कोरोनाको डर थियो, दुर्घटनाले ज्यान लियो

‘बिस्तारै हाँक्नुस् भन्दा चालकले मानेनन्’

नेपालगन्ज — कोरोनाको संक्रमणबाट जोगिन भारतबाट स्वदेश फिरेका युवा अनेक हन्डर खाँदै घर पुग्ने बेला दुर्घटनामा पर्दा १२ जनाको ज्यान गएको छ । मुुलुकमा हालसम्म ८ जनाको ज्यान लिएको कोरोनालाई रोक्न जारी लकडाउनका कारण आवागमनको सहज सुविधा नहुँदा र राज्यले नागरिक सुरक्षामा पहल नगर्दा यो बीभत्स दुर्घटना भएको देखिन्छ ।

कोरोनाको डर थियो, दुर्घटनाले ज्यान लियो

राज्यले बस्ने बास र जाने सुविधा दिन नसक्दा तीन दिनदेखिका भोका र अनिँदा ती युवालाई एक निजी भ्यानले क्षमताभन्दा दोब्बर संख्यामा राखेर साविकभन्दा ‘चौबर’ भाडा लिएर उनीहरूको घरतर्फ लैजाँदै थियो । बाँकेबाट मधु शाहीठाकुरसिंह थारूको स्थलगत रिपोर्ट :

दाङका रामकुमार पुनलाई कोरोना संक्रमणको डर थियो । भारतमा मजदुरी गर्ने उनी घर आउन चाहन्थे । ‘गाडी भाडा नभएर अलपत्र परेको’ फोनमा दाइ रमेशलाई सुनाइरहन्थे । ‘घरबाट पैसा पठाइदिन्छु, आइज भन्दा आएन,’ सोमबार भाइको शव बुझ्न आएका रमेशले भने, ‘भारतमा रेल चलेपछि गाडीभाडा खोजेर आएको रहेछ ।’ चण्डीगढमा मजदुरी गर्ने उनी साथीहरूसित सापटी मागेर आइतबार जमुनाहा नाकासम्म आइपुगेका थिए । ‘नेपाल आएपछि मलाई फोन गर्‍यो,’ उनले भने, ‘तर.., घर पुग्न पाएन ।’ आइतबार राति भएको दुर्घटनामा रामकुमारले ज्यान गुमाए । उनीजस्तै संक्रमणबाट बच्न स्वदेश फर्किएका धेरैको मृत्यु भयो ।

नाकाबाट स्वदेश फर्किएका विभिन्न जिल्लाका सर्वसाधारण बोकेर बा५ख ५९९५ नम्बरको फोर्स भ्यान (हायस) मध्यरात दाङतर्फ गइरहेको थियो । बिग्रिएर सडक किनारमा पार्किङ गरिएको सा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्कियो । प्रहरीका अनुसार घटनास्थलमै ११ जनाको ज्यान गएको थियो । गाडीमा चालकका तीन जना साथी थिए, बाँकी २९ जना घर फिर्न आतुर युवा ।

मध्यरातमा भएको दुर्घटनामा २१ जना घाइते छन् । उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेका अनुसार हायसको गति तीव्र थियो । ‘बेस्सरी कुदाएर होला, गाडीभित्रै रिंगटा लाग्थ्यो, स्पिड कम गर्नुस् भन्दा मानेनन्,’ दाङ, तुलसीपुर–२, खैरीकोटका ३९ वर्षीय विष्णु गिरीले भने, ‘चालकको लापरबाहीले दुर्घटना भयो ।’ अर्का एक घाइतेका अनुसार चालकले मदिरा सेवन गरेका थिए । ‘नेपालगन्जमा खाना खान भनेर गएर चालक फर्कँदा मदिराले मात्तिएका थिए, उनको मुखबाट मदिराको गन्ध आइरहेको थियो,’ उनले भने । इलाका प्रहरी कोहलपुरका डीएसपी कुलदीप चन्दका अनुसार हायस पछाडिबाट ट्रकमुनि घुस्न पुगेको देखिन्छ ।

घाइते सल्यान सिद्धकुमाख गाउँपालिका–२ का मुकेश घर्ती भारतको सिमलामा मजदुरी गर्थे । लामो समय लकडाउन भएकाले साहूले तलब दिन छाडे । दुई महिनायता कमाइ थिएन । एकातिर कोरोनाको डर थियो, अर्कोतिर भोकै मरिने पीर । यस्तोमा दु:ख खेप्न नसकेर घर फर्कने निधो गरे उनले । सिमलामा सँगै काम गरिरहेका ९ जनाको समूह बनाएर निस्किए । एक जनाको ३ हजार ६ सय भारतीय रुपैयाँका दरले भाडा तिरेर गाडी रिजर्भ गरे । उनीहरू सबैको कमाइ भाडा तिर्दामै सकिएकाले सीमानाका आइपुगेपछि अलपत्र परे ।

‘तीन दिनदेखि भातसमेत खाएको छैन,’ अस्पतालमा उपचार गराइरहेका उनले भने, ‘पानीकै भरमा सीमासम्म आइपुग्यौं ।’ भारतको रुपैडियास्थित बसपार्कमा आइतबार अपराह्न ल्याएर गाडीले छाडिदिएको थियो । त्यहाँ सल्यान, दाङ, रोल्पाका अरू मजदुर पनि थिए । गाडीबाट ओर्लिएपछि उनीहरूलाई भारतीय सुरक्षाकर्मीले भारततर्फ बस्न दिएनन् । उनका अनुसार लाठी देखाएर ‘अपने देश चलो’ भन्दै धपाउँदा कतिको ढाडमा सुम्ला पनि बस्यो । मुकेशलगायत २९ जनाको समूह नाकामा बसेको थियो । साँझ ६ बजेपछि नेपालगन्ज उपमहानगरपालिकाले टिपरमा राखेर सीमा वारि जमुनाहा ल्याइदिएको उनले बताए ।

घाइतेको भेरी अस्पताल नेपालगन्जमा उपचार हुँदै। तस्बिर : मधु शाही/कान्तिपुर

टिपरले बाँकेका स्थानीयलाई भने घर आसपास पुर्‍याएर छाडिदियो । अन्य जिल्लाका भने नाकामै अलपत्र परे । रात परिसकेको थियो । उनीहरूलाई भित्र भोकले र बाहिर लामखुट्टेले टोक्न थाल्यो । त्यसमाथि रात कहाँ गुजार्ने भन्ने अर्काे समस्या भयो । आपसमा छलफल गरे र एउटै उपाय ‘सक्दो छिटो घर पुग्नु हो’ भन्ने निचोड निकाले । त्यसपछि सुरु भयो गाडी खोज्ने काम । खोज्दै जाँदा एक हायस चालक फेला परे । उनले युवालाई घर लगिदिन त राजी भए तर साविक चार सय रुपैयाँ लाग्नेमा एक जनाको १८ सय रुपैयाँका दरले भाडा लिने बताए । परिस्थितिले विवश र लाचार उनीहरू बाध्य भएर चर्काे भाडा तिर्न राजी भए । त्यहाँ भएकामध्ये १७ जनासँग भाडा तिर्ने पैसा रहेछ, बाँकी १२ जनाले घर पुगेर सरसापट गरी दिने वाचा गरे । मुकेशका अनुसार गाडीमा १६/१७ जनासम्म अट्न सक्थे । ‘तर हामी २९ जना थियौं,’ उनले भने, ‘चालकले खाँदाखाँद गरेर चढाए ।’ क्षमताभन्दा अत्यधिक बढी यात्रु राखेर लकडाउनका बेला सवारी चलाउँदासमेत कहीँकतै सुरक्षाकर्मीले जाँच गरेनन् ।

घाइतेका अनुसार नाकाबाट ६ बजे छुटेको गाडीले नेपालगन्ज बजारमा ल्याएर राति १०/११ बजेसम्म कुरायो । ‘त्यसबेला भात खान जान्छु भन्दै गएका चालक फर्कंदा रक्सीले मात्तिएका थिए,’ अर्का घाइते दाङका मेघराज केसीले भने, ‘हामीलाई डर लाग्यो र पटकपटक विस्तारै हाँक्नुस् भनिरह्यौं, तर उसले सुनेको नसुन्यै गरेर गाडी एक तमासले बत्ताइरह्यो ।’

नेपालगन्जको सडकमै हल्लिरहेको गाडी भित्र अटेसमटेस यात्रुको सुरक्षालाई चालकले वास्तै नगरी कुदाउँदा नाकाबाट ५० किमि पर राप्तीसोनारी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गअन्तर्गत ठुरे जंगल पुग्दा रात परिसकेको थियो । भारतबाट धपाइएका र नेपाल आएपछि बेवास्तामा परेका उनीहरू तीन दिनको भोको पेटलाई तातो भात र अनिँदो जीउलाई न्यानो ओछ्यान पाउन भनी घर पुग्ने हतारोमा तय गरेको त्यो यात्राले ठुरे जंगलमा पुगेपछि गन्तव्य भेट्न पाएन । बाटोमा १७ टन चामलसहित रोकेर राखिएको ट्रकको पुछारमा हायस यसरी घुस्रिन पुग्यो, ४५ मिटर परसम्म बिग्रिएको ट्रक नै लतारिन पुग्यो ।

‘बिस्तारै हाँक्नुस् भन्दा मानेन’

सुनिल परियार, घाइते रोल्पा

भारतको चण्डीगढबाट आइतबार दिउँसो जमुनाहा नाका आइयो । प्रहरीले ल्याएर नेपालगन्ज भन्सारको यात्रु शाखामा बसाले । त्यसपछि गाडीको खोजीमा लाग्यौं । एउटा हायस फेला पर्‍यो । दाङसम्म पुर्‍याएको दोहोरो भाडा तिर्ने सर्तमा गाडी चढ्यौं । चालकले अलमल्याएर नेपालगन्जमै रात पारे । भोकप्यासै थियौं । निद्राले च्याप्यो । नेपालगन्जबाट ११ बजेतिर गाडी हिँड्यो । मध्यरात भएकाले धेरै निदाएका थियौं । बस अत्यधिक गतिमा थियो ।

मसँगै रहेका धेरै जनाले चालकलाई गति कम गर्न अनुरोध गरे । चालकले छिट्टै दाङ छोडेर फर्किन्छु भनिरहेका थिए । एक्कासि हामी सिटबाट खस्यौँ । बस ट्रकमा ठोक्किएको रहेछ । धेरै जना बेहोस थिए । केहीको त्यहीं प्राण गइसकेको थियो । मसहित तीन जनालाई कम चोट लाग्यो । गाडी रगताम्य बन्यो । उद्धार गर्ने कोही भएन । प्रहरीको नम्बर पनि थाहा भएन । कसैले फोन गरिदिएकाले होला प्रहरीले उद्धार गरेर अस्पताल ल्यायो ।

११ को पहिचान, एक खुलेन

दुर्घटनामा मृत्यु भएकामध्ये सोमबार साँझसम्म ११ जनाको नाम खुलेको छ । जसमा दाङ राजपुर—६ का रामकुमार पुन, सीता पुन, पूर्ण पुन, रोल्पा कोरैलीका बुद्धिराम विक, देउवीर विक, रोल्पाकै भीम विक, दिलबहादुर विक, नरेन्द्र विक, दैलेख घरभएका बस चालक दानबहादुर खड्का, सुर्खेतका सहचालक पवन भण्डारी र गाडी स्टाफ रितेश कार्की छन् ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?