एक महिनामा १६ ठाउँका क्वारेन्टाइनमा कुटपिट र ढुंगामुढा प्रहार, ११ जनाको क्वारेन्टाइनमै र क्वारेन्टाइनबाट अस्पताल लगिएपछि ६ जनाको मृत्यु
काठमाडौँ — भैरवी गाउँपालिका–४, दैलेखस्थित क्वारेन्टाइनमा बसेका मानिसले आफूहरूको आरडीटी परीक्षण नगरेको तथा खाने, बस्ने राम्रो व्यवस्था नभएको आरोप लगाउँदै बुधबार गाउँपालिकाका कार्यकारी अधिकृत हिरासिंह थापामाथि आक्रमण प्रयास गरे ।
माथिका यी चार घटना क्वारेन्टाइनमा बसेका मानिसको हेरचाह, खानपिन र स्वास्थ्य जाँचमा ध्यान नदिएपछि उत्पन्न आक्रोशका नतिजा हुन् । कुटपिटका घटना मात्रै होइनन्, विभिन्न जिल्लाका क्वारेन्टाइनमै ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । हालसम्म कोरोनाबाट मृत्यु भएका १३ मध्ये ११ जनाको क्वारेन्टाइनमै ज्यान गएको हो । । क्वारेन्टाइनमै मृत्यु भएका ९ जनाको पीसीआर परीक्षण पोजिटिभ आएको छ भने दुई जनाको नेगेटिभ । यसबीच क्वारेन्टाइनमा बिरामी भएर अस्पताल पुर्याएपछि मृत्यु हुनेको संख्या पनि ६ पुगिसकेको छ । देशभरका क्वारेन्टाइनमा १ लाख ६७ हजारभन्दा बढी मानिस छन् । तर अधिकांशको स्वास्थ्य परीक्षण भएको छैन ।
राष्ट्रिय मानवअधिकार आयोगले क्वारेन्टाइनमा मृत्यु हुनु चिन्ताजनक भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराएको छ । क्वारेन्टाइनमा आधारभूत मानवअधिकारको संरक्षण पनि नगरिएको जनाएको छ । आयोगले क्वारेन्टाइनका भौतिक संरचना सुधार गर्न र पीसीआर परीक्षणलाई बढाउन निर्देशन दिए पनि सरकार यसमा पटक्कै संवेदनशील देखिएको छैन ।
यसले गर्दा क्वारेन्टाइनमा बसेका मानिसमा त्रास फैलिने मात्र होइन, त्यहाँबाट बाहिर निकाल्नुपर्ने माग गर्दै भित्रै आन्दोलन भएका छन् । क्वारेन्टाइनमा बस्नेका लागि एम्बुलेन्ससहितको स्वास्थ्य व्यवस्था मिलाइने भनिए पनि सरकारी ध्यान यसतर्फ गएको छैन । क्वारेन्टाइन सुरक्षामा सेना, प्रहरी र सशस्त्रको संयन्त्र तैनाथ गर्ने प्रतिबद्धता पनि कागजमा मात्रै सीमित भयो । बासी र सडेगलेका खानेकुरासमेत क्वारेन्टाइनमा बाँडेको आरोपमा कतिपय स्थानमा नाराजुलुस भएका छन् ।
संघ, प्रदेश र स्थानीय तहले देशभर आवश्यक मात्रामा क्वारेन्टाइन बनाएको र खाने–बस्ने उचित व्यवस्थापन मिलाएको दाबी गरे पनि व्यवस्थापन भद्रगोल भएको भन्दै आक्रमण र कुटपिटका घटना दोहोरिएका छन् । सरकारका यस्ता लापरबाहीका कारण एकातिर अग्रभागमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि दुव्र्यवहारका घटना भइरहेका छन् भने अर्कातिर दैनिकजसो क्वारेन्टाइनमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने पीडा पनि नागरिकमाथि थपिएको छ ।
क्वारेन्टाइन व्यवस्थापनदेखि संक्रमण नियन्त्रणका लागि १० अर्बजति रकम खर्च भइसकेको विवरण सरकारले सार्वजनिक गरेको छ । तर खर्चअनुसार व्यवस्थापन भएको देखिएको छैन । पछिल्लो समय सरकारले संक्रमण देखिएका तर स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिलाई अस्पताल भर्ना नगर्ने, घरमै बसेर आराम गर्नुपर्ने निर्णय गरिसकेको छ । संक्रमणको जोखिम न्यूनीकरण गर्न मास परीक्षणमा सरकार अझै लागेको छैन ।
पछिल्लो एक महिनाको अवधिमा मात्रै दुई दर्जन क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएका छन् । यस्ता घटना बढ्न थालेपछि सरकारले चुस्त सुरक्षा व्यवस्थापन गर्न तथा आक्रमण गर्नेलाई कारबाही दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई विशेष परिपत्र नै गरेको छ । प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले क्वारेन्टाइनमा बस्ने मानिसको अपेक्षा र व्यवस्थापनमा तालमेल नमिल्दा कुटपिट, आक्रमण तथा दुव्र्यवहारका घटना हुन पुगेको बताए । ‘सरकारी तहबाट भएको व्यवस्थापन र क्वारेन्टाइनमा बसेका मानिसको अपेक्षा मेल नखाँदा कतिपय घटना भएका छन्,’ शाहीले कान्तिपुरसँग भने, ‘यसबीच हामी जिम्मेवारी निर्वाहप्रति प्रतिबद्ध छौं, क्वारेन्टाइनमा बसेकाबाट भएका दुव्र्यवहारका घटनामा संलग्नलाई स्थानीय प्रशासनमार्फत कारबाही पनि भइरहेका छन् ।’
डोटीको केआईसिंह गाउँपालिका–३ स्थित सरस्वती मावि । यहाँ बनाइएको क्वारेन्टाइनमा आइतबार बिहान १९ वर्षीय युवकको मृत्यु भएको थियो। तस्बिर सौजन्य : नेत्र ऐर
गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले अग्रभागमा खटिएका राष्ट्रसेवकमाथि हुने गरेका दुव्र्यवहारका घटनाप्रति मन्त्रालय संवेदनशील र गम्भीर भएर नै विशेष सुरक्षा तैनाथीका लागि प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरिएको बताए । ‘कोभिड–१९ विरुद्ध अग्रभागमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीमाथि आक्रमणका घटना हुन थालेका छन्, यसप्रति सुरक्षा निकाय र प्रशासनलाई हुलहुज्जत र आक्रमण गर्नेमाथि कारबाही गर्न र राष्ट्रसेवकको मनोबल गिर्न नदिन स्पष्ट आदेश दिइएको छ,’ अधिकारीले भने ।
गृह मन्त्रालयका अनुसार खासगरी भारतबाट आएर क्वारेन्टाइनमा बसेका मानिस आक्रमण र हुलहुज्जतमा उत्रिएका छन् । क्वारेन्टाइनमा बाहेक सीमा नाका सिल गर्न खटिएका सशस्त्र र नेपाल प्रहरीको टोलीमाथि पनि तीन दर्जनभन्दा बढी स्थानमा भारतीयबाट आक्रमण प्रयास तथा ढुंगामुढा प्रहार भएको थियो भने कतिपय चेकप्वाइन्ट नै भारतीयले भत्काइदिएका थिए । त्यसपछि सीमा सिल गर्न थप जनशक्ति तैनाथ गरिएको थियो ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले क्वारेन्टाइनमा तोकिएको मापदण्डअनुसारको व्यवस्थापन अभाव र स्वास्थ्य परीक्षण समयमै नहुँदा भीड नै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि खनिने गरेको बताउँछन् । ‘क्वारेन्टाइनमा राम्रो व्यवस्थापन भइदिएको भए यो अवस्था नआउन सक्थ्यो, अर्कातिर पीसीआर परीक्षणमा नेगेटिभ र क्वारेन्टाइनबाट घर जाने बेलामा भएको आरडीटीमा पोजिटिभ रिपोर्ट आउँदा पनि आक्रोशित व्यक्तिबाट आक्रमण र ढुंगामुढा प्रहार हुने गरेको देखियो,’ सिंहले भने ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले क्वारेन्टाइनमा बस्नेको चाप बढेको तर परीक्षण नहुँदा त्रास फैलिएको बताए । ‘क्वारेन्टाइनमै अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ, यसले एक किसिमको त्रास स्वाभाविक रूपमा बढेको छ,’ उनले भने, ‘परीक्षण नभएकै कारण संक्रमित र सामान्य अवस्थाका मानिस छुट्याउन नसक्दा क्वारेन्टाइनबाट घर जानेबाट पनि त्रास सिर्जना हुन सक्छ ।’
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्तले क्वारेन्टाइनमा बसेका मानिसमा परीक्षण गरेर संक्रमित र सामान्य अवस्था नछुट्याएसम्म यसको असर समाजसम्मै पर्न सक्ने बताए । ‘तीन जना संक्रमितको क्वारेन्टाइनमै मृत्यु भयो, अन्यमा पनि संक्रमण छ/छैन भनेर परीक्षण नगरेसम्म त्रास र भयको वातावरण त रहिरहने देखियो,’ उनले भने ।
