सरकार ! पेटभरि खान मन छ

खान नपाउनु त छँदै थियो, जमिनदारले उठेर जान उर्दी गरेपछि बस्तीमा अर्काे पीर थपिएको छ ।
बिनु सुवेदी, अवधेशकुमार झा

छिन्‍नमस्ता, सप्तरी — तीन दिनदेखि पखाला चलेर शिथिल भएका चारमहिने शिशु शिवम् सदा आमाको काखमा लमतन्न छन् । उनकी १७ वर्षीया आमा राधादेवी घरि शिवम्को अनुहार हेर्छिन् घरि आगो नबलेको चुलो हेरेर टोलाउँछिन् । अघिल्लो रात भोकै सुतेकी राधाको पेटमा बुधबार साँझ हामीसँग भेट हुने बेलासम्म एक–दुई टुक्रा आँप र अलिकति नुनमात्रै परेको छ र यसको सीधा असर शिवम्‌मा देखिन्छ ।

कैयौं दिनदेखि आगो नबलेको आँगनछेउको चुलो ओसिएको छ, हावाले उडाइदिएपछि चुलोमा खरानीसमेत बाँकी छैन ।

राधादेवीले डेढ वर्षअघि सप्तरी छिन्नमस्ता गाउँपालिका–३ का लखन सदासँग बिहे गरिन् । चार महिनाअघि उनका छोरा जन्मिए । राधा गर्भवती भएकै बेला पति लखन कमाउन भारतको पन्जाब गए । वृद्ध सासूससुरासँग उनी यतै छुटिन् । साढे दुई महिनाअघि देशमा लकडाउन सुरु भएपछि उनीहरूले गुजारा चलाउन गर्ने सबैतिरका काम ठप्प भए, साथमा पेट भर्ने उपाय पनि रोकियो । लकडाउन लम्बिँदै जाँदा संकट चुलिँदै गयो ।

पेटभरी खाना नहुँदा राधादेवीले आफ्नो शिशुलाई दूध खुवाउन सकेकी छैनन् । ‘दूध आउनै छोड्यो,’ उनले भनिन्, ‘लकडाउन भएपछि एक दिन पनि पेटभरी खान पाइएन, अहिले त झन् खाने कुरा केही छैन ।’

आमाको दूध नवजात शिशुका लागि सबभन्दा पोसिलो आहार हो । जनस्वाथ्यविद्हरू ६ महिनासम्म आमाको मात्र दूध खुवाउन सुझाव दिइरहेका हुन्छन् । त्यसका लागि सुत्केरी आमाले नै पोसिलो खानेकुरा खानुपर्ने हो, तर राधादेवीले पोसिलो त के पेट भर्नका लागि रुख्खासुख्खा खानसमेत पाएकी छैनन् ।

‘घरमा चुलो त बलेको छैन, कहाँबाट बच्चालाई दूध खुवाउनु ?’ उनले दुखेसो पोखिन् ।

दूध खान नपाउँदा शिवम् सदामा कुपोषणको लक्षण देखा पर्न थालेको छ । ‘बच्चा हेर्दा कुपोषणको लक्षण सुरु भइसकेको जस्तो देखिन्छ,’ पोषण पुन:स्थापना गृह राजविराजकी प्रमुख रश्मि झाले भनिन्, ‘यो बच्चालाई आमाको दूध र पोसिलो खानेकुरा भएन भने गम्भीर असर पर्दै जान्छ ।’ १० दिनअघि कान्तिपुर राधादेवीको घरमा पुग्दा उनी बुधबारभन्दा केही ह्ष्टपुष्ट थिइन् ।

‘हाम्रा लागि कोरोना होइन, यो लकडाउनमा भोक नै काल बनेर आएको छ,’ उनले भनिन्, ‘यो बेलामा हामी भोकले छटपटाउँदा कसैले पनि हेरेनन् ।’

छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरमा रहेको नेपाल–भारत सीमा स्तम्भछेउ उनको घर छ । राधादेवीसहित दशगजामा बसिरहेका १५ परिवार लकडाउनअघिसम्म सीमासँगै जोडिएको भारतीय बस्ती न्योरमा गएर ज्याला मजदुरी गर्थे । अहिले लकडाउन छ, पारिपट्टि पाइला राख्न पाउँदैनन्, यताका जनप्रतिनिधिले फर्किएर पनि हेर्दैनन् ।

यस्तोमा भोकसँग सम्झौता गर्नुको अर्काे विकल्प राधासँग छैन । थाहा छैन, यो लडाइँमा राधा र उनका छोरा शिवम्‌ले जित्छन् या भोकले !

०००

खानेकुरा नभएपछि एक हप्ताअघि नै निभेको चुलोको छेउमा छिन्नमस्ता–३ की विन्दादेवी सदा तस्बिर : प्रकाशचन्द्र तिमल्सेना/कान्तिपुर

छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलका अनुसार उनी त्यो बस्तीका नागरिकको हालखबर बुझ्न साताअघि दशगजा पुगेकी थिइन् । आफ्ना मतदाताको घरमा चुलो नबलेको उनले देखेकी पनि हुन् । ‘मैले हेरेर आएकी छु,’ मण्डलले कान्तिपुरसँग भनिन्, ‘अब केही दिनमा राहत पुर्‍याइदिन्छु ।’ पटकपटक नाम लेख्नमात्र आउने तर खाना या कामको उपाय लिएर नआउने जनप्रतिनिधि देखेर यी नागरिकको मन असाध्यै दुखेको छ । ‘पटकपटक नाम लेखेर लगे, तर अहिलेसम्म कोही राहत दिन आएका छैनन्,’ सोही ठाउँकी विन्दादेवी सदाले भनिन्, ‘कति छाक भोकै बस्यांै, कति छाक त अरूको बगैंचाबाट ल्याएको काँचो आँप र नुन खाएर दिन काट्यौं, आजै पनि काँचो आँप र नुनबाहेक पेटमा केही परेको छैन ।’

‘बालबच्चा भोक लाग्यो भनेर रुन्छन्, उनीहरूभन्दा धेरै मेरै मन रुन्छ,’ विन्दादेवीले भनिन् । चार सन्तानकी आमा विन्दादेवीको पनि आँगनमा रहेको चुलो नबलेको साता बढी भयो । ‘नजिकको बस्तीमा गएर मागेर केही पाए खाने हो,’ उनले भनिन्, ‘अहिले त कसैले आँगनमा टेक्न पनि दिन्नन, हात जोडेर बिन्ती गरेपछि कसैले दिए भने ल्याएर छोराछोरीलाई खुवाउने हो ।’ तर उनीहरूको बिन्ती सबैले सधैं सुन्छन् भन्ने छैन । त्यसैले माग्न जाँदा अन्नभन्दा धेरै अपमान बोकेर फर्किन्छन् विन्दाहरू । ‘तपाईं सरकारलाई केही भन्न चाहनुहुन्छ ?’ कान्तिपुरको यो प्रश्नमा विन्दाले उल्टै प्रश्न गरिन्, ‘हाम्रा लागि खोइ कहाँ छ र सरकार ?’

०००

छिन्नमस्ता–५ मुसहर टोलका बासिन्दा गरिबी र भोकबारे बयान गर्दै तस्बिर : प्रकाशचन्द्र तिमल्सेना/कान्तिपुर

मुसहर र चमार टोलको अवस्था पनि फरक छैन । छिन्नमस्ता–५ का लुचाई सदा बिरामी भएर थला परेको दुई महिना भएको छ । तातो तेल आँखामा परेपछि दुवै आँखा देख्न नसक्ने भएका ६० वर्षीय लुचाई सदालाई घरमा सुताएर छाक टार्ने जोहो गर्न काममा जाने गरेकी उनकी श्रीमती गीतादेवी लकडाउनका कारण घरमै थुनिएकी छन् । ६ सन्तान र बिरामी पतिको भोजनको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी अहिले गीतादेवीको काँधमा छ । तर कतै पनि काम नपाउने र सरकारीस्तरबाट राहत पनि नपाउँदा यो परिवार पनि भोकले पिरोलिएको छ ।

‘हामीलाई हेर्ने कोही छैन,’ गीतादेवीले भनिन्, ‘हाम्रा बालबच्चा भोकका कारण बिरामी पर्दै गएका छन्, यस्तो दु:ख दिनुभन्दा बरु हामीलाई गोली हानेर मारिदेऊ ।’ यो टोलमा मात्र मुसहरका सयभन्दा बढी घर छन् । अधिकांश स्थानीय तहले दोस्रो चरणको राहत बाँड्न सुरु गरिसक्दा छिन्नमस्ता गाउँपालिकामा पहिलो चरणको राहत दिनसमेत सुरु गरिएको छैन । मजदुरीबाहेक बाँच्नका लागि अरू कुनै उपाय नभएका नागरिक छटपटाएको स्थानीय जनप्रतिनिधिले देखे/नदेखेझैं गरिरहेछन् । उपप्रमुख मण्डलले त आफ्नो गाउँपालिकामा कोही पनि भोकै नरहेको दाबी गरिन् ।

मुसहर बस्तीका यी नागरिकले अलि हुनेखानेसँग ऋणपान गरेर गुजारा चलाउने उपाय नसोचेका होइनन् । सुरुसुरुमा ऋण पत्याउने मान्छे पनि भेटिन्थे, अहिले त्यो पनि छैन ।

स्थानीय मन्झादेवी सदाले भनिन्, ‘अब त ऋण पनि कसैले विश्वास गर्दैनन्, सरकारले पाल्न सक्दैन भने हामीलाई काम गर्ने ठाउँ मिलाइदिए हुन्थ्यो ।’

गाउँपालिकामा प्रदेश सरकारले राहतका लागि भनेर पठाएको १० लाख रुपैयाँ आएको थियो । त्यो रकमबाट किनेको खाद्यान्न सबैभन्दा गरिब बस्तीमा भने पुग्दै पुगेन । उपाध्यक्ष मण्डलका अनुसार राहत बुझ्ने उनीहरूको पालो आएकै छैन । उनले भनिन्, ‘१० लाख रुपैयाँको राहत आएको छ, पालोअनुसार बाँडिन्छ, अहिले वडा नम्बर १ मा बाँड्ने योजना बनाउँदैछौं, रोलक्रमअनुसार बाँड्दै गइन्छ नि ।’ उनै मण्डलका अनुसार गाउँपालिकामा सबैभन्दा धेरै गरिब भने यही मुसहर बस्ती रहेको वडा नम्बर ३ र ५ मा छन् ।

जमिन्दार मोहन दासको जग्गामा घर बनाएर बस्दै आएका लोखरमका मुसहरहरू भोकसँगको लडाइँ अब आफूहरूले जित्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । पहिलेदेखि नै अनेकन समस्याले पीडित मुसहर समुदायमा कुपोषण र मृत्युदर यसै पनि उच्च छ । मजदुरी गर्ने बाहेक माछा मार्ने, मंसिरको महिनामा दुलो खोज्दै मुसा मारेर मासुको स्वाद चाख्न अझै पनि यो समुदाय बाध्य छ । ‘तर अहिले मुसा खोज्ने अवस्था पनि छैन,’ स्थानीय बुदीलाल सदाले भने ।

सप्तरी, सिरहा, धनुषा र मोरङमा मुख्य बसोबास रहेको मुसहर समुदायको जनसंख्या ०६८ सालको राष्ट्रिय जनगणनाअनुसार २ लाख ३४ हजार ४ सय ९० रहेको छ । तीमध्ये सहरी क्षेत्रमा ११ हजार ६५ र ग्रामीण क्षेत्रमा २ लाख २३ हजार ४ सय २५ मुसहर बसोबास गर्छन् । उक्त जातिका अगुवाहरू भने आफूहरूको जनसंख्या १० लाखभन्दा बढी रहेको बताउँछन् ।

बास न गाँस हुने पीर

लोखरम–५ चमार टोलका बासिन्दा, लकडाउनका कारण भरपेट खान नपाएको पीर छँदै थियो, जमिन्दारले समेत उठेर जान उर्दी गरेपछि उनीहरूलाई अर्काे पीर थपिएको छ । तस्बिर : प्रकाशचन्द्र तिमल्सेना/कान्तिपुर

छिन्नमस्ता–५ लोखरमकै चमार टोलमा लकडाउनका बेला दोहोरो पीडा छ । स्थानीय जमिन्दार मोहन दासकै जग्गामा घर बनाएका उनीहरूले चार पुस्ता अगाडि नै जमिन्दारको घरमा नोकर बसी पैसा तिरेका थिए । लकडाउनभन्दा केहीअघि तिनै जमिन्दार मोहन दासकी बुहारीले मुद्दा हालेपछि स्थानीय चमारहरू उठिबास हुने चिन्तामा छन् । ‘एकातर्फ लकडाउनले भोको पेट छ, अर्कातिर घरको छत पनि गुम्ने अवस्था आएको छ,’ ७० वर्षीय खुसीलाल रामले भने, ‘चार पुस्ताअघि नै हाम्रा पुर्खाले पैसा तिरे, त्यति बेला हामीलाई पास गरिदिएनन्, अहिले जमिन्दारकी बुहारीले अदालतमा मुद्दा हालेर हाम्रो उठिबास गराउँदै छिन् ।’ ९ कट्ठा जग्गामा त्यहाँ चमार जातिको बस्ती छ । सिनो बहिष्कार आन्दोलनपछि फेरिएको चमार जातिको जीवनशैलीका कारण अहिले उनीहरू वैदेशिक रोजगारीसँगै मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । ‘हाम्रो त उद्धार गर्नुपर्ने बेला आएको छ,’ वृद्ध खुसीलालले भने, ‘लकडाउनका बीच पेट पाल्नै गाह्रो भयो ।’

‘लकडाउन सुरु भएपछि ऋणको भार हामीमाथि थपिँदै गएको छ,’ स्थानीय जोगिन्दर रामले भने । बस्तीमा २ हजारदेखि १० हजारसम्म ऋण थपिएका परिवार धेरै भएको उनले बताए । ‘पानी खाएर ज्यान जोगाइरहेको छु,’ उनले थपे, ‘मलाई पेटभरी खान मन छ ।’

कहाँ जान्छ राहत ?

सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना नियन्त्रण र राहतका लागि केन्द्र सरकारको झन्डै १० अर्ब रुपैयाँ खर्च भइसकेको छ । प्रदेश २ ले पनि दुई चरणमा राहत वितरण सकिसकेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले विपन्न र गरिबलाई पहिलो चरणमा राहत वितरण गर्ने भनेर प्रत्येक गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख, उपमहानगरपालिकालाई २० लाख र महानगरपालिकालाई २५ लाख रुपैयाँ वितरण गरिसकेको छ ।

त्यसपछि फेरि दोस्रो चरणमा प्रत्येक वडाका ६० जना अति विपन्न परिवारलाई २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल, आधा किलो सोयाबिन दिनुपर्ने भन्दै प्रत्येक जिल्लालाई २ करोडका दरले रकम विनियोजन गरी राहत वितरण भइसकेको मन्त्री साहले बताए । तर सप्तरीका अति विपन्न परिवार पहिलो चरणकै राहत नपाउँदा भोकभोकै छटपटाइरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाटै ‘अब देशमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भनेर घोषणा गरेको जानकारी यी बस्तीका नागरिकलाई पनि छ । प्रकाशित : जेष्ठ २३, २०७७ ०७:३०

प्रतिक्रिया
पठाउनुहोस्

खुल्न थाले पसल

सुरक्षा सावधानी अपनाएर बिहान ८ देखि ११ बजेसम्म पसल खुले
केही ठाउँमा धरपकड भयो
लीला श्रेष्ठ, सीमा तामाङ

काठमाडौँ — काठमाडौं महानगर–२७ केलटोलकी सुनिता श्रेष्ठले लकडाउनको ७३ औं दिनमा कपडा पसल खोलिन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले फोनमार्फत पसल खोल्न आग्रह गरेपछि सुनिताले पसल खुलेकी हुन् । ‘पसलको सटर खोल्न मात्र लागेकी थिएँ, स्वयंसेवक र प्रहरी सिठी फुक्दै सटर बन्द गर्न आइपुगे,’ उनले भनिन्, ‘उनीहरु गएपछि पुन: सटर खोलेँ ।’

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको करिब साढे दुई महिनामा व्यवसायी एकजुट हुँदै बिहीबारदेखि व्यवसाय सञ्चालन गर्न तयार भएका हुन् । ‘ग्राहक आउने आशा त छैन । तर पसलको सरसफाइ गर्न मात्र भए पनि सटर खोलेकी हुँ,’ उनले भनिन्, ‘मुसाले पसलको कपडा काटेर ध्वस्त पारिसक्यो ।’ पसलकै कमाइबाट ४ जनाको परिवार धान्दै आएकी सुनिताले कोठा र पसलको भाडा मासिक एक लाख रुपैयाँ तिर्नुपर्ने बताइन् । ‘पसल बन्द भएको दुई महिना नाघिसक्यो, घरबेटीले भाडाको ताकेता गरेको गर्‍यै छन्,’ उनले भनिन् ।

महासंघले व्यवसायीहरुलाई सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको र सोहीबमोजिम पसल सञ्चालन गरेको जनाएको छ । ‘ग्राहकका लागि सेनिटाइजरको व्यवस्था गरेका छौं, जुत्तामा स्प्रे गरेर मात्र पसलमा प्रवेश दिन्छौं,’ सुनिताले भनिन्, ‘सामान बेचेको पैसालाई समेत स्प्रे गरी घाममा सुकाएपछि मात्र प्रयोग गर्छौं ।’

झापाका विनोद अग्रवाल महाबौद्धमा कस्मेटिकको होलसेल पसल चलाउँछन् । लकडाउनपछि बिहीबार पसल खोलेका विनोदले ग्राहक नआएपछि तीन घण्टामै पसल बन्द गरेर हिँडे । ‘हामीले पसल खोले पनि ग्राहक आउँदैनन्, फाट्टफुट्ट पसल खुले पनि बजार सुनसानप्राय: छ,’ उनले भने, ‘महासंघको आग्रहमा पसल खोलेका हौं ।’

जोरपाटीका आत्माराम चौलागाईंले पनि फेन्सी पसल खोलेका थिए । जसोतसो उनले ११ बजेसम्म पसल खोले । ‘हामी सबैले बिहान पसल खोल्यौं,’ उनले भने, ‘स्वयंसेवक र प्रहरी आउँदा बन्द गर्ने र गएपछि पुन: खोल्ने काम जारी रह्यो, भोलि पनि खोल्छौं ।’ प्रहरीसँग झगडा गरेर पसल खोल्ने वातावरण छैन । प्रशासनले दबाब दिएको खण्डमा बन्द गर्ने योजना रहेको उनले बताए ।

सरकारले गत चैत ११ देखि जारी गरेको लकडाउन लम्बिँदै गएपछि व्यवसायीहरुले बिहीबारदेखि पसल खोल्न थालेका हुन् । बिहीबार पाटन, मंगलबजार, लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल क्षेत्रमा किराना पसल, हार्डवेयर, फलफूल, फार्मेसी पसल प्रशस्त खुले । लगनखेल र जावलाखेलमा केही कपडा पसल र भाडा पसलसमेत सञ्चालन भए । न्युरोड, असन, टेबहाल, भोटेबहाल केलटोल क्षेत्रमा प्राय: फेन्सी, ग्रोसरी र इलेक्ट्रोनिक पसल बिहान खुले । दिउँसो भने किराना र केही फेन्सी पसल खुले । त्रिपुरेश्वर र क्षेत्रपाटीमा सबै मेडिकल तथा सर्जिकल पसल खुला थिए ।

टेकु सडकखण्डका हार्डवेयर, वर्कसप, केही लुगा पसल र कालिमाटी–कंलकी सडक खण्डमा फलफूल पसल र केही खाजा घर सञ्चालन भए । दरबारमार्ग सडकखण्डमा केही फेन्सी पसल खुले । भक्तपुरको सूर्यविनायक, सल्लाघारी, कमलविनायक, गठ्ठाघर, कोटेश्वरलगायत क्षेत्रमा किराना पसल, हार्डवेयर, अटोपार्टस्, खाजाघर, मासु पसल खुलेका थिए ।

संगठनको निर्णयअनूसार सामाजिक दूरी कायम गर्दै बिहान ८ देखि ११ बजेसम्म पसल सञ्चालन गरिएको साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । पसल सञ्चालन गर्दा सरकारले तोकेको मापदण्डअनुसार सुरक्षा सतर्कता अपनाइएको उनले जनाए । व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा सेनिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् । सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकाले पसल खुला गर्नुपरेको उनको भनाइ छ । महासंघले बुधबार बिहीबारदेखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेको थियो ।

साना पसल व्यवसायीले सरकारले ठूला व्यवसायीलाई प्रोत्साहन गर्ने र सानालाई निरुत्साहित गर्ने काम गरेको आरोपसमेत लगाएका छन् । बिहीबार बिहान चाबहिलमा पसल बन्द गर्न पुगेका प्रहरीसँग विवाद गर्दै ठूला पसललाई मात्र खोल्न दिएको र साना व्यवसायीलाई स्वास्थ्य सुरक्षा अपनाएर पनि पसल खोल्न नदिएको भन्दै उनीहरुले विरोध गरे ।

सामानहरू मुसाले काटेको र पानी छिरेर ड्यामेज हुने सम्भावना बढेकाले पसल खोल्ने निर्णय गरिएको राष्ट्रिय व्यापार संघका अध्यक्ष अञ्जन शाक्य बताउँछन् । प्रशासनलाई जानकारी गराएरै सांकेतिक रूपमा पसल सञ्चालन गरिएको उनको दाबी छ । बिहीबार असन, महाबैद्ध, न्युरोडलगायत करिब ५० प्रतिशत पसल खुलेको शाक्यले बताए ।

लकडाउनको अवज्ञा गर्दै व्यवसायीले पसल खोलेपछि केही ठाउँमा धरपकडसमेत भएको थियो । ‘कोटेश्वरमा एकछिन धरपकड भयो । त्यसपछि पसल पुन: बन्द भए,’ नेपाल वितरक संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठले भने, ‘चाबहिल तरकारी बजार क्षेत्रको अवस्था पनि उस्तै थियो ।’

सरकारले लकडाउन खुकुलो नबनाए शुक्रबार पनि कडाइका साथ पसल खोल्ने उनले बताए । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका महासचिव नवराज गौतमले पनि सुरक्षाको मापदण्ड र सामाजिक दूरी राखेर बिहीबारदेखि पसल खोलिएको जनाए । ‘महाबैद्धका होलसेल, जुत्ता, रेडिमेट कपडा, ब्याग, चप्पल, इलेक्ट्रिकलगायत पसल करिब ५० प्रतिशत खुले,’ उनले भने, ‘सटरभाडा, बैंकको ब्याज र कर्मचारीको तलबले तनाव भयो ।’

सावधानी अपनाउन सिफारिस

उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन सिफारिस गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिलाई बैठकले यस्तो सिफारिस गरेको हो ।

राजधानीमा उद्योगी व्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख तथा जिल्ला समन्वय समितिको आकस्मिक संयुक्त बैठक बसेको थियो ।

विद्यालय/विश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभा, सम्मेलन हुने क्षेत्रलाई एवं कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्न दिनुपर्ने निर्णय भएको बैठकमा सहभागी एक अधिकारीले बताए ।

चैत ११ देखिको लकडाउनका कारण अत्यावश्यक सेवाबाहेकका उद्योग/कलकारखाना तथा बजार पूर्ण रूपमा ठप्प छन् । जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि मजदुरी गर्नेहरू मारमा परेका छन् । उद्योग कलकारखाना सञ्चालक पनि पीडित छन् । प्रशासनले लकडाउनको विकल्प नखोजे अवज्ञा गरेर एकतर्फी व्यवसाय चलाउने चेतावनी व्यवसायीले दिएपछि प्रशासन बाध्य भएर लकडाउन खुकुल्याउने निष्कर्षमा पुगेको हो ।

प्रकाशित : जेष्ठ २३, २०७७ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×