कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सहरमा रोजगारी गुम्यो, गाउँमा खेती गर्न बीउ-मल छैन

रोजगारीमा भारतमा र नेपालकै सहरहरुमा रहेका युवा लकडाउनका बेला अनेक दु:ख सहँदै गाउँ फर्किएका छन् तर खेती किसानी गर्नसमेत मलबीउ नपाइएपछि उनीहरु चिन्तामा छन् ।
लकडाउनका बेला अनेक दु:ख सहँदै गाउँ फर्किएका युवाले ‘ माटो खोस्रन’ समेत पाएनन् ।

बर्दिया — ज्यालादारी काम गर्न काठमाडौं गएका २१ र २५ वर्षीय २ छोरा गत वैशाख ३ मा तीन दिन लगाएर जेनतेन गाउँ फर्केपछि बुधनी चौधरीले खुबै खुसी मानिन् । १५ दिन गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेर दुवै छोरा घर पस्न पाए । तर लकडाउन लम्बिँदै जांँदा अर्को समस्या आइलाग्यो । पैसा अभावमा उनले उन्नत जातको धानको बीउ किन्न पाइनन् ।

सहरमा रोजगारी गुम्यो, गाउँमा खेती गर्न बीउ-मल छैन

स्थानीय जातको बीउ किनेर ब्याड बनाइन् । तर त्यसलाई हुर्काउने मल पाइनन् । बुधनीले ऋण काढेर भए पनि मल किन्ने सुर गरेकी थिइन् । तर जिल्लाभर मलको हाहाकार छ । अब धानको बीउमलबिना कसरी हुर्किएला र कसरी राम्रो उब्जनी देला भन्ने चिन्ताले उनलाई छोप्न थालेको छ ।

बुधनीजस्तै बर्दियाका अधिकांश किसान यतिबेला लकडाउन र बीउमल हाहाकारको दोहोरो चपेटा झेलिरहेका छन् । मल र बीउ नपाएर कैयौं किसानले समयमा बीउ राख्न पाएका छैनन् । बीउ राखेकाहरुले पनि समयमै मल नपाएकाले धान उत्पादनमा असर पर्ने देखिएको छ । रोजगारीमा भारतमा र नेपालकै सहरहरुमा रहेका हजारौं स्थानीय लकडाउनका बेला अनेक दु:ख सहँदै गाउँ फर्किएका छन् तर ग्रामीण आधार खेती किसानी पनि विस्तारै संकटमा पर्दै जाँदा उनीहरुमा चिन्ता थपिएको छ ।

पोखराको एक फ्रेस हाउसमा काम गर्ने बढैयाताल गाउँपालिका-४ नयाँबस्तीका सोम चौधरी चैत पहिलो साता घरमा पूजा भएका कारण आएका थिए । लकडाउन भएपछि उनी यतै अड्किए । पोखराको जागिरको कुनै भर नभएकाले उनी बन्धकी लिएको डेढ विगाहमा धान लगाउन कस्सिए । तर सुरुमै उनलाई धानको बीउ पाउन गतिलै दौडधुप गर्नुपर्‍यो । सोमले सुनाए, ‘अर्डर गरेको एक सातापछि बल्ल बीउ पाएँ । त्यो पनि पहिलेभन्दा महँगो मूल्यमा ।’ अनेकतिर कुदेर सोमले सय किलो युरिया र सय किलो डीएपी मल पनि खरिद गरे । तर उनका कैयौं छिमेकीले मल र बीउ पाएका छैनन् । ‘मल र बीउको हाहाकार सुरु भइसकेको छ । समयमै सरकारले ध्यान नदिने हो भने मल र गतिलो बीउ नपाएर धान उत्पादन घट्छ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयमा जेठ १३ गते बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा बर्दियाका ८ वटै स्थानीय तहका प्रमुखले मलको हाहाकार सुरु भइसकेको भन्दै जतिसक्दो मल उपलब्ध गराउन सरकारको ध्यानार्कषण गराउनुपर्ने विषयमा छलफल गरेका थिए । बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार सामान्य दिनमा भारतको हैदरबाद, पन्जाब र लखनउजस्ता सहरबाट उन्नत धानको बीउ आउँथ्यो । स्थानीय सहरमा मल र बीउ नपाइएका बेला पनि किसानहरु आफैं सीमावर्ती बजारसम्म पुगेर किनेर ल्याउँथे । ‘यसपालि त न सरकारले मल र बीउ दिन सकेको छ, न किसानले सीमापारिबाट किनेर ल्याउन पाएका छन्,’ श्रेष्ठले भने ।

जिल्ला संकट व्यवस्थापन समितिको बैठककै भोलिपल्ट जिल्ला प्रशासन कार्यालय बर्दियाले कृिष तथा पशुपक्षी विकास मन्त्रालयलाई मलको अभाव देखिएको भन्दै पत्र लेख्यो । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई समेत बोधार्थ दिइएको उक्त पत्रमा आवश्यक परिणाममा मल आपूर्ति हुन नसक्दा कृषि उत्पादन तथा उत्पादकत्वमा प्रतिकुल असर पर्न सक्ने देखिएको र जिल्लालाई छुट्याइएको कोटा अत्यन्तै थोरै भएको उल्लेख गर्दै परिणाम बढाइदिन अनुरोध गरिएको छ । पत्रमा भनिएको छ, ‘कम्तीमा युरिया मल ४ हजार मेट्रिक टन, डीएपी मल २५ सय मेट्रिक टन, पोटास सय मेट्रिक टन उपलब्ध गराइदिनुहुन अनुरोध छ ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष श्रेष्ठका अनुसार जिल्लालाई आवश्यक पर्ने भन्दै निकै थोरै परिणाममा मात्रै सरकारले मल उपलब्ध गराउन खोजीरहेको छ । ‘कृषि सामग्री कम्पनीले ३ सय मेट्रिक टन युरिया र २ सय मेट्रिक टन डीएपी लैजान भनिरहेको छ,’ उनले भने, ‘थोरै मल ल्याउँदा हजारौं किसानको भीड बढ्छ । कोरोना संक्रमणको जोखिम झनै धेरै रहन्छ ।’ समितिको बैठकमा मल बीउ हाहाकार थप एक साता रहने हो भने बर्दियाको धान उत्पादन ५० प्रतिशत घट्ने अनुमान गरिएको श्रेष्ठले सुनाए ।

बढैयातालका किसान बीउ राख्‍न ब्याड तयार गर्दै तस्बिर : अंगद ढकाल/कान्तिपुर

बढैयाताल गाउँपालिका-४ का २७ वर्षीय ठाकुरराम थारू गोर्खाको आरुघाटमा मिस्त्रीको काम गर्दै थिए । लकडाउन सुरु भएपछि उनी गाउँकै ५ साथीसहित बर्दिया आउन कस्सिए । कैयौं घण्टा पैदल र ठाउँठाउँमा ट्रक र टिपर चढेर तेस्रो दिन उनी गाउँ आइपुगे । १४ दिन क्वारेन्टाइनमा बसेर घर आएपछि उनी बारीमा धानको बीउ राख्ने तयारीमा जुटेका छन् । उनले ५ कठठ खेतका लागि प्रतिकिलो ५ सय ५० रुपैयाँमा तीन किलो धानको बीउ किनेका छन् । ‘बीउ त जसरीतसरी जुटाइयो । अब फेरि मल कसरी जुटाउने ? मल किन्ने पैसा पनि छैन,’ उनले भने ।

बुधनी र ठाकुररामजस्ता किसानका लागि लकडाउन दोहोरो गलपासो भएको छ । नियमित आम्दानी सुकेकै बेला मल र बीउको अभाव देखिएपछि धेरै किसान धान उत्पादन घट्ने र खाद्य संकट सुरु हुने चिन्तामा छन् । मल र बीउ सहज नहुँदा केही किसानले भने लुकाइछिपाइ भारतबाट ल्याइएको बीउ महँगो मूल्यमा किनिरहेको देखिन्छ । ५६ वर्षीय प्रकाश थारूले आफूले अघिल्लो सालभन्दा महँगो प्रतिकिलो ५ सय ५० रुपैयाँ हालेर ५ किलो हाईब्रिड धानको बीउ किनेको सुनाए । उनले भने, ‘बीउ जेनतेन हुर्काइएला तर धान रोपेपछि पनि समयमै मल हाल्न सकिएन भने खेतीमा गरेको लागत डुब्छ ।’

बाँकेको खजुरास्थित सहकारी संस्था लिमिटेड बिहीबार बिहानैदेखि किसानको भीड थियो । हातमा बोरा र झोला बोकेर आएर किसान सहकारीको झ्याल छेउमा उभिरहेका थिए । खजुराकै जाहिर खानले पुरानो साइकलको क्यारिअरमा थोत्रो प्लास्टिकको बोरा च्यापेका थिए । बिहान १० नबज्दै आएका उनी गर्मीले भन्दा मल नपाइने भयो भन्ने चिन्ताले गलेका थिए । तीन दिनयता उनी दिनहुँ साइकल चलाएर सहकारी आउँदै रित्तै फर्किंदै गरिरहेका छन् । चार दिनअघि दुई बिघा जमिनका धान लगाउन बीउ राखेका उनले भने, ‘केही दिनभित्र मल पाईएन भने बीउ राम्रोसँग हुर्किंदैन ।’

सहकारीका अध्यक्ष निर्मल खनालले गोदाममा बाँकी रहेको केही टन मात्रै मल वितरण गर्दा सबैलाई नपुग्ने र झगडा हुन सक्ने भएकाले वितरण स्थगित गरिएको बताए । उनले बुधबार मात्रै २ सय ५० किसानलाई मल बाँडेको तर बिहीबार बिहानदेखि मात्रै एक सयभन्दा धेरै किसान मल लिन सहकारीमा भेला भएको सुनाए । उनले भने, ‘साल्ट ट्रेडिङदेखि सबैतिर मल किन्न खोजिरहेका छौं । तर पाइरहेका छैनौं ।’

बढैयाताल गाउँपालिकाका ४, फूलबारीका रामलाल पासीले बुधबार मात्रै धानको बीउ राखे । ९ किलोमिटर दूरीको भारतीय बजार बलैगाउँबाट उनले अरू बेलाभन्दा महँगो मूल्यमा लुकीछिपी धानको बीउ किनेर ल्याए । ३० कठ्ठा जमिनका मालिक रामलालको धानको बीउमा मात्रै ५ हजार रुपैयाँ खर्च भएको छ । उनले ५ लिटर डिजेल खर्ची पोखरीको पानी तानेर ब्याड बनाएका छन् । उनले चिन्ताको स्वरमा भने, ‘अब दस दिनभित्र मल पाए त ठीकै हुन्थ्यो तर लकडाउनका कारण मल पाइएन भने त बर्बादै हुन्छ ।’

कृषि सामग्री कम्पनी लिमिटेड बर्दियाका प्रमुख मोहनसिंह केसीले खेतीको समय सुरु भइसक्दा पनि लडकाउनका कारण मल आउन नसकेको र अधिकांश किसान मल नपाएर हैरान भएको बताए । उनका अनुसार यतिबेला जिल्लामा डीएपी ५० टन स्टक भए पनि युरिया र पोटासको अभाव छ । केसीले भने, ‘मल लिन किसान सहकारीमा पुग्छन् । तर दिन सकिएको छैन ।’ बर्दियाका लागि युरिया, पोटास र डीएपी गरी १२ हजार टन आवश्यक पर्छ ।

बर्दिया र बाँकेको कृषि क्षेत्र हेर्ने कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले मल अभावले अन्नको भण्डार मानिने बर्दियामा कृषि क्षेत्र नै संकटमा पर्न सक्ने बताए । ‘बीउको अभाव पूर्ति भएन भने १५ देखि २० प्रतिशत, लकडाउनले इन्धन अभाव र अन्य कारणले नियमित सिँचाइ भएन भने २५ देखि ३० प्रतिशत र मलको अभाव रहिरह्यो भने १५ देखि २० प्रतिशतसम्म उत्पादनमा कमी आउन सक्छ,’ उनले भने ।

बर्दियामा एक दशकअघि ७५ हजार हेक्टरमा खेती हु‘दै आएको थियो । पछिल्लो तथ्यांकले करिब ४६ हजार हेक्टरमा धान खेती हुने देखाएको छ । ढकालले भने, ‘लकडाउनकै कारण मल र बीउको सहज वितरण भएन भने उत्पादन घटेर भोकमरीसमेत हुन सक्छ ।’

मजदुरले कहिले पाउँछन् पैसा

बुधनीका २५ वर्षीय जेठा छोरा खुसीराम र २१ वर्षीय कान्छा छोरा कैलाश तीन दिनको हिँडाइपछि गाउँ त फर्किए । तर उनीहरुले आफूले काठमाडौंमा बगाएको पसिनाको सबै हिसाब पाएका छैनन् । पैसा अभावमा धानको बीउ किन्न नपाएका बेला खुसीरामले ठेकेदारले दिनुपर्ने २९ हजार रुपैयाँ सम्झिएका थिए । उनका भाइ कैलाशलाई पनि काठमाडौंकै ठेकेदारले साढे ५ हजार दिन बाँकी छ । खुसीले सुनाए, ‘पैसा दिइहाल्छ कि भनेर दुई/तीन चोटि फोन गरेँ तर पाइएन ।’

खुसीराम र कैलाश काठमाडौंमा घर बनाउने ठाउँमा मजदुरी गर्थे । उनीहरु लकडाउनको केही अघिसम्म रामकोट क्षेत्रमा घर बनाइरहेका थिए । स्थानीयका अनुसार काठमाडौंका विभिन्न ठेकेदारसँग काम गर्ने दर्जनौं स्थानीय युवाले लकडाउनका कारण हतारहतार घर फर्किदा पारिश्रमिक पाएका छैनन् । खुसीरामले आफूसँगै आएका केशव चौधरीले पनि ठेकेदारबाट पैसा नपाएको सुनाए ।

कान्तिपुरसँग काठमाडौंबाट फोन सम्पर्कमा आएका खुसीराम र कैलाशका ठेकेदार मीनबहादुर राउतले आफूले पनि साहुबाट पैसा उठाउन नसकेकाले कामदारको पैसा समयमा दिन नसकेको बताए । उनले भने, ‘लामो समयदेखि मसँगै काम गर्नेहरु हुन् । म केही दिनमै पैसा उठाएर दिइहाल्छु । अहिले लकडाउन भएर मात्रै हो ।’

खुसीराम र कैलाशकी आमा बुधनीले भनिन्, ‘यस्तो संकटका बेला छोराहरुको कमाइ हात परे पनि केही दिनलाई भए पनि राहत हुन्थ्यो ।’

प्रकाशित : जेष्ठ २३, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?