नवलपरासी पूर्वमा थप ३ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशका विभिन्न जिल्लाका १६ जनामा डेंगु पनि देखियो

जेष्ठ १९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नवलपरासी(बर्दघाट सुस्ता पूर्व) का थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कावासोती घर भई त्यहीँको क्वारेन्टाइनमा बसेका २२ र ३६ वर्षीय पुरुष तथा विनयत्रिवेणी गाउँपालिकाका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमणका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

योसँगै नवलपरासी पूर्वमा  संक्रमितको संख्या ८ पुगेको छ भने गण्डकी प्रदेशमा २७ पुगेको छ । संक्रमितहरुलाई जिल्ला अस्पताल लैजाने तयारी भइरहेको पनि निर्देशक शर्माले जानकारी दिए । 

डेंगु र स्क्रब टाइफसको संक्रमण

त्यस्तै निर्देशक शर्माका अनुसार म्याग्दीमा हालसम्म ३ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । त्यस्तै म्याग्दीमा ९, कास्कीमा ५, नवलपरासी(बर्दघाट सुस्ता पूर्व) मा १ र बाग्लुङमा १ गरी गण्डकी प्रदेशमा १६ जनामा डेंगु रोगको संक्रमण देखिएको निर्देशक शर्माले जानकारी दिएका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully