लकडाउनको ढाँचा फेर्ने तयारी

पहाडी, हिमाली जिल्ला र उपत्यकाको आन्तरिक आवागमन एवं उत्पादन र सेवामूलक उद्योग, संघसंस्थाका गतिविधि खुकुलो बनाइने
आन्तरिक हवाई उडान एवं विमानस्थलको स्वास्थ्य प्रोटोकल तयार हुँदै, विमानस्थलमा ‘लाइन मार्किङ’
कान्तिपुर संवाददाता

काठमाडौँ — लकडाउन चैत ११ मा सुरु हुँदा मुलुकमा कोभिड–१९ संक्रमित दुई जना थिए । लकडाउनको ७० औं दिन अर्थात् सोमबार यो संख्या १ हजार ८ सय ११ पुगेको छ । यहीबीचमा ८ जनाको संक्रमणले मृत्यु भइसकेको छ । यसले लकडाउन कोभिड–१९ संक्रमण रोकथामको एक मात्र उपाय होइन भन्ने प्रस्ट्याएको छ ।

यो कुरा विज्ञहरूले बताउँदै आए पनि सरकारले लकडाउनलाई अपनाइरहेको छ । सबैतिरबाट दबाब पर्न थालेपछि भने सरकारले लकडाउनको ढाँचा बदल्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ । त्यही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा बनाइरहेका छन् । ‘लकडाउन अब क्रमश: सामान्य बनाउँदै जानुपर्ने आवश्यकता बोध भएको छ,’ उच्चस्तरीय समन्वय समितिका सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कान्तिपुरसँग भने, ‘विशेषज्ञहरूको राय लिएर नयाँ मोडालिटी बन्छ र त्यसका आधारमा सरकार अघि बढ्छ ।’

अन्य मुलुकले आर्थिक गतिविधि ठप्प र जनजीवनसमेत अस्तव्यस्त बनेपछि लकडाउनलाई खुकुलो पारिसकेका छन् । नेपालसँगै लकडाउन सुरु गरेको भारतले सार्वजनिक यातायातलगायत सबै खुला गरिसकेको छ । नेपालमा भने लकडाउनको विकल्प नसोची अघि बढेपछि नागरिक तहबाट सरकारको विरोध भइरहेको छ । अब पनि यथास्थितिमा लकडाउन बढाउँदै लैजाँदा थप समस्या बढ्ने र त्यो धान्न नसकिने आकलन सरकारी अधिकारीहरूले गरेका छन् । ‘लकडाउनको मोडालिटीबारे कुराकानी भइरहेको छ, उच्चस्तरीय समितिको अबको बैठकमा प्रस्ताव आउँछ,’ समितिका सदस्य सचिवसमेत रहेका मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भने ।

सीसीएमसीले अहिलेको अवस्था विश्लेषण गरिरहेको छ । त्यसअनुसार उत्पादनमूलक र सेवामूलक क्षेत्र छुट्याएर कुनलाई कसरी सञ्चालन गर्ने भन्ने ढाँचा बन्दै छ । सम्भवत: मंगलबार उच्चस्तरीय समितिको बैठक बस्छ । त्यहाँ नयाँ मोडालिटीको ठोस प्रस्ताव बन्न सक्छ ।

मन्त्री भट्टराईका अनुसार संक्रमितहरूको अवस्था, त्यहाँको जनसंख्या, स्वास्थ्य उपचारको सम्भावित उपलब्धता हेरेर ठाउँ विशेषमा लकडाउनको ढाँचा परिवर्तन हुन सक्छ । हाल कम जोखिम देखिएका हिमाली, पहाडी जिल्ला र काठमाडाैं उपत्यकालगायतमा आवागमन खुकुलो बनाइने सम्भावना छ । बढी जमघट हुने स्थानबाहेक अन्य क्षेत्रमा खुकुलो हुनेछ । सार्वजनिक यातायात तत्काल खुला नभए पनि केही स्थिति आकलन गरी आन्तरिक हवाई उडान खुलाउने विषयमा कुरा भइरहेको छ । विमानस्थलमा सामाजिक दूरी कायम गर्न ‘लाइन मार्किङ’ भइरहेको छ । स्वास्थ्य जाँच र हवाई यात्राको प्रोटोकल बनिरहेको छ । विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय हवाई संगठन (आईकाओ) ले कोभिड–१९ का बेलालाई तयार गरेको प्रोटोकलअनुसार यहाँ पनि व्यवस्था गर्ने तयारी छ । उडान खुलेपछि केही होटल पनि सञ्चालनमा आउनेछन् । उडान र होटल सञ्चाललगायतका लागि सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग कुराकानी भइरहेको मन्त्री भट्टराईले जानकारी दिए ।

यसअघि नै खाद्यान्न, कृषि, निर्माणलगायत अत्यावश्यक गरी झन्डै ४० प्रकारका सेवासँग सम्बन्धित कलकारखानामा सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर काम गर्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । त्यो दायरा अब थप खुकुलो बनाउने तयारी छ ।

लकडाउन सुरु भएको केही सातापछि नै सरकारी निकायमा यसको ढाँचा फेर्ने विकल्पमा जानुपर्ने बहस सुरु भएको थियो । अधिकांश मन्त्रीले मन्त्रिपरिषद् बैठकमै पनि यो कुरा उठाउने गरेका थिए । विशेषगरी अर्थमन्त्री युवराज खतिवडा, उद्योगमन्त्री लेखराज भट्टलगायतले आर्थिक गतिविधिलाई ख्याल गरेर वैकल्पिक उपाय अपनाउँदै जानुपर्ने धारणा राख्ने गरेका थिए । तर लकडाउन खुकुलो पार्न प्रधानमन्त्री केपी शर्मा ओली नै विश्वस्त भएनन् । उनले बरु सार्वजनिक रूपमै ‘जीवनभन्दा ठूलो अर्थतन्त्र होइन’ भने । ढाँचा फेर्दा स्थिति भयावह हुने भन्दै लम्ब्याउनुपर्ने अडान राखिरहे । लकडाउनकै अवधिमा पनि दिनमा एक सय जनाभन्दा बढी संक्रमित थपिँदै गएकाले यो विधिले मात्र रोक्न नसकिने रहेछ भन्ने निष्कर्षमा सरकार पुगेको हो ।

लकडाउनकै बीचमा पनि भारतबाट हजारौं मानिस नेपाल भित्रेका छन् । भारतले लकडाउन खोलेपछि पनि उत्तिकै संख्यामा सीमाबाट नेपाल भित्रिइरहेका छन् । भारतबाट छिर्नेहरू नै सबै भन्दा बढी संक्रमित देखिएका छन् । त्यसैले एकै पटक धेरै संक्रमित हुँदा कसरी जाने भन्ने निर्णयमा पुगिहाल्न समस्या भएको मन्त्री भट्टराईले बताए ।

तर अब सीमा क्षेत्र र त्यहाँबाट छिर्नेहरूलाई गर्ने निगरानी र प्रभावकारी व्यवस्थापन गर्न सेना सहितका सुरक्षा निकायलाई खटाउने निर्णय सरकारले गरेको छ । त्यसले जथाभावी मानिसको आवतजावत घट्ने सरकारी अधिकारीहरूको आकलन छ । तर संक्रमितको संख्या केही समय बढ्न सक्छ । सरकारी अधिकारीहरूले गरेको एक अनौपचारिक आकलनअनुसार यही दरमा संक्रमण बढ्दै जाने हो भने एक महिनाभित्र संक्रमितको संख्या ५ हजार नाघ्न सक्छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकामा रोकिएन प्रदर्शन

७५ सहरमा फैलियो विरोध, ४० सहरमा कर्फ्यु लगाइयो
दर्जनौं स्थानमा झडप, २ को मृत्यु
एजेन्सी

वासिङ्टन — प्रहरी नियन्त्रणमा अश्वेत नागरिकको हत्या भएपछि अमेरिकाका दर्जनौं सहरमा सुरु भएको प्रदर्शन देशव्यापी बनेको छ । बीबीसीका अनुसार कम्तीमा ४० सहरमा कर्फ्यु जारी गरिएको छ । तर प्रदर्शनकारीले कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

न्युयोर्क, सिकागो, फिलाडेल्फिया, लस एन्जलस, डेभनपोर्टलगायत दर्जनौं सहरमा दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन् ।

प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास तथा पानीका फोहोराको प्रयोग गरेको छ । विभिन्न स्थानबाट प्रहरीले ३ सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको जनाएको छ । सीएनएनका अनुसार न्युयोर्कमा मात्र २ सय ७० जना पक्राउ परेका छन् ।

आयोवा राज्यको डेभनपोर्टमा आइतबार रातभर गोली हानाहान भएको जनाइएको छ । प्रहरीको गोली लागी कम्तीमा २ जनाको ज्यान गएको छ । एक प्रहरी अधिकारी घाइते भएका सीएनएनले जनाएको छ । डेभनपोर्ट प्रहरी प्रमुख पल सिकोर्कीले गस्तीमा रहेका तीन जना प्रहरीमाथि आक्रमण भएको जनाए ।

दर्जनौं राज्यमा प्रहरीका गाडी जलाइएका छन् भने पसलहरूमा लुटपाट भएको छ । प्रदर्शन चर्केका विभिन्न १५ राज्य र राष्ट्रपति कार्यालय ह्वाइटहाउस अगाडि नेसनल गार्ड परिचालन गरिएको छ । अमेरिकी सेनाको सञ्चित फौज नेसनल गार्ड देशभित्र कुनै संकट आइपर्दा खटाइने गरिन्छ ।

ह्वाइटहाउसअघि भेला भएको ठूलो भीडले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । त्यसलगत्तै प्रदर्शनकारीले दंगा प्रहरीमाथि ढुंगा प्रहार गरेका जनाइएको छ ।

लस एञ्जलसमा प्रदर्शनमा गरिएको आगजनी तस्बिर एपी/रासस

६ दिनदेखि जारी विरोध प्रदर्शनलाई ५ दशकयताकै हिंसात्मक रंगभेदी आन्दोलनका रूपमा लिइएको छ । सन् १९६८ मा मार्टिन लुथर किंगको हत्यापछि विश्वका विभिन्न देशमा विरोध प्रदर्शन गरिएको थियो । सीएनएनका अनुसार कम्तीमा ७५ विभिन्न सहरमा हिंसात्मक विरोध भएको छ ।

प्रहरी अधिकारी डेरेक सोभिनको ज्यादतीका कारण जर्ज फ्लोयडको ज्यान गएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो । घटनाबारे सार्वजनिक एक भिडियोमा सोभिनले फ्लोइडको घाँटीमा ८ मिनेटभन्दा बढी समयसम्म घुँडाले टेकेको देखिन्छ । फ्लोइडले आफूलाई सास फेर्न गाह्रो भएको बताएको समेत भिडियोमा सुन्न सकिन्छ । ४४ वर्षीय सोभिनसहित ४ जना प्रहरीलाई घटनापछि बर्खास्त गरिसकिएको छ ।

नियोजित रूपमा हत्या गरिएको दाबी

फ्लोयडतर्फका वकिलले प्रहरीले ‘पूर्वनियोजित रूपमा फ्लोयडको हत्या गरेको’ आरोप दाबी गरेका छन् । फ्लोयडको हत्या गर्ने मिनियापोलिसका प्रहरी सोभिनमाथि भने अञ्जानमा भएको हत्याको अभियोग लगाइएको छ । तर वकिल बेन्जामिन क्रम्पले सीबीएस न्युजलाई भने उक्त हत्या जानीजानी गरिएको बताए ।

तस्बिर : एपी/रासस

‘उनको हत्या गर्ने आशय थियो । फ्लोयडले बारम्बार सास फेर्न गाह्रो भएको बताइरहँदा पनि उनले झन्डै ९ मिनेटसम्म आफ्नो घुँडाले घाँटीमा थिचिरहेका थिए,’ उनले भने ।

अमेरिकाबाहिर पनि विरोध

फ्लोयडको हत्यालाई लिएर विश्वका अन्य देशमा पनि विरोध प्रदर्शन गरिएका छन् । लन्डनस्थित अमेरिकी दूतावासबाहिर र ट्राफलगर स्क्वायरमा हजारौं मानिसले विरोध र्‍याली निकालेका छन् ।

र्‍यालीमा सहभागी अधिकांशले ‘अश्वेतको जीवनले अर्थ राख्छ (ब्ल्याक लाइभ्स म्याटर)’ भन्दै नाराबाजी गरेका थिए । त्यस्तै, जर्मनीको बर्लिन तथा फ्रान्सको पेरिसस्थित अमेरिकी दूतावासबाहिर पनि सयौं प्रदर्शनकारीले विरोध जनाएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×