२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

घर फिर्ने भारतीयको ताँती

शब्द/तस्बिर : पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको पश्चिम बंगाल सरकारले बुधबार अपरान्हबाट प्रवेश दिएपछि नेपालबाट घर फर्किने भारतीय श्रमिकको लर्को लागेको छ ।केही दिनदेखि पूर्वी नाकामा अलपत्रमध्ये बुधबार ५ सय भारतीयलाई प्रवेश दिइएको थियो । बिहीबार नेपाल–भारत सीमा जोड्ने मेची पुल क्षेत्रमा करिब दुई हजार भारतीय घर फर्किने आशामा बसेका छन् ।

भारत पश्चिम बंगालको अध्यागमन विभागमा कार्यरत आईसीपी सुनिल प्रधानले बुधबार पश्चिम बंगाल सरकारको आधिकारिक पत्र पठाएपछि प्रवेश दिइएको जनाए । उनका अनुसार यसअघि पश्चिम बंगाल सरकारले तत्काल प्रवेश नगर्न खोरीबारी पुलिस स्टेसन र सीमा सुरक्षा बललाई पत्राचार गरेको थियो ।

‘दैनिक ३, ४ सयलाई मात्रै प्रवेश गराउने आदेश थियो,’ प्रधानले भने,‘तर, यो भीडले गाह्रो भइरहेको छ ।’ उनका अनुसार घर फर्किने अधिकांश नेपालका इँटा कारखानामा कार्यरत श्रमिक हुन् । अधिकांश बंगालको कुचबिहार जिल्लाका बासिन्दा छन् ।

नेपालमा कार्यरत भारतीयहरु पूर्वी नाकामा थुप्रिन थालेपछि केही दिनयता उनीहरुको व्यवस्थापनमा समस्या भएको थियो । यद्यपि काँकडभिट्टा सोसाइटी, रोटरी क्लब आदि संस्थाले उनीहरुलाई निःशुल्क खानाको प्रबन्ध मिलाएका थिए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले भारतीय नागरिकका कारण नाकामा समस्या हुन थालेको र आफ्नो देशका नागरिकको उद्धार गर्न भारतीय सुरक्षा निकायलाई अनुरोध गरिएको जनाए ।

हाल दैनिक दुई हजार हाराहारीमा भारतीय आइरहेका छन् । करिब २० हजार भारतीयले पूर्वी नाका प्रयोग गरेर भारत छिर्ने जनाइएको छ । भारतीयहरुलाई पुलबाटै प्रवेश गराइएको छ । भारतबाट आउने नेपालीलाई भने पुल प्रयोग गर्न दिइएको छैन ।


प्रकाशित : जेष्ठ २२, २०७७ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्