको देखिएको छ । सोमबारसम्म १४ जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ । यो कुल संक्रमितको मृत्युदर ० दशमलव ३७ प्रतिशत हो ।

संक्रमितमध्ये ८० प्रतिशतलाई कुनै लक्षण देखिएको छैन । ‘हालसम्म मृत्यु भएकाहरूको तथ्यांक विश्लेषण गर्दा पहिलेदेखि नै अन्य समस्याले कमजोर भएका व्यक्तिको संक्रमणबाट मृत्यु भएको देखिन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी भन्छन्, ‘अधिकांशको मृत्यु हुने बेलामा सास फेर्न गाह्रो भएको देखिएको छ ।’

उनका अनुसार हालसम्म तीन जनाको मृत्युसम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको र अन्यमा पहिलेदेखि नै गम्भीर स्वास्थ्य समस्या रहेको पाइएको छ । कोरोनाबाट मृत्यु भएकामध्ये ५ जनामा निमोनिया, ३ जनामा मिर्गाैलासम्बन्धी समस्या र एक जनामा कलेजोसम्बन्धी समस्या देखिएको थियो । ‘दुई जना मृतकमा सडन कार्डिक एरेस्टको सन्देह गरिएको छ,’ डा.अधिकारी भन्छन्, ‘उनीहरूको विस्तृत जानकारी आएको छैन तर क्वारेन्टाइनबाट घर गएपछि एक्कासि मृत्यु भएको देखिन्छ ।’

मृत्यु भएका १४ जनाको हालसम्म जानकारीमा आएको चिकित्सा इतिहास केलाउँदै मुटुरोग विशेषज्ञ एवं फिजिसियन डा.ओममूर्ति अनिल भन्छन्, ‘हालसम्म करिब १० जनामा निमोनिया, श्वासप्रश्वाससम्बन्धी विफलता अर्थात् एक्युट रिस्पेरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस), रोग प्रतिरोधक क्षमता कमजोर देखिएको छ ।’

नेपालमा पनि कोरोनाले अचानक मृत्यु हुने समस्या देखिएको छ । पहिलेदेखि नै स्वस्थ रहेका युवाको समेत अचानक मृत्यु भएको उल्लेख गर्दै डा. ओममूर्ति भन्छन्, ‘हामीले केही महिनाअघि वुहान (चीन) मा बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको घटना टीभीमा देखेका थियौं, हाल कोभिडले गर्दा संसारभरि यस्ता समस्या छ ।’ अचानक मृत्यु हुने घटना मुख्य रूपमा मुटु र मस्तिष्कसँग सम्बन्धित जटिल समस्याले हुने डा. ओममूर्तिको भनाइ छ । ‘गम्भीर स्ट्रोक, मस्तिष्कको संक्रमण, मुटुको चाल बिगार्ने ह्दयाघात र मुटुको संक्रमणले केही मिनेटदेखि घण्टाभित्रै मृत्यु हुन सक्छ,’ उनले भने ।

कोरोनाका कारणले रगत बाक्लो भएर मुटुमा जम्दा हृदयाघात, मस्तिष्कमा पुगेर स्ट्रोक र फोक्सोमा गएर त्यहाँको रगतको नलीमा अवरोध गरी पल्मोनरी इम्बोलिज्म हुने सम्भावना रहन्छ । यी अवस्थामा व्यक्तिको केही समयमै मृत्यु हुन सक्ने डा.ओममूर्तिको भनाइ छ ।

विश्व प्रसिद्ध ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित रिपोर्टमा बाहिरबाट स्वस्थ देखिने कोरोना संक्रमित युवामा अचानक गम्भीर स्ट्रोक (रगत जमेर) भएको उल्लेख छ । ‘केही कोभिडका बिरामीको शरीरमा रगत जम्ने (क्लट) समस्या देखिएको र यसैको सिधा परिणाम स्ट्रोकका रूपमा देखिएको छ,’ उनले भने ।

नेपालमा कोरोना संक्रमणले मृत्यु भएको सातौं केस ‘स्ट्रोक’ संँग सम्बन्धित थियो । दोलखाका ७३ वर्षीय व्यक्तिलाई स्ट्रोक भएपछि शल्यक्रिया गरेलगत्तै मृत्यु भएको थियो । कोरोनाबाट भएको पहिलो मृत्यु श्वासप्रश्वाससम्बन्धी विफलता अर्थात् एक्यिुट रिस्पेरेटरी डिस्ट्रेस सिन्ड्रोमले भएको हुन सक्ने औंल्याउँदै डा. ओममूर्ति भन्छन्, ‘एआरडीएसले फोक्सोमा असर परेपछि त्यहाँ पानी भरिन्छ, अक्सिजनको मात्रा घट्दै जान्छ, बिरामीको उचित उपचार अर्थात् अक्सिजन र भेन्टिलेर नपाएर केही घण्टामै मृत्यु हुन्छ ।’

यस्तै कोरोनाले भएको दोस्रो मृत्युको कारण खोतल्दा बाँकेका २५ वर्षे युवाको मृत्यु धेरै हिँडेर, बान्ता गरेरभन्दा पनि मस्तिष्कमा कोभिडको प्रभावले हुन सक्ने सम्भावना विज्ञहरूले व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार वृद्घ, उच्च रक्तचाप, मुटु र फोक्सोसम्बन्धी समस्या, मधुमेह, क्यान्सरलगायत विभिन्न चिकित्सा समस्या भएकाहरू कोरोना संक्रमणले गम्भीर रूपले बिरामी हुन सक्ने उच्च जोखिम हुन्छ ।

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully