कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेतका मृतक युवामा कोरोना पुष्टि

कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो ।

सुर्खेतका मृतक युवामा कोरोना पुष्टि

बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरिएको बताए । साथै शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिँडेको जानकारी दिए ।

पञ्चपुरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष धनबहादुर थापाले नजिकैको जंगलमा मृतक युवाको दाहसंस्कार गर्ने तयारी भएको जानकारी दिए ।

जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका थिए । बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । तर, राति घर पुगेका उनी घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा बसेका थिए । वडाध्यक्ष थापाका अनुसार ती युवासँगै अन्य ६ जना पनि सँगै बसेका थिए ।

वडाध्यक्ष थापाले कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको पनि स्वाब परीक्षण गर्ने तयारी भइरहेको बताए । युवाको बुवाले शव छोएकाले उनको पनि परीक्षण गरिने थापाको भनाइ छ ।

योसँगै कर्णालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा एक/एक जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

क्वारेन्टाइनबाट घर फर्किएका सुर्खेतका एक युवाको मृत्यु

प्रकाशित : जेष्ठ २३, २०७७ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?