७२ संक्रमित एउटै स्कुलमा- समाचार - कान्तिपुर समाचार

७२ संक्रमित एउटै स्कुलमा

जहाँ एम्बुलेन्स, चिकित्सक, स्वास्थ्य सहयोगी, अक्सिजन र भेन्टिलेटर केही छैन
क्वारेन्टाइनमा बसेकाहरू व्यवस्थापनप्रति आक्रोशित छन् । हामी भेट्न गयौं भने ढुंगामुढा हुन सक्छ । –ज्योतिप्रकाश दुवे, यशोधरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख
जनकराज सापकोटा

कपिलवस्तु — यशोधरा गाउँपालिका–५ का दुर्गेशकुमार धोबी स्टिलको भाँडामा तातो पानी बोकेर हतारिँदै घर छेउको अनिरुद्र पब्लिक मावि बैदौलीमा आइपुगे । स्कुलको मूल गेटबाट मुखमा कपडाको हरियो मास्क लगाएका उनका भिनाजु बाहिर निस्किए ।

गेट छेउमा भिनाजुले भाँडो थापे । त्यसमै उनले तातो पानी खन्याइदिए । एकैछिन गफ गरे अनि आफ्नो बाटो लागे । धोबीलाई हामीले स्कुल छेवैको चोकमा रोक्यौं । भारतको मुम्बईबाट एक महिनाअघि फर्किएका उनका भिनाजु कोरोना संक्रमित भएपछि यही स्कुलको आइसोलेसनमा राखिएका रहेछन् । जहाँ उनीसहित ७२ जना संक्रमितलाई राखिएको छ । संक्रमितलाई तागतदार खानेकुरा र तातो पानी चाहिन्छ भनेरै भिनाजुलाई दिनमा तीनपटक तातो पानी र दुईपटक उसिनेको अन्डा पुर्‍याउन आउने गरेको धोबीले बताए ।

यशोधरामा जिल्लामै सबैभन्दा धेरै १ सय ५१ संक्रमित छन् । भारतबाट फर्किएकाहरूलाई जसरी विद्यालयमा क्वारेन्टाइनमा राखिन्छ, त्यसैगरी उनीहरूलाई फरक–फरक तीन विद्यालयमा आइसोलेसनमा राखिएको छ । संक्रमितलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने र आइसोलेसन सेन्टरमा भेन्टिलेटर, स्वास्थ्यकर्मी, एम्बुलेन्स र अक्सिजनजस्ता अत्यावश्यकीय सुविधा हुनुपर्ने मापदण्डमा उल्लेख छ । तर कपिलवस्तुका अधिकांश स्थानीय विद्यालयमा बनाइएका यस्ता सेन्टरमा यस्तो प्रबन्ध देखिँदैन । खाना र खाजाको प्रबन्ध स्थानीय तहले मिलाएका छन् । संक्रमितका आफन्तले तातो पानी, अन्डा, फलफूलजस्ता खानेकुरा आइसोलेसन सेन्टरमै पुर्‍याउने अभ्यासले समुदायस्तरमा संक्रमण फैलिने जोखिम बढाएको छ ।

यशोधरा–७ का अब्दुल आलम आइसोलेसनमा राखिएका भाइलाई खानेकुरा पुर्‍याउन आएका थिए । विद्यालय छेवैको रूखमुनि बसेर उनी गम्छाले पसिना पुछिरहेका थिए । दिनमा दुईपटक तातो पानी लिएर भाइलाई भेट्न आउने गरेको सुनाउँदै उनले गर्मीमा स्कुलको आइसोलेसनमा बस्दा भाइलाई गाह्रो भएको जानकारी दिए । मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका उनका भाइलाई संक्रमित भएपछि आइसोलेसनमा राखिएको हो ।

संक्रमित राख्न यशोधराका विद्यालयमा बनाइएका केही आइसोलेसन सेन्टर पुग्दा तिनको अवस्था क्वारेन्टाइनको भन्दा फरक देखिएन । अनिरुद्र पब्लिक माविको आइसोलेसनमा झ्यालबाट बाहिर चियाइरहेका एक संक्रमितसँग हामीले पर्खाल बाहिरबाटै कुरा गर्‍यौं । ती संक्रमितले बताएअनुसार ७२ जनाका लागि चारवटा मात्रै शौचालय छ, तातो पानीको व्यवस्था छैन । ‘गर्मीले उधुम सताउँछ । लामखुट्टेको टोकाइ उस्तै छ । स्कुलमा बस्नुभन्दा बरु घरमै पठाइदिए हुन्थ्यो,’ उनले भने ।

आइसोलेसन सेन्टरको व्यवस्थापनमा खटिएकाहरू पनि सुरक्षित देखिएनन् । अनिरुद्र पब्लिक माविस्थित आइसोलेसन सेन्टरको सुरक्षामा खटिएका तीन प्रहरी जवान र एक हवल्दारमध्ये तीन जना आइसोलेसन बाहिर घुमिरहेका थिए । तीमध्ये दुईले मास्कसमेत लगाएका थिएनन् । कसैको हातमा सामान्य पन्जासमेत थिएन । सञ्चारकर्मी देखेपछि एक प्रहरी जवान नजिकैको कोठामा छिरी मास्क लगाएर निस्किए । अफिसले दिएको मास्क एउटा मात्रै रहेको र अहिले त्यही लगाइरहेको उनले बताए । ‘अरू त केही पनि दिएको छैन,’ उनले भने, ‘यही सर्जिकल मास्क हो ।’

संक्रमित राखिएको विद्यालय मूल सडकसँगै जोडिएको छ । संक्रमितहरू चर्को गर्मीका कारण विद्यालयको पर्खाल छेउमा लस्करै उभिएर शीतल ताप्दै सडकको गतिविधि हेर्ने गर्छन् । मूल सडक र पर्खालबीच मुस्किलले दुई मिटर पनि छैन । मास्कसमेत नलगाएका स्थानीय बासिन्दा साइकलमा वा पैदल यही पर्खाल छेउ हुँदै गन्तव्यतर्फ लागिरहेका हुन्छन् । संक्रमितहरूलाई व्यवस्थित रूपमा नराखिँदा र स्थानीयमा मास्क नलगाई आइसोलेसन सेन्टरको वरपर जानु हुँदैन भन्ने ज्ञान नहुँदा संक्रमणको जोखिम समुदायस्तरमै फैलिने खतरा बढेको छ ।

आइतबार मध्याह्न आइसोलेसनअघि पुग्दा समसुद्धिन मुसलवान २ छोरा लिएर आइसोलेसेनकै छेउ हुँदै खेततिर जाँदै थिए । उनीहरू तीनै जनाले मास्क लगाएका थिएनन् । तातो पिचमा काठको पांग्रा गुडाइरहेका उनका साना छोराको खुट्टामा चप्पलसमेत थिएन । समसुद्धिनको संयुक्त परिवारमा उनका ३ छोराछोरीसहित १९ जना छन् । उनले केही दिनअघि सबैलाई पुग्ने गरी होलसेलमै कपडाको मास्क किनेको भए पनि खेतमा जाने बेला जरुरी नदेखेर नलगाएको बताए । विद्यालयमा कोरोना संक्रमित राखिएको सन्दर्भमा उनले भने, ‘विद्यालय नजिक जाँदैमा के फरक पर्छ र †’

आइसोलेसनमा राखिएका संक्रमितहरूलाई परीक्षण गर्न स्वास्थ्यकर्मी आएको देखिँदैन । परामर्श र स्वास्थ्य जोखिमबारे जानकारी लिने व्यवस्था नहुँदा संक्रमितहरू आत्तिएका छन् । आइसोलेसनको सुरक्षामा खटिएका प्रहरी जवान दीपेन्द्र उपाध्यायले केही संक्रमितले आफूलाई केही नभएको भन्दै घर पठाइदिन भन्दै करकर गरिरहेको सुनाए ।

यशोधरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुवेले आइसोलेसनको मापदण्डअनुसारका केही कुरा पनि प्रबन्ध गर्न नसकिएको स्विकारे । ‘क्वारेन्टाइनकै संरचनालाई आइसोलेसन नाम दिइएको हो,’ उनले भने, ‘क्वारेन्टाइन र आइसोलेसन सेन्टरमा कुनै फरक छैन ।’ अहिलेसम्म चिकित्सक ल्याएर संक्रमितको जाँच गराउन नसकिएको उनले बताए । ‘उनीहरूलाई आड भरोसा दिने कुनै काम गर्न सकिएको छैन,’ उनले भने ।

दुवेले संक्रमितहरूले मानसिक तनाव झेलिरहेको बताए । कहिले निको भएर घर जान पाइने, आफ्नो स्वास्थ्य अवस्था कस्तो छ, आफूहरूलाई किन कहिले क्वारेन्टाइनमा त कहिले आइसोलेसनमा राखिएको जस्ता प्रश्नको उत्तर संक्रमितहरूले पाउन नसकेको उनले बताए । ‘सीमित स्रोत साधन भएको गाउँपालिकाले क्वारेन्टाइन र आइसोलेसन दुवैको व्यवस्थापन हेर्नुपरेको छ,’ उनले भने, ‘हामीले कसरी धानिरहेका छौं होला †’

यशोधराजस्तै धेरै संक्रमित रहेको कपिलवस्तुको अर्को महाराजगन्ज नगरपालिका हो । यहाँ आइतबार साँझसम्म १ सय ११ संक्रमित पुगेका छन् । सीमावर्ती यो नगरपालिकाले पनि यशोधराकै जस्तो नियति भोगिरहेको छ । नगरपालिकाले एउटा विद्यालयमा बनाएको आइसोलेसन सेन्टरमा ६८ जनालाई राखिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवालले आइसोलेसन सेन्टरमा कुनै पनि मापदण्ड पूरा गर्न नसकेको बताए । ‘हामीसँग स्रोत र साधन केही छैन,’ उनले भने, ‘न संघीय सरकारले न त प्रदेश सरकारले नै हाम्रो कुरा सुन्छन् ।’ सिंगो नगरपालिकामा रहेको एउटा स्वास्थ्यचौकीमा एक जना चिकित्सकको दरबन्दी रहे पनि ६ महिनादेखि रिक्त रहेको उनले बताए ।

जयसवालले चिकित्सकको प्रबन्ध गर्न नसक्दा संक्रमितहरू धेरै आत्तिएको र उनीहरूलाई काउन्सिलिङसम्म पनि गर्न नसकिएको सुनाए । दोस्रो र तेस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाहरूलाई पनि घर पठाउनुअघि गर्नुपर्ने चिकित्सकीय जाँचमा पनि ढिलाइ भइरहेको उनले बताए । उनका अनुसार शनिबारदेखि नै संक्रमणमुक्त भएका ९ जनालाई स्वास्थ्य जाँच र परामर्श दिएर घर पठाउनुपर्नेमा डाक्टरको अभावले रोकिएको छ । ‘अनेकतिर अनुरोध गरेर छिमेकी मायादेवी गाउँपालिकाबाट डाक्टर बोलाएको छु,’ उनले भने, ‘अब परीक्षण र परामर्श दिएर तिनलाई घर पठाउने हो ।’ स्वास्थ्य शाखा प्रमुख जयसवालले नगरपालिकामा संक्रमितहरूको संख्या बढिरहे पनि अहिलेसम्म ‘भगवान्ले बचाएको’ बताए । ‘धन्न, केही नराम्रो भएको छैन,’ उनले भने ।

लापर्बाहीको हद

पहिलो संक्रमण देखिएको ३१ दिनमा ५ सय ४७ संक्रमित पुगेको कपिलवस्तुमा आधा संक्रमित यशोधरा र महाराजगन्जका छन् । तर दुवै स्थानीय तहले व्यवस्थापन गरिरहेका क्वारेन्टाइन र आइसोलेसन सेन्टरले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सरकारी तयारीले अव्यवस्थाको हद दर्शाउँछ । संक्रमितहरूको संख्या बढ्दै जाँदा जिल्लाका मुख्य हटस्पट क्षेत्रमा उनीहरूको सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङ गरिएको छैन ।

क्वारेन्टाइनमा राखिएकाहरूको समयमै स्वाब संकलन गरिँदैन । गरिएकाहरूको पनि समयमै परीक्षणको नतिजा आउने गरेको छैन । यसले अव्यवस्थित क्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरूको स्वास्थ्य थप जोखिममा पर्ने देखिन्छ । संक्रमणको सुरुवाती दिनमा देखिएको अव्यवस्था र ढिलासुस्ती पछिल्ला दिनमा कसरी बढ्दै गएको छ भनेर बुझ्न यशोधरा गाउँपालिका बलियो ‘केस स्टडी’ हुन सक्छ ।

जस्तो कि वैशाख २७ गते यशोधरा गाउँपालिकामा पहिलोपटक ६२ जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यसको नतिजा चार दिनपछि आयो । त्यसबाट १२ जनामा संक्रमण पुष्टि भयो । ती संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गर्न गाउँपालिकाले तुरुन्तै कन्ट्याक्ट ट्रेसिङका लागि टिम बनायो । जसले नजिकको सम्पर्कमा आएका ५२ जना पहिचान गरेर तिनको विस्तृत विवरणसहितको फाराम भर्‍यो अनि तीमध्ये ३२ जनालाई स्कुलको क्वारेन्टाइनमा र अरूलाई घरमै निगरानीमा राख्ने व्यवस्था मिलाइयो । तर कन्ट्याक्ट ट्रेसिङमा आएका ५२ मध्ये २७ को मात्रै पीसीआर परीक्षण गरियो । अन्य २५ जनालाई बिनापरीक्षण घर पठाइयो । उनीहरूको अहिलेसम्म परीक्षण गरिएको छैन । तिनको अवस्थाबारे सरकारी संयन्त्रलाई कुनै जानकारी पनि छैन । परीक्षण नहुने भएपछि त्यसपछिका दिनमा गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङ नै बन्द गर्‍यो । गाउँपालिकाका एक कर्मचारीले स्रोतसाधनको अभाव भएको र कन्ट्याक्ट ट्रेसिङ गरे पनि तिनको परीक्षण गर्ने व्यवस्था जिल्ला जनस्वास्थ्य कार्यालयले नमिलाइदिएको हुनाले आफूहरू चुप लागेर बसेको बताए । गाउँपालिकाले जेठ २ गतेयता कन्ट्याक्ट ट्रेसिङ गरेको छैन ।

एकातिर परीक्षणको दायरा बढाइएन । पीसीआर किट र स्वाब संकलन गर्ने भीटीएमकै अभाव भयो । त्यसपछि गाउँपालिकाले जेठ ७ गते काठमाडौंको एक निजी फर्मबाट १ हजार २ सय ८० थान भीटीएम खरिद गर्‍यो । त्यसपछि बल्ल ७ गते १ सय ५ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि भैरहवास्थित प्रदेश प्रयोगशालामा पठायो । गाउँपालिकाले ८ गते १ सय ३९ जनाको स्वाब संकलन गरेर पठायो तर तत्काल परीक्षण गर्ने सामथ्र्य नभएको भन्दै भैरहवास्थित प्रयोगशालाले उक्त स्वाब लिन मानेन । गाउँपालिकाले उक्त स्वाब भोलिपल्ट अर्थात् ९ गते दाङ पठाइएकामा त्यहाँबाट पनि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइयो । कहिले भीटीएमको अभाव हुने र कहिले संकलन गरिएको स्वाब नजिकको प्रयोगशालाले लिन नमान्ने भएपछि गाउँपालिकाले केही दिन आरडीटी परीक्षण गर्ने र केही दिनको अन्तरमा मात्रै पीसीआर परीक्षण गर्ने नीति लियो । त्यहीअनुरूप ९ देखि ११ गतेबीचमा गाउँपालिकाले आरडीटी परीक्षण गर्दै पोजिटिभ आउनेलाई क्वारेन्टाइनमा राख्ने र नेगेटिभ आउनेलाई घर पठाउने गर्‍यो ।

१२ गते गाउँपालिकाले २ सय २४ जनाको स्वाब संकलन गरेर काठमाडौंस्थित प्रयोगशाला पठायो, जसको नतिजा १२ दिनपछि अर्थात् जेठ २४ गतेमात्र आयो । उक्त नतिजामा ३६ जना संक्रमित पुष्टि भए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुवेका अनुसार संक्रमण बढ्दै जाँदा पीसीआरको नतिजा पनि समयमा नआउने अनि क्वारेन्टाइनमा बसेकाहरू आत्तिने र तिनीहरू भागेर जाने खतरा बढेको बताए ।

जेठ १६ गतेयता गाउँपालिकाले ४ सय ३५ जनाको स्वाब संकलन गरेर भैरहवा र काठमाडौंस्थित प्रयोगशालामा पठाएको छ, जसको नतिजा आइसकेको छैन । २१ गते गाउँपालिकाले स्वाब संकलन गरेर भैरहवास्थित प्रयोगशालामा पठायो तर उक्त प्रयोगशालाले नभ्याउने भन्दै स्वाब अर्को दिन काठमाडौंस्थित प्रयोगशालामा पठायो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दुवेका अनुसार १६ गतेयता स्वाब संकलन गरिएकामध्ये २ सय ९३ जनाको रिपोर्ट आउन बाँकी छ । गाउँपालिकाका अनुसार १०–१२ दिनसम्म रिपोर्ट नआउनु सामान्यजस्तै हुन थालेको छ । ‘रिपोर्ट आउने समयको टुंगो नहुँदा क्वारेन्टाइनमा बसेकाहरू आक्रोशित हुन थालेका छन्,’ दुवेले भने, ‘क्वारेन्टाइनमा बसेकाहरू व्यवस्थापनप्रति आक्रोशित भएकैले हामी त्यहाँभित्र जानै सकेका छैनौं । यस्तो पारा हो भने हामी यहाँ बस्दैनौं भन्छन् । हामी भेट्न गयौं भने ढुंगामुढा नै हुन सक्छ ।’

आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएकै भरमा छोडिदिँदा, संक्रमित पुष्टि भएकालाई पनि समयमै क्वारेन्टाइनबाट छुट्याएर आइसोलेसनमा नराखिँदा र कन्ट्याक्ट ट्रेसिङलाई बेवास्ता गरिँदा संक्रमणको जोखिम झनै बढेको छ । यशोधरा गाउँपालिकामा पुष्टि भएका १ सय ५१ संक्रमितमध्ये धेरैजसो क्वारेन्टाइनभित्रै संक्रमित भएका हुन् । कतिपय भने आरडीटी नेगेटिभ भएकै भरमा गाउँ गएका र पछि शंका लागेर पीसीआर विधिबाट परीक्षण गरिँदा संक्रमण पुष्टि भएका हुन् ।

यशोधराको छिमेकी महाराजगन्ज नगरपालिकामा अर्को कोरोना हटस्पटजस्तै देखिन्छ । नगरपालिकाको एउटा विद्यालयको आइसोलेसनमा अहिले ६८ जना र अन्य विद्यालयको क्वारेन्टाइनमा ४ सय १९ जना छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवालले स्वाब परीक्षणको नतिजा १० दिन हुँदासम्म नआउँदा झनै समस्या थपिएको बताए । महाराजगन्ज नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा पनि कुनै डाक्टर र स्वास्थ्यकर्मीको टिम छैनन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसवालले भने, ‘भेन्टिलेटर, डाक्टर, स्वास्थ्य सहयोगी, अक्सिजन र एम्बुलेन्सबिनाको आइसोलेसन चलाएका छौं ।’ उनले क्वारेन्टाइन र आइसोलेसनमा खासै फरक नहुँदा संक्रमण पुष्टि भएकाहरू पनि क्वारेन्टाइन छाडेर आइसोलेसनमा जानै नमान्ने समस्या देखिएको बताए । ‘जता बसे पनि उस्तै त हो नि भनेर जानै मान्दैनन्,’ उनले भने, ‘शनिबार संक्रमण पुष्टि भएका १३ र आइतबार संक्रमण पुष्टि भएका ५ जनालाई आइसोलेसनमा ल्याउनै समस्या परिरहेको छ ।’

संक्रमितहरूको संख्या बढ्दै जाँदा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन नै नगरपालिकालाई भारी परिरहेको देखिन्छ । जसले कन्ट्याक्ट ट्रेसिङ नगरपालिकाको प्राथमिकतामा पर्नै छाडेको देखिन्छ । जसले संक्रमणको पुष्टि भएकाको नजिक सम्पर्कमा आएकाहरूको परीक्षण नहुने र तिनीहरूबाट गाउँ–गाउँसम्म संक्रमण फैलिने जोखिम रहन्छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसवालले भने, ‘केहीको कन्ट्याक्ट ट्रेसिङ गरे पनि सबैको सम्भव देखिएको छैन ।’

स्वास्थ्य शाखा प्रमुख जयसवालले आफूहरूले बारम्बार आइसोलेसनका लागि डाक्टर र स्वास्थ्यकर्मीसहितको टिम प्रदेश सरकारसँग मागे पनि नपाएको बताए । यशोधरामा रहेका तीनवटै आइसोलेसनमा अहिले स्वास्थ्यकर्मीको टिम छैन । एकाध प्रहरी जवानको भरमा तिनको सुरक्षा प्रबन्ध र केही कर्मचारीले खानपानको व्यवस्था गर्नेबाहेक आइसोलेसनमा राज्यको भूमिका देखिँदैन । क्वारेन्टाइन मात्रै व्यवस्थापन गर्न हम्मेहम्मे परेका बेला जिल्ला जनस्वास्थ्य कार्यालयले आइसोलेसन व्यवस्थापनको जिम्मा पनि गाउँपालिकाकै टाउकामाथि थोपरिदिएको गुनासो स्थानीय जनप्रतिनिधिको छ । स्वास्थ्य शाखा प्रमुख दुवेले भने, ‘यहाँ त भगवान् भरोसे भनेजस्तो भएको छ ।’

जिल्लास्तरीय कोरोना भाइरस क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले जेठ ९ गते ३० जना स्वास्थ्यकर्मी माग गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । ‘माग सुनुवाइ भएको छैन,’ उनले भने, ‘हामीले छिट्टै आउँछन् भन्ने आशा राखेका छौं ।’ पौडेलको अध्यक्षतामा बैठक बसेर १० चिकित्सक र २० स्टाफ नर्स माग गरिएको थियो । १० स्थानीय तहमा रहेको आइसोलेसन सेन्टरमा एक/एक जना डाक्टर र दुई/दुई जना स्टाफ नर्स पठाउने योजना थियो जुन अहिलेसम्म पूरा भएको छैन । प्रदेशको अस्थायी राजधानी रूपन्देहीको बुटवलमा छ तर छिमेकी जिल्ला सबैभन्दा संकटमा परेको छ । नजिकै भएर पनि कपिलवस्तुमा कोरोना संक्रमण रोकथाममा भइरहेको अव्यवस्थापन र ढिलासुस्तीको हद प्रदेश सरकारले टुलुटुलु हेरेर बसेझैं भान हुन्छ ।

-मनोज पौडेलको सहयोगमा

प्रकाशित : जेष्ठ २६, २०७७ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्

जनता समाजवादीमा नेकपा मोडल

निर्वाचन आयोगमा दल दर्ता, ठाकुर र यादव दुवै कार्यकारी अध्यक्ष, ५३ सदस्यीय कार्यसमिति
वरीयतामा अशोक राईपछि वरिष्ठ नेता बाबुराम भट्टराई, वरीयतामा पहिलोमा नपर्दा संघीय परिषद्को अध्यक्ष बस्न मानेनन्
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कार्यकारिणी अध्यक्ष कसले लिने भन्नेमा विवाद बढेपछि जनता समाजवादीले पनि नेकपाले जस्तै दुई अध्यक्षीय मोडल अपनाएको छ । राजपाका वरिष्ठ नेता महन्थ ठाकुर र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व लिने गरी आइतबार जनता समाजवादी दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

समाजवादी र राजपाबीच वैशाख १० गते एकीकरण घोषणा भएको थियो । एकीकरण गरी आयोगलाई जानकारी गराएको दिनले ४५ दिनभित्र दल दर्ता गर्नुपर्ने वैधानिक व्यवस्था छ । दुई दल एकीकरण घोषणा भएको भोलिपल्ट वैशाख ११ गते निर्वाचन आयोगलाई जानकारी गराइएको मितिले आइतबार अन्तिम दिन दुवै दलका नेताहरू साढे ६ बजे दल दर्ताका लागि आयोग कार्यालयमा पुगेका थिए ।

समाजवादीलाई विभाजन गराउने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका कारण दुई दल हतारमा एकतामा जोडिएका थिए । पार्टीको नाम, झन्डा र चुनाव चिह्नबाहेक समानतामा आधारमा पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमितका आधारमा पार्टी एकता भएको थियो ।

त्यसयता एकीकृत पार्टीको कार्यकारी अध्यक्ष कसले लिने भन्नेमा लामो विवाद चलेपछि अन्तिम दिन सत्तारूढ नेकपाले अपनाउँदै आएको जस्तो दुई अध्यक्षीय मोडलमै जाने समझदारी समाजवादी राजपाले गरेका हुन् ।

एकीकृत पार्टीमा ठाकुर पहिलो नम्बरका अध्यक्ष रहने भएका छन् । त्यसपछि अर्का अध्यक्ष यादव हुनेछन् । नेता महेन्द्रराय यादवका अनुसार आयोगमा दल दर्ताका लागि नेतृत्वको विषय मात्रै टुंगो लगाइएको हो । दुई अध्यक्षबीचको कार्यविभाजन पछि हुने उनले बताए ।

‘अन्य नेताहरूको व्यवस्थापन, पदाधिकारी र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने काम पछि छलफलपछि टुंगिँदै जान्छ,’ उनले भने, ‘अहिले दल दर्ताका लागि दुई अध्यक्ष, तीन वरिष्ठ नेता सहित ५३ सदस्यीय कार्यसमिति बनाउने सहमति गरेका हौं ।’ केन्द्रीय कार्यसमितिमा राजपाबाट २६ र बाँकी समाजवादीबाट रहने भएका छन् ।

नेता बाबुराम भट्टराईले अन्तिम घडीमा संघीय परिषद्को अध्यक्ष हुन अस्वीकार गरेका छन् । वरीयतामा आफू एक नम्बरमा नहुने भएपछि उनले परिषद्मा बस्न अस्वीकार गरेका थिए । उनलाई संघीय परिषद्को अध्यक्षसहित दुई नम्बर वरीयतामा राख्ने गरी कागजात बनाइएको थियो । दुई दलबीच भट्टराईलाई ठाकुरपछिको दोस्रो वरीयतामा राख्ने समझदारी जुटेको थियो । तर उनले नमानेपछि कागजातमा उनको नाम टिपेक्सले मेटेर वरिष्ठ नेताको सूचीमा राखिएको थियो ।

‘तर, उहाँले एक नम्बरको वरीयता खोज्नुभयो । त्यसमा ठाकुरजीले नछाडेपछि संघीय परिषद्को अध्यक्षमा नबस्ने भन्दै अशोक राईपछि वरिष्ठ नेतामा राख्न आफैंले प्रस्ताव गर्नु भएको हो,’ स्रोतले भन्यो ।

दुई अध्यक्षपछि तीन वरिष्ठ नेतामध्ये तेस्रो वरीयतामा अशोक राई, चौथोमा भट्टराई र पाँचौंमा राजेन्द्र महतो छन् । यीमध्ये भट्टराईलाई संघीय परिषद्कै अध्यक्ष र महतोलाई संसदीय दलको नेता बनाएर जाने तयारी चलिरहेको अर्का एक नेताले जानकारी दिए ।

नेतृत्वको विषयमा लामो विवाद चलेपछि अन्य नेताहरूको व्यवस्थापनको विषय छायामा परेको थियो । दल दर्ताका लागि तत्कालीन राजपका अध्यक्ष मण्डलका सदस्यहरू राजकिशोर यादव र अनिल झाबाहेक सबै नेताहरू आयोग कार्यालयमा पुगेका थिए । असन्तुष्ट यादव र झा एकीकरण प्रक्रियाबाट नै बाहिर रहँदै आएका छन् ।

केन्द्रीय कार्यसमिति ७ सय ५१, केन्द्रीय कार्यकारी समिति ५५ र राजनीतिक समिति १ सय ५१ सदस्यीय बनाउने समझदारी यसअघि नै जुटेको थियो । तर, दल दर्ता गर्ने प्रयोजनका लागि ५३ सदस्यीय कार्यसमिति बनाइएको छ । आयोगले विधिवत् दल दर्ताको प्रक्रिया पूरा भए/नभएको अध्ययन गरी पछि डेढ महिनाभित्र प्रमाणपत्र दिने भएको छ ।

जनता समाजवादीले दल दर्ताको निवेदनसँगै बुझाएको घोषणापत्रमा ११ प्रदेशको संघीय मोडलको राजनीतिक लाइन अघि सारेको छ । उसले तत्कालीन संविधानसभामा राज्य पुनर्संरचना समितिले अघि सारेकै पहिचानमा आधारित ११ प्रदेशको मोडललाई अघि सारेको हो । पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पनि जनता समाजवादीले आफ्नो राजनीतिक मुद्दा बनाएको छ । त्यसलाई पनि घोषणापत्रमा समावेश गरिएको छ । तर, यी दुवै मुद्दा हालै संविधान संशोधनको विधेयक अघि बढाउँदा भने समावेश गरिएको छैन ।

शासकीय मोडलमा सहमति नजुट्दा घोषणापत्रमा उल्लेख गरिएको छैन । समाजवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय र राजपाले हाल अभ्यासमै रहेको संसदीय प्रणालीको वकालत गर्दै आएका छन् । यसलाई एकीकृत पार्टीको केन्द्रीय महाधिवेशनबाट टुंग्याउने समझदारी छ ।

प्रकाशित : जेष्ठ २६, २०७७ ०६:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×