काँकडभिट्टा — भारतको पश्चिम बंगाल सरकारले बुधबार अपरान्हबाट प्रवेश दिएपछि नेपालबाट घर फर्किने भारतीय श्रमिकको लर्को लागेको छ ।केही दिनदेखि पूर्वी नाकामा अलपत्रमध्ये बुधबार ५ सय भारतीयलाई प्रवेश दिइएको थियो । बिहीबार नेपाल–भारत सीमा जोड्ने मेची पुल क्षेत्रमा करिब दुई हजार भारतीय घर फर्किने आशामा बसेका छन् ।
भारत पश्चिम बंगालको अध्यागमन विभागमा कार्यरत आईसीपी सुनिल प्रधानले बुधबार पश्चिम बंगाल सरकारको आधिकारिक पत्र पठाएपछि प्रवेश दिइएको जनाए । उनका अनुसार यसअघि पश्चिम बंगाल सरकारले तत्काल प्रवेश नगर्न खोरीबारी पुलिस स्टेसन र सीमा सुरक्षा बललाई पत्राचार गरेको थियो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले भारतीय नागरिकका कारण नाकामा समस्या हुन थालेको र आफ्नो देशका नागरिकको उद्धार गर्न भारतीय सुरक्षा निकायलाई अनुरोध गरिएको जनाए ।


