आकस्मिक कक्षमा खटिने स्वास्थ्यकर्मी संक्रमित

हालसम्म ३ चिकित्सक, ८ नर्स र ३ जना अहेव संक्रमित
स्वास्थ्यकर्मी न्यून भएको देशमा उनीहरू नै संक्रमित हुँदै जाने हो भने भोलि भयावह स्थिति आउन सक्छ : डा. शरद वन्त, जनस्वास्थ्यविद्
स्वास्थ्यकर्मी संक्रमित हुनु र उनीहरूको मनोबल गिर्नुमा स्वास्थ्य मन्त्रालय जिम्मेवार छैन : डा. रोशन पोखरेल, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ
फातिमा बानु

काठमाडौँ — काठमाडौं मेडिकल कलेज (केएमसी) को आकस्मिक कक्षमा खटिने चिकित्सक र नर्सलाई कोरोना देखिएको छ । अस्पतालले उनीहरूको स्वाब परीक्षण गराउने क्रममा पोजिटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालमा एक जना चिकित्सक र दुई जना नर्सलाई कोरोना पुष्टि भएको हो । त्यस्तै स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालका एक महिला स्वास्थ्यकर्मीलाई पनि कोरोना पोजिटिभ देखिएको छ ।

आकस्मिक कक्षमा खटिने स्वास्थ्यकर्मी संक्रमित

उनीहरूसहित कोरोना लाग्ने चिकित्सक र स्वास्थ्यकर्मीको संख्या १४ पुगेको छ । सुरक्षा सामग्रीको कमजोर व्यवस्थापनका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढ्दै गएको चिकित्सकहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये ३ जना चिकित्सक, ८ जना नर्स र ३ जना अहेव हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट कन्ट्याक्ट ट्रेसिङमा खटिएका एक जना, नेपाली सेनाका एक र काठमाडौं मेडिकल कलेजका एक जना गरी तीन चिकित्सकमा संक्रमण देखिएको हो ।

केएमसीबाहेकका अरू दुई चिकित्सक डिस्चार्ज भइसके । संक्रमित नर्समध्ये १ जना उनी कार्यरत बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालकै आइसोलेसनमा छिन् । त्यस्तै, धनकुटाका संक्रमित २ नर्स र २ जना अहेव कोसी अस्पतालको आइसोलेसनमा छन् । अर्की संक्रमित नर्सको उनी कार्यरत वीरगन्जको नारायणी अस्पतालमै उपचार भइरहेको छ ।

स्वास्थ्यकर्मी आफैं संक्रमित भएका घटना कोरोना संक्रमित धेरै भएका मुलुकका लागि नौलो होइन । सक्दो सावधानी अपनाउँदा–अपनाउँदै नर्सलाई संक्रमण सरेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए । ‘नर्स संक्रमित भएपछि अन्य कर्मचारी त्रसित छन्,’ उनले भने, ‘सुरक्षा सामग्री र क्वारेन्टाइनका लागि होटलको व्यवस्था भने गरेका छौं ।’ सरकारले दिएको सुरक्षित स्वास्थ्य सामग्रीहरू (पीपीई, मास्क, पन्जालगायत) अपुग भएपछि विभिन्न संघसंस्था र व्यवसायीले दिएको सहयोगको भरमा काम चलाइरहेको उनले बताए ।

स्वास्थ्यकर्मीसमेत संक्रमित हुनुले अस्पतालमा स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थापन कमजोर भएको बुझिने नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले बताए । चिकित्सकलाई सुरक्षा सामग्री र तालिमको कमी भइरहेको उनको भनाइ छ । काम गर्ने संस्थाले सामग्री नदिएको गुनासा बढेपछि संघले आफैं मास्क किनेर चिकित्सकहरूलाई बाँडिरहेको छ ।

‘चिकित्सक संक्रमित हुनु या जोखिममा पर्नु भनेको अस्पताल नै जोखिममा पर्नु हो,’ उनले भने, ‘अस्पताल नै सिल गर्नु समाधान होइन । स्वास्थ्यकर्मी सुरक्षित बनाए भोलि बिरामीले उपचार नपाउने स्थितिबाट जोगिन सकिन्छ ।’ सरकारले सक्दो चाँडो सबै निकायसँग समन्वय गरेर महामारीविरुद्ध लड्न तयार हुनुपर्ने उनले सुझाए ।

स्वास्थ्यकर्मीको संख्या न्यून भएको देशमा उनीहरू नै संक्रमित हुनु र बढीभन्दा बढीलाई क्वारेन्टाइनमा राख्नुपर्ने स्थितिले भोलि स्वास्थ्यमा भयावह स्थिति आउन सक्ने जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन् । स्वास्थ्यकर्मी बचाउन उच्चतम सतर्कता अपनाउनुपर्ने भनिए पनि नेपालमा बेवास्ता गरिएको उनको आरोप छ । उनका अनुसार स्वास्थ्यकर्मीलाई संक्रमण हुनबाट जोगाउन मुख्यत: सुरक्षाका गुणस्तरीय सामग्री र काम गर्ने सम्मानित वातावरण हुन आवश्यक छ । ‘दुई महिना लकडाउनभर हामीलाई तयारी गर्ने समय भए पनि खासै काम गरिएन, स्वास्थ्यकर्मी नै संक्रमित हुने स्थिति आयो,’ उनले भने, ‘अझै पनि सावधानी नअपनाउने हो भने ठूलो क्षति बेहोर्नुपर्ने स्थिति आउन सक्छ ।’ फ्रन्टलाइनमा खटिने चिकित्सक भौतिक रूपमा सुरक्षित हुन नसक्दा उनीहरू मानसिक रूपमा समेत विक्षिप्त भइरहेको उनले बताए ।

सुरक्षा सामग्री नहुँदा चिकित्सकले रेनकोट लगाएरसमेत बिरामी हेरिरहेका छन् । अझै पनि चिकित्सक र स्वास्थ्यकर्मीले मास्कसमेत नपाएको गुनासो आइरहन्छ । किन्न खोज्दा पनि मास्क नपाएको उनीहरू बताउँछन् । फ्रन्टलाइनमा काम गर्ने चिकित्सकले अस्पतालमै बस्न पाउनुपर्‍यो या सरकारले कुनै बासस्थान मिलाइदिनुपर्‍यो भन्दै माग गरिरहेका छन् । संक्रमणको जोखिममा परेसँगै चिकित्सक तथा स्वास्थ्यकर्मी परिवारलाई भाइरस सारिएला भनेर सशंकित बनेका छन् ।

संक्रमण फैलिएको चार महिना बितिसक्दा पनि सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि बस्ने सहज ठाउँको व्यवस्थापन गर्न सकेको छैन । बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आएका चिकित्सक, नर्ससमेत घरमै बस्न बाध्य छन् । उनीहरूका लागि छुट्टै बस्ने व्यवस्था नगरे यसले समुदाय र अन्य स्वास्थ्यकर्मीलाई समेत संक्रमणको जोखिम हुने डा. वन्त बताउँछन् ।

स्वास्थ्यकर्मी संक्रमित हुनु र उनीहरूको मनोबल गिर्नुमा स्वास्थ्य मन्त्रालय नभई अस्पताल प्रशासन जिम्मेवार भएको बताउँछन् स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल । ‘सुरक्षा सामग्री अस्पताललाई दियौं, निर्देशिका बनाइदियौं,’ उनले भने, ‘कोभिडका लागि तोकिएका २५ अस्पताललाई १० लाखका दरले बजेट दियौं तर अस्पतालले व्यवस्थापनमा लापरबाही गरिरहेका छन् ।’

चिकित्सकको सुरक्षा र बासस्थान खोज्ने काम सम्बन्धित अस्पतालले नै गर्नुपर्ने र मन्त्रालय आफैं सामग्री किन्न र होटल खोज्न जान नसक्ने उनले स्पष्ट पारे । ‘चिकित्सक बस्ने ठाउँ खोज्दा होटल व्यवसायीले जनशक्ति छैन भनेर मानेनन्,’ उनले भने, ‘अब स्थानीय तह या अस्पतालले नै यसको निकास खोज्नुपर्छ ।’

प्रकाशित : जेष्ठ २१, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?