घर पठाइएका ८७ लाई संक्रमण

पुन: क्वारेन्टाइन फर्काउन हम्मे परिरहेको छ । अझै ४६ जना घरमै छन् । क्वारन्टाइन पुर्‍याइएको पनि बस्न मानिरहेका छैनन् ।

जेष्ठ २६, २०७७

ज्योति कटुवाल, कलेन्द्र सेजुवाल

दैलेख — दैलेखको नारायण नगरपालिका–४ सोतका राजु (नाम परिवर्तन) जेठ ७ मा भारतको गुजरातबाट सदरमुकाम आइपुगे । नारायण क्याम्पसको क्वारेन्टाइनमा १४ दिन बसेपछि उनलाई मंगलबार आरडीटी परीक्षण गरेर घर पठाइयो । त्यतिबेलासम्म उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको थिएन ।

‘वडाध्यक्षले हिजो (शनिबार) फोन गरेर ‘तपाईंहरूको रिपोर्ट बिग्रियो’ भनेर बोलाएपछि यता आएको हुँ,’ हाल महेन्द्र माविको क्वारेन्टाइनमा बसिरहेका उनले भने, ‘यस्तो रिपोर्ट आउनु थियो भने पहिले किन घर पठाएका हुन्, रनभुल्लमा परेको छु ।’

कोरोना संक्रमण भएर पनि ५ दिनसम्म घरमा बसी पुन: क्वारेन्टाइनमा फर्किएका राजु एक्लो होइनन् । स्वाब परीक्षणको रिपोर्ट ढिलो आउँदा उनीजस्तै ८७ जना व्यक्ति अहिले रनभुल्लमा छन् । सोतका ३१ जना र बेलासपुरका १० जनालाई गाउँबाट फिर्ता बोलाइए पनि अन्य अझै फर्किसकेका छैनन् । गाउँबाट फर्केकाहरू भन्छन्, ‘कोरोना छैन भनेपछि ढुक्कले घर गइयो, आफन्त र परिवारसँग भेटघाट गरियो, अहिले फेरि पक्राउ गरेजस्तै गरेर ल्याइएको छ ।’

स्थानीय तहका जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा आइतबार दिउँसो नारायण क्याम्पस पुर्‍याइएका बेलासपुरका १० जना आइसोलेसनमा नबस्ने अड्डी कसिरहेका थिए । तीमध्येका ६५ वर्षीय एक वृद्ध क्वारेन्टाइनमा पुगेका सशस्त्र प्रहरी बलका डीएसपी जीवन भट्टराईलाई प्रश्न गर्दै थिए, ‘भारतबाट हिँडेको एक महिना पुग्न लाग्यो, त्यता (भारत) र यता (नेपाल) गरेर चारपटक खुन र खकार जँचाइसकें, अहिले आएर घर गइसकेको मान्छेलाई किन बोलाइयो ?’ आफूमा कुनै लक्षण नदेखिएकाले क्याम्पसको क्वारेन्टाइनमा भन्दा घरमै बस्ने व्यवस्था मिलाउन उनले आग्रह गरिरहेका थिए ।

पछिल्लो समय दैलेख कोरोनाको ‘हटस्पट’ बनेको छ । आइतबारसम्म कर्णालीमा ६ सय ४१ जनामा कोरोना संक्रमण देखिएकामा दैलेखका मात्र ३ सय ५८ जना छन् । एक जनाको क्वारेन्टाइनमै मृत्यु भइसकेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल संक्रमण बढ्नुको प्रमुख कारण संक्रमितहरूको समयमै पहिचान नहुनु र उनीहरू संक्रमण बोकेर क्वारेन्टाइनमै बसिरहनु रहेको बताउँछन् । गाउँमा गएका व्यक्तिहरूका कारण संक्रमण थप फैलिने उनको चिन्ता छ । ‘एकातिर संकलन गरेर पठाइएको स्वाबको रिपोर्ट ८–१० दिनपछि मात्र आउँछ, अर्कोतिर सरकारले २ हप्तासम्म क्वारेन्टाइनमा बसेका मान्छेलाई आरडीटी गरेर पठाउन निर्देशन दिएको छ, यसले गर्दा पनि जटिलता आइलागेको हो,’ उनले भने, ‘भारतबाट आउने मान्छेको भार थेग्न नसक्दा हामीले आरडीटीको भरमा घर पठाएका हौं ।’

पीसीआर रिपोर्ट पोजिटिभ आएपछि फर्केका दैलेखको नारायण नगरपालिका–६ बेलासपुरका व्यक्ति नारायण क्याम्पसमा । तस्बिर : कलेन्द्र/कान्तिपुर

जेठ महिनामा मात्र दैलेखमा १० हजार ७ सय ३९ व्यक्ति भारतबाट आएका छन् । तीमध्ये २ हजार २ सय ५९ जनाको स्वाब परीक्षण भएको छ । कति जनाको रिपोर्ट आयो भन्ने अन्योल रहेको प्रजिअ कट्टेल बताउँछन् । परीक्षण रिपोर्ट आउन कम्तीमा एक साता लाग्ने गरेको उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई १४ दिनपछि आरडीटी गरी घर पठाउने नयाँ परिपत्र गरेपछि पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको उनको भनाइ छ ।

संक्रमितलाई समयमै अन्य व्यक्तिबाट अलग्याउन नसक्दा पनि संक्रमण फैलिएको छ । नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेका ५ जनालाई जेठ ८ मा नै संक्रमण पुष्टि भएको थियो । तर उनीहरूलाई तत्काल आइसोलेसनमा राख्नुको साटो क्वारेन्टाइनमै राखियो । यसले गर्दा उक्त क्वारेन्टाइनमा बसेका १ सय ९४ जनामा कोरोना पुष्टि भइसकेको छ । ‘संक्रमित व्यक्तिलाई समयमै अरूबाट अलग्याइदिएको भए अहिलेको भयावह अवस्था निम्तिने जोखिम कम हुन सक्थ्यो,’ भारतबाट आएका व्यक्तिको व्यवस्थापनमा सहयोग गरेको लायन्स क्लबकी क्षेत्रीय प्रमुख बासना थापा भन्छिन्, ‘सुरुको चरणमा देखिएको भद्रगोलले संक्रमण फैलिने मौका पाएको हो ।’ त्यसमाथि उनीहरू गाउँमै पुगेपछि अवस्था जटिल हुन सक्ने उनको आकलन छ ।

रिपोर्टमा ढिलाइ किन ?

कर्णाली प्रदेशमा सुर्खेत र जुम्लामा गरी दुई ठाउँमा पीसीआर परीक्षण हुँदै आएको छ । जुम्लाको मेसिनले पूर्ण क्षमतामा काम गरे पनि सुर्खेतको मेसिनबाट भने मुस्किलले क्षमताभन्दा आधा मात्रै परीक्षण भइरहेको छ ।

भारतबाट आउने र संक्रमितको संख्या बढ्दा स्थानीय तहले समेत आफैं भीटीएम (संकलन गरिएको स्वाब राख्ने सामग्री) खरिद गरी स्वाब संकलन तीव्र बनाएका छन् । दैलेखका स्थानीय तहले मात्र ५ हजार भीटीएम खरिद गरी स्वाब संकलन गरिरहेका छन् । दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारी भीटीएम अभावमा पीसीआर परीक्षण रोकिने अवस्था भएकाले आफैं खरिद गरे पनि परीक्षणमा ढिलाइ हुँदा समस्या आएको बताउँछन् । ‘हामीले स्वाब संकलन गरेर पठाउँछौं, तर परीक्षणको काममा ढिलाइ हुँदा समयमै संक्रमित पहिचान गर्न सकिँदैन,’ उनले भने, ‘मान्छे मरेको अवस्थामा बाहेक तुरुन्त रिपोर्ट पाउन गाह्रो छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्ले मेसिनले पूरै क्षमतामा दैनिक तीन चरणमा परीक्षण गरेको दाबी गर्छन् । नमुना संकलन तीव्र पारिएको र नमुनाको चाङ लाग्दा रिपोर्ट आउन ढिलाइ भएको उनको ठहर छ ।

मृत्युपछि मात्रै स्वाब संकलन

कर्णालीमा हालसम्म कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । तीमध्ये दुई जनाको मृत्युपछि मात्रै स्वाब संकलन गरी परीक्षण गरिएको छ । सुर्खेत पञ्चपुरीका २० वर्षीय युवाको बुधबार राति मृत्यु भएको थियो । क्वारेन्टाइनमा बसेको १५ दिनपछि आरडीटी परीक्षण गरेर घर पठाइएका उनको सोही राति मृत्यु भएको थियो । त्यसपछि गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले बताए ।

डोल्पा, जगदुल्ला गाउँपालिकाका ५६ वर्षीय एक व्यक्तिको होम क्वारेन्टाइनमा बसेको अवस्थामा जेठ २० मा मृत्यु भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यसको दुई दिनपछि स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

यस्तै, दैलेखको दुल्लुस्थित क्वारेन्टाइनमा जेठ १७ मा मृत्यु भएका ३५ वर्षीय पुरुषको भने समयमै स्वाब संकलन भए पनि मृत्युपछि मात्र रिपोर्ट आएको थियो । तीन दिनअघि नै स्वाब पठाइएको भए पनि मृत्यु भएपछि तुरुन्त परीक्षण गर्न लगाई रिपोर्ट माग गरिएको दुल्लुका नगर प्रमुख भण्डारीले बताए । ‘समयमै रिपोर्ट आएको भए ती व्यक्तिलाई आइसोलेसनमा राख्न सकिन्थ्यो, मृत्यु नहुन पनि सक्थ्यो,’ उनले भने, ‘तर मृत्युपछि आएको रिपोर्टको के अर्थ रह्यो र ?’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

कलेन्द्र

Link copied successfully