क्वारेन्टाइनका सबैलाई निःशुल्क परीक्षण गर्नू : सर्वोच्च अदालत

रासस

काठमाडौँ — विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रत्यक्ष र अग्रपंक्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टाइनमा राखिएकाहरूलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा रहेर स्वास्थ्य सेवा दिने चिकित्सक, नर्स र कर्मचारीलाई सुरक्षाको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

‘स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाइकर्मीहरू तथा आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोसाक, वस्तु, उपकरणलगायतका सम्पूर्ण सामग्रीहरू पर्याप्त मात्रामा निःशुल्क अविलम्ब उपलब्ध गर्ने व्यवस्था गर्नू/गराउनू,’ आदेशमा भनिएको छ ।

क्वारेन्टाइनमा राखिएका सबैको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न, उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षाको यथोचित प्रबन्ध मिलाउन पनि आदेशमा भनिएको छ । सामाजिक दूरी पालन गरेर लामखुट्टेलगायतबाट हुन सक्ने संक्रमणबाट जोगाउन आवश्यक व्यवस्था गर्न र क्वारेन्टाइनको अवधिभर बसेकालाई निःशुल्क खानाको व्यवस्था गर्न पनि आदेश दिइएको छ ।

आदेशमा आधारभूत स्वास्थ्य सेवा संविधानमा नै मौलिक हकका रूपमा रही निःशुल्क भएको, सरुवा रोगलाई आधारभूत सेवाभित्र पारी निःशुल्क रहने भन्ने कुरा जनस्वास्थ्य सेवा ऐनमा उल्लेख भएको र कोरोना भाइरस सरुवा रोग भएको हुँदा अत्यावश्यक सिटामोललगायतका औषधिहरू उपलब्ध गराउन भनिएको छ । साथै, मास्क र चिकित्सकीय मास्कहरू गुणस्तरीय ह्यान्ड सेनिटाइजर निःशुल्क रूपमा आवश्यक पर्ने व्यक्तिलाई अविलम्ब उपलब्ध गर्न आदेशमा भनिएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाकालमा जुठोचोखो

लीला लुइँटेल

कोरोना सङ्क्रमणको यो बेला अधिकांश देशले हात धुने, हात नमिलाउने, अँगालो नहाल्ने जस्ता सन्देश दिइरहेका छन् । ‘बाजेले घिउ खाए, मेरो हात सुँघ्सुँघ्’ भन्ने उखानमा रमाउने हामीलाई यस्ता सूचनाले हाम्रा राम्रा प्रचलनको महत्त्वबोध गराइदिएका छन् ।

पश्चिमाहरूले अहिले अनुसन्धान गरेर निकालेका कतिपय निष्कर्ष हाम्रा पुर्खाले जीवनशैली बनाएका थिए । हाम्रा पुर्खाले यस्ता कुरा वस्तुगत रूपमा नभनी पापसँग जोडिदिए । पापसँग जोडिदिएपछि व्यक्ति सतर्क हुन्छ भन्ने दृष्टिले यसमा काम गरेको हुनसक्छ । पश्चिमाहरूले ठूलो जनबल, धनबल र समय खर्चेर निकै पछि निकालेका त्यस्ता निष्कर्ष जीवनशैलीकै रूपमा हामीमा समाहित भइसकेका थिए । हाम्रो परम्परा कति परिष्कृत रहेछ, यसबाट पुष्टि हुन्छ ।

टीभीमा पाककलासम्बन्धी कार्यक्रममा भान्छेहरूले पकाउँदा-पकाउँदैको भाँडाबाट डाडुबाटै चाखी बाँकी त्यहीँ हालिदिने गर्छन् । युरोप भ्रमणताका मलाई रेस्टुरेन्टहरूमा खाजा खान पस्दा भान्छेहरूले चाखेका यस्ता दृश्य सम्झेर दिगमिग लाग्ने गर्थ्यो, तर त्यहाँ बाध्यता थियो । अचेल जन्मदिन, चाडपर्व र अन्य शुभकार्यमा केक काट्नु हाम्रा लागि अनिवार्यजस्तै भइसकेको छ । केकको टुक्रा जुठोचोखोको ख्याल नगरी क्रमशः सबैले खाने-खुवाउने पश्चिमाहरूको चलन अब हाम्रै भइसकेको छ ।

जुठोचोखोका सन्दर्भमा हाम्रा पुर्खा जति सचेत थिए, त्यति पश्चिमा समाज छैन । उताका केटाकेटीको त कुरै छोडौं, कतिपय पाका व्यक्तिलाई समेत जुठोबारे बोधै नभएको पाइन्छ । हात मिलाउँदा, आम्नेसाम्ने हुँदा सर्ने रोग जुठो खानेकुराका माध्यमबाट सर्ने सम्भवाना बढी हुनेमा दुई मत नहोला । जुठोचोखोको थितिलाई वैज्ञानिक आधार दिएर पुष्टि गरिरहनुपर्ने आवश्यकता पनि छैन । यसैलाई ध्यानमा राखेर हाम्रा पुर्खाले जुठोचोखोको अवधारणा ल्याएका हुन् । अझ हाम्रो भान्छा र खानपानमा पालना गरिने कडा अनुशासनको व्यावहारिक अभ्यास मेरो पुस्तासम्मले देखेभोगेकै हो ।

हाम्रो भान्छामा पाकेका सम्पूर्ण चीज अग्नि, पितृ, देवीदेवतालाई चढाएर मात्र खाने चलन चल्नुमा भान्छेले पकाउँदा-पकाउँदै खानेकुरा नचाखोस् भन्ने मनोविज्ञानले पनि काम गरेको हुन सक्छ । जथाभावी खानेकुरा चाखिदिँदा रोग फैलिन सक्ने यथार्थसँग परिचित भएरै यस्तो व्यवस्था गरिएको हुन सक्छ । खानेकुरा भान्छामै खाइसक्नुपर्ने, भान्छाबाहिर लगेको खानेकुरा बिटुलो मानिने कारणमा पनि सङ्क्रमणबाटै सचेत हुने दृष्टिले भूमिका खेलेको हो । खानेकुरा पकाउँदा हुन सक्ने लाटलुटप्रति विशेष ध्यान दिइने हाम्रो परम्परा अत्यन्त उन्नत एवं वैज्ञानिक देखिन्छ । कतिपय देशमा एउटै भाँडामा मिसाएर पकाएको मासु छानेर मांसाहारीलाई र सागसब्जी चाहिँ शाकाहारीलाई पस्किने प्रचलन छ । यसबाट खानेकुरा पकाउने तरिका, खानपानको अनुशासन एवं मिश्रणप्रति उनीहरू अहिलेसम्म पनि हाम्रा पुर्खाजति सचेत नभएको देखिन्छ । अर्कातिर, हाम्रो समाजमा जुठो भाँडा राखियो भने लक्ष्मी भाग्छिन् भन्ने जनविश्वास पनि छ । यस पदावलीभित्र निहित ध्वन्यात्मक अर्थ यहाँ व्याख्या गरिरहनुपर्दैन, सायद ।

यति स्पष्ट हुँदा पनि रोगको सङ्क्रमण फैलाउने प्रमुख कारकका रूपमा रहेको जुठोप्रति पश्चिमाहरू अझै सचेत देखिएका छैनन् । चिकित्सा विज्ञानले यत्रो विकास गरिसक्दा पनि यसबारे जनसमुदायलाई सतर्क गराउन नसक्नु आश्चर्यकै कुरा हो । जुठोचोखोको व्यवस्थालाई हाम्रा पुर्खाले अत्यन्त सूक्ष्म विश्लेषण गरी हाम्रो जीवनशैली नै बनाइदिएर त्यसप्रति सतर्क गराइदिएको व्यवस्थाले समाज विकासमा भएको हाम्रो प्रयास निकै उन्नत एवं परिष्कृत रहेको प्रमाणित हुन्छ । श्रुति परम्पराका रूपमा हस्तान्तरण हुँदै जाने प्रचलन पुराना हुँदैमा ती पूरै अवैज्ञानिक र अवस्तुवादी हुँदैनन् । तिनमा कतिपय अन्धविश्वास हुन्छन् भने कतिपय कल्याणकारी । यस्ता प्रचलनलाई अन्धविश्वास भनेर खिल्ली उडाउनुमा कतै बुझाइको कमी त कतै विवेक गुमाएर हुइयाँको पछि लागिएको हुनसक्छ । शिक्षित एवं चेतनशीलहरूले हाम्रा प्रचलनका वैज्ञानिकतालाई बेवास्ता गरिदिनाले ती अन्धविश्वास मानिइरहेका छन् ।

दैनिकीका रूपमा हाम्रा पूर्वजहरूले हस्तान्तरण गरिदिएका कतिपय प्रचलन अत्यन्त वैज्ञानिक र परिष्कृत छन् । भान्छामा जाँदा सफा लुगा लगाउने, बाहिरबाट आएपछि हातखुट््टा धोएर मात्र भित्र पस्ने, दैनिक नुहाउने, ध्यान तथा योग गर्ने, तुलसीको जल खाने, बाटाघाटामा पीपल रोप्ने, शौचालय जाँदा लगाएका लुगा अरू बेला नलगाउने चलन हाम्रो समाजमा विशेष गरी ब्राह्मण भनिएका जातिले अवलम्बन गरिएका हुनाले यस्ता क्रियाकलाप ब्राह्मणवादी र कर्मकाण्डी भएको आरोप खप्न पनि बाध्य छन् । गम्भीर भएर सोच्ने हो भने यस्ता प्रचलन कुनै स्थान एवं जातिका लागि मात्र नभई सिंगो मानवजातिकै लागि कल्याणकारी रहेको तथ्य हामीले बिर्सनु हुँदैन । यस्ता व्यावहारिक चालचलनको वैज्ञानिक पुष्टिका लागि ठूला सिद्धान्त पनि घोक्नुपर्दैन र प्रयोगशाला प्रमाणित पनि गर्नुपर्दैन । हाम्रा कुरा स्वयं बुझ्न नसकेर वा नचाहेर रुमलिरहेका छौं, उताकाले भनिदिएपछि मात्र विश्वास गर्न थाल्छौं ।

अहिले सम्पूर्ण विश्व त्रसित भएका बेला दैनिक व्यवहारमा प्रयोग हुने हाम्रा परम्परागत जीवनशैलीको महत्त्वबोध भएको छ । कतिपय प्रचलन वर्तमान परिवेशअनुरूप व्यावहारिक जीवनमा लागू गर्न केही कठिनजस्तो देखिए पनि अधिकांशतः जुनसुकै अवस्थामा पनि सहज अवलम्बन गर्न सकिने खालका छन् । यसर्थ पूर्वजले दिएका कतिपय सम्भव, व्यावहारिक एवं कल्याणकारी प्रचलनलाई पुनरुत्थान गरेर अवलम्बन गर्ने हो कि ?

प्रकाशित : जेष्ठ १९, २०७७ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×