स्थानीय सरकारले अहिले जहाँ खाली भवन र कोठा पायो, त्यहीं संक्रमितलाई राखिरहेका छन् । धेरै संक्रमित रहेका जिल्लामा साबिकका क्वारेन्टाइनस्थलकै कोठामा संक्रमितलाई राख्न थालिएको छ ।
बुटवल — दुई महिनाअघि प्रदेश सरकारले चारवटा कोरोना अस्पताल बनायो । रूपन्देहीको बुटवल र भैरहवा, दाङको बेलझुन्डी र बाँकेको खजुरामा आईसीयू र भेन्टिलेटर सुविधासहितका अस्पताल सञ्चालन गरेको छ । तिनमा करिब दुई सय शय्या छन् । सुविधा थप गर्न प्रदेश सरकारले प्रतिअस्पताल दुई/दुई करोड रुपैयाँ लगानी गरेको छ ।
वैशाख तेस्रो साता बाँकेको नेपालगन्ज र रूपन्देहीको कोटहीमाईमा एक/एक जनामा संक्रमण पुष्टि भएको तीन साता नबित्दै कोरोना अस्पताल भरिभराउ भए । त्यसपछि संक्रमितको व्यवस्थापन र उपचारमा समस्या आएको हो । प्रदेशले स्थानीय सरकारलाई खाली भवन खोजेर आइसोलेसन सेन्टर बनाउन निर्देशन दिएको थियो । एक साताअघि स्थानीय तहमै आइसोलेसन सेन्टर माग गर्दै बाँकेको नरैनापुरमा स्थानीयले प्रदर्शन गरेर ११ जना संक्रमित भगाएका थिए ।
नरैनापुरमा अझै आइसोलेसन सेन्टर तयार भइसकेको छैन । आइसोलेसन बनाउन नेपालगन्जबाट लगिएका बेड अलपत्र छन् । समस्या बढेपछि प्रदेश सरकारले आइसोलेसन सेन्टर बनाउन स्थानीय सरकारसित समन्वयका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिएको छ । सामाजिक विकास मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । तर आइसोलेसन सेन्टर निर्माणले गति लिएको छैन । संक्रमितको संख्या दैनिक बढिरहेको छ ।
व्यवस्थापनमा समस्या भएपछि सम्भावित संक्रमित रहेको स्थानका क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब परीक्षणमा ढिलाइ भइरहेको आरोप लाग्न थालेको छ । स्थानीय सरकारले अहिले जहाँ खाली भवन र कोठा पायो, त्यहीं संक्रमितलाई आइसोलेसनमा राखिरहेका छन् । धेरै संक्रमित रहेका जिल्लामा साबिकका क्वारेन्टाइन स्थलमै कोठा खोजेर संक्रमितलाई राख्न थालिएको छ ।
बाँकेमा विद्यालयका बेन्च जोडेर आइसोलेनमा बेड बनाइएको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र नेपालगन्जस्थित लायन्स डेन्टल अस्पताल भरिएपछि कोहलपुरको पिपरीस्थित कृषि विकास बैंकको तालिम हलमा ४१ जना राखिएको छ । त्यहाँ पनि भरिएपछि स्थानीय तहले पंखा र बत्ती नभएका कोठामा राख्न थालेका छन् ।
चिकित्सकका अनुसार स्थानीय तहमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट संक्रमितलाई सेवा दिनुपर्ने अवस्था आएको छ । ‘भारतमा महामारी देखिनासाथ यहाँ क्वारेन्टाइन र आइसोलेसन बनाउनुपर्थ्यो,’ भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले भने, ‘अब अस्पतालले थेग्न सक्दैन । गाउँका स्वास्थ्य केन्द्रबाट सेवा दिनुपर्ने बेला आइसक्यो ।’
अन्य बिरामीलाई सेवा दिएजस्तै संक्रमितलाई पनि स्वास्थ्य केन्द्रबाट सेवा दिनुपर्ने उनले बताए । ‘भाइरस हाम्रो जीवनको हिस्सा बनिसक्यो । यसबाट भाग्न सक्दैनौं तर पालिकामा आइसोलेसन छैनन््,’ उनले भने, ‘स्वास्थ्यकर्मीलाई तालिम दिएर स्वास्थ्य केन्द्रमै उपचार गर्न सकिन्छ ।’
डुडुवा गाउँपालिकाले जस्तापाताले छाएको विद्यालयमा आइसोलेसन सेन्टर बनाएको छ । बिजुली छैन । गाउँपालिकाको शाहपुर्वास्थित विद्यालयमा आठ जना संक्रमित छन् । नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले प्रदेश सरकारले बेलैमा आइसोलेसन वार्ड बनाउने अधिकार नदिएकाले ढिलाइ भएको बताइन् । ‘अधिकार क्षेत्रलाई लिएर स्थानीय सरकार अन्योलमा परे,’ उनले भनिन्, ‘त्यसैले आइसोलेसन बनाउन नसकिएको हो ।’ बाँकेमा आइतबार अपराह्नसम्म संक्रमितको संख्या १ सय ८९ पुगेको छ ।
नाम मात्रका आइसोलेसन
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा ५१ जना संक्रमित छन् । त्यहाँ रहेको एउटा एम्बुलेन्सलाई संक्रमित बोकेर आइसोलेसन सेन्टरमा पुर्याउन भ्याइनभ्याइ छ । त्यसैले सबै संक्रमित सेन्टरमा आइसकेका छैनन् । शनिबारसम्म १५ जना आइसोलेसनमा थिए । उनीहरू छरिएर रहेका छन् । अधिकांश क्वारेन्टाइनमै छन् । ‘आइतबार अन्त नजाने गरी एम्बुलेन्स कब्जा गरेका छौं,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवालले भने, ‘एक दिनमा १५ जनाभन्दा ओसार्न सकेनौं ।’ उनका अनुसार १७ जना क्वारेन्टाइनमै छन् । संक्रमितलाई ठाउँ सार्न खोज्दा गाउँले झगडा गर्छन् । ‘कुरा बुझ्दैनन्,’ उनले भने, ‘यो ठूलो समस्या छ ।’
दैलेखको भैरवी गाउँपालिकाले आइसोलेसन बनाएको भैंसीगोठ, जहाँ आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएका चार स्थानीयलाई राखिएको छ ।
संक्रमित क्वारेन्टाइनमै बस्दा सावधानी हुँदैन । संक्रमण फैलिने सम्भावना हुन्छ । यशोधरा गाउँपालिकामा एक सय संक्रमित छन् । त्यहाँको आइसोलेसनमा ७४ बेड छन् । त्यो पनि दिनरात खटिएर शनिबार तयार भएको हो । शनिबार ४४ जना राखियो । आइतबार १२ जना थपिए । गाउँपालिकामा कतै ठूला भवन छैनन् । भवन अभावमा दुईवटा बगैंचालाई क्वारेन्टाइन बनाइएको छ । ‘प्रशासनले बनाऊ मात्रै भन्छ,’ गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले भने, ‘कहाँ बनाउने ठाउँ त हुनुपर्यो ।’
जिल्लामा महाराजगन्ज र यशोधरा हटस्पट हुन् । भारतसँग सीमा जोडिएका यी गाउँमा दैनिक संक्रमित थपिन्छन् तर आइसोलेसनका लागि खाली भवन छैन । महाराजगन्जले जानकी उमाविको नयाँ भवनमा आइसोलेसन सेन्टर बनाइएको छ । त्यहाँ १ सय ६९ बेड छन् । भुइँमा दरी ओछ्याइएको छ । त्यसमाथि गद्दा र सिरानी छन् । सँगै बाल्टी, जग र साबुन राखिएको छ । पर्याप्त शौचालय छैनन् । ह्यान्ड पम्प अभाव छ । नुहाउने ठाउँ छैन । पंखा घुम्दैनन् ।
नगरप्रमुख अब्दुलकलाम खाँले आधारभूत उपकरण नरहेको बताए । ‘सामान्य हेरचाह गरिन्छ,’ उनले भने, ‘बजेट अभावमा धन्न यति गर्न सकिएको छ ।’ संघ र प्रदेशले सहयोग नगरेको उनले दुखेसो पोखे । यशोधरा गाउँपालिकाले अनिरुद्ध पब्लिक माविलाई आइसोलेसन सेन्टर बनाएको छ । वैशाख तेस्रो सातादेखि त्यहाँ क्वारेन्टाइन थियो । जेठ तेस्रो साता पुग्दा त्यसैलाई सरसफाइ आइसोलेसन सेन्टर बनाइयो । त्यहाँ एउटा कोठमा चारदेखि पाँच बेड राखिएको छ । संक्रमित त्यहीं सुतेका छन् । प्राथमिकबाहेक उपचार हुँदैन ।
संक्रमित बढेपछि कपिलवस्तुको कोरोना भाइरस क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले जेठ ९ मा १० चिकित्सक र २० स्टाफ नर्स माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेको थियो । तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ‘प्रदेश र संघीय सरकारलाई दैनिक औपचारिक/अनौपचारिक रूपमा घचघच्याइरहेका छौं,’ उनले भने । आइतबार पाँच संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ७० पुगेको छ ।
‘लक्षण नदेखिए आइसोलेसनमै’
प्रदेश सरकारले संक्रमण पुष्टि भए पनि कोरोनाका लक्षण नदेखिएकालाई आइसोलेसन सेन्टरमा व्यवस्थापन थालेको हो । मुख्यमन्त्री शंकर पोखरेलले यति धेरै संक्रमण देखिएला भन्ने अनुमान नहुँदा व्यवस्थापनमा समस्या भएको बताए । ‘त्यसलाई व्यवस्थापन गर्न कोरोना लक्षण देखिएका र रोगले थलिएका बिरामीलाई मात्र कोरोना विशेष अस्पतालमा राख्न थालेका हौं,’ उनले भने, ‘कोरोना पुष्टि भएका तर लक्षण नदेखिएका वा अन्य रोग नभएकालाई आइसोलेसन सेन्टरमा व्यवस्थापन थालिएको हो ।’
आगामी एक साताभित्र प्रदेशका १२ जिल्लामा १ हजार ५ सय बेड क्षमताका आइसोलेसन सेन्टर तयार हुने उनले बताए । स्वास्थ्यकर्मीहरूको निगरानीमा राखेर पोषणयुक्त खाना र सुरक्षित आहारविहार सिकाइनेछ । यस अवधिमा कोरोना अस्पतालको क्षमता बढाएर चार सय बेड पुर्याइनेछ । लक्षण देखिएका गम्भीर बिरामीलाई अस्पतालमा राखिनेछ । ‘हामी सुरक्षित, छिटोछरितो र मितव्ययी हुन खोजेका छौं,’ मुख्यमन्त्री पोखरेलले भने, ‘संक्रमण हुनासाथ ज्यान नै जाने होइन । संक्रमित अस्पतालमै पुर्याउनुपर्ने पनि हुन्न । घरमा सुरक्षित हुन नसक्ने भएकाले सबै संक्रमितलाई आइसोलेसन सेन्टरमा ल्याएर सुरक्षित गर्न, रोगमुक्त पार्न र रोग अरूमा सार्न नदिने प्रयत्न हाम्रो रहेको छ ।’
बुटवल कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले अस्पताल वा आइसोलेसन सेन्टरमा आउन समस्या भएका संक्रमितहरू घरमै सुरक्षित तरिकाले बसे पनि कोरोना संक्रमणलाई हटाउन सकिने बताए । ‘सुरक्षित तरिकाले बस्न सके अस्पताल आउनै पर्छ भन्ने छैन,’ उनले भने, ‘चर्को ज्वरो आए र श्वासप्रश्वासमा गाह्रो भए मात्र संक्रमितलाई अस्पताल ल्याउनुपर्छ ।’
महिला क्वारेन्टाइन
बर्दिया सदरमुकाम गुलरियामा महिलाका लागि मात्रै क्वारेन्टाइन निर्माण गरिएको छ । नगरपालिकाले गुलरियाको कोटही माविमा २५ बेड क्षमताको क्वारेन्टाइन बनाएको हो । आइतबारबाट सञ्चालनमा आएको उक्त क्वारेन्टाइनमा अहिले पाँच जना रहेका छन् । सबै भारतबाट आएका हुन् । क्वारेन्टाइन सुरक्षाका लागि प्रहरी र स्वास्थ्यकर्मी सबै महिला परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । महिलाका लागि छुट्टै नमुना क्वारेन्टाइन निर्माण भएको उनले जनाए । महिलाको संख्या बढ्दै गएपछि अन्य पालिकामा पनि महिला क्वारेन्टाइन निर्माण गरिने जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए । जिल्लाका १ सय ४४ क्वारेन्टाइनमा महिला र पुरुष गरी ३ हजार ९ सय १८ जना रहेका छन् ।
-मनोज पौडेल/कपिलवस्तु, ठाकुरसिंह थारू/बाँके र अमृता अनमोल/बुटवल
