कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

नेपालमा 'साइलेन्ट कोरोना' !

नेपालमा आगामी दिनमा साइलेन्ट कोरोनामात्रै देखिन्छ भन्ने यकिन गर्न त सकिँदैन तर यस्तै अवस्था रहे विश्वका अरु देशमा देखिएझैं ठूलो मानवीय क्षति भने बेहोर्नुपर्ने छैन ।
शेरबहादुर पुन

बिहान उठ्नेबित्तिकै प्राय: हामी एकपटक सामाजिक सञ्जालभित्र पस्ने गर्दछौं । कोरोनाको समाचारमा आँखा नरोकिने सायदै कोही होला । चौबीस घन्टामा विश्वमा यति हजार संक्रमितको मृत्यु, यति संक्रमित भन्ने शीर्षकसहित भेन्टिलेटरमा राखिएका बिरामीको फोटो पढ्ने/हेर्ने बानी हामीमा परिसकेको छ ।

नेपालमा 'साइलेन्ट कोरोना' !

यसैको प्रभावले होला नेपालीहरुमा संक्रमण हुनेबित्तिकै मरिन्छ भन्ने भ्रम रहेको पनि देखिन्छ । यो बिरामीसँगको प्रत्यक्ष संवादमा रहँदा उनीहरुले व्यक्त गरेको अनुभूतिबाट नै थाहा हुन्छ । तर नेपालमा संक्रमितको संख्या हजारबाट माथि उकालो लाग्दै गर्दा ७ जनाको मृत्यु भएको बाहेक लगभग बाँकीमा लक्षण नै नदेखिएको अवस्था छ । अर्थात् उनीहरुमा 'साइलेन्ट कोरोना' भएको देखिन्छ ।

साइलेन्ट कोरोनाबारे गत मार्चमा नै विश्व स्वस्थ संगठनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । उसले यस्तो अवस्था अति दुर्लभ हुन सक्ने जनाएको थियो । तर केही दिनअगाडि अस्ट्रेलियन वैज्ञानिकहरुले ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित गरेको लेखमा एक क्रुज जहाजमा ८१ प्रतिशत संक्रमित यात्रीहरुमा लक्षणविहीन कोरोना अथवा साइलेन्ट कोरोना देखिएको उल्लेख गरेका छन् । यसको कारण के होला भनेर अहिले नै वैज्ञानिकहरुले ठोस उत्तर दिन नसके/नसक्ने भए पनि यी व्यक्तिमा कोभिड-१९ विरुद्ध रोग प्रतिरोधात्मक क्षमता हुन सक्नेमा केही वैज्ञानिकको मत भने पाइन्छ ।

यदि त्यस्तो हो भने नेपालीमा देखिएको साइलेन्ट कोरोना पनि यसैको कारणले अर्थात् कोभिड-१९ विरुद्ध रोग प्रतिरोधात्मक क्षमताको कारणले हो त ? यो लेखकले यसबारेमा यस्तै सम्भावना पहिलेदेखि नै व्यक्त गर्दै आएको भए तापनि नेपालमा धेरै विज्ञहरुको यसमा विमति राखेको पाइन्छ । आगामी दिनमा हुने अनुसन्धानले यो लेखकको मत ठिक थियो वा अरु विज्ञहरुको भन्ने नतिजा पक्कै आऊला । साइलेन्ट कोरोनाको कारण पत्ता लगाउन सके कोरोनाबाट हुने मृत्युको सम्भावनालाई रोक्न सकिने उपायसमेत पत्ता लगाउने सम्भावना रहन्छ । यो नेपालका लागि सुनौलो अवसर पनि हुन सक्छ।

साइलेन्ट कोरोना पत्ता लगाउन कठिन हुनेछ । हाल नेपालमा देखिँदै आएका कोरोना संक्रमितहरु देश बाहिरबाट आइरहेकोमा परीक्षण गर्दै जाँदा पत्ता लाग्दै गएका हुन् । यी अधिकांश संक्रमित स्वास्थ्य समस्या लिएर स्वास्थ केन्द्रहरुसम्म आउलान् भनेर बसेको भए यिनीहरुमा कोरोना भाइरस कहिले पनि पत्ता लाग्ने थिएन होला । र, हालको कोरोना संक्रमितको संख्यामा कम्तीमा ९५ प्रतिशतले कमी भएको तथ्यांक पढ्दै गरेको हुन्थ्यौं होला । तर यी लक्षणविहीन साइलेन्ट कोरोना भएकाले अरुलाई भाइरस सार्न सक्ने वैज्ञानिक पुष्टि भइसकेको र यस्तो अवस्था नेपालमा पनि देखिरहेकाले संक्रमणलाई रोक्ने/लड्ने योजनाको लागि यो ठूलो चुनौती हुनेछ ।

यस्तो अवस्था भएको भए धेरैअगाडि नै कोरोना भाइरस समुदायमा फैलिसकेको हुन्थ्यो । केही दिनअघि चीनको वुहानमा केही व्यक्तिमा संक्रमण देखिन सुरु हुँदा सो सहरको सबैलाई कोरोना परीक्षण गर्ने घोषणा गरिएको थियो । यसको मुख्य कारण भनेको साइलेन्ट कोरोना संक्रमितहरु भएको अनुमान गर्नु हो । जुन भित्रभित्रै भुसको आगोसरह फैलन सक्ने भन्ने हो । कोरोना महामारीको कारण केही महिनाअघि सो सहरले ठूलो मानवीय र आर्थिक क्षति बेहोरिसकेको छ, जुन सो सहरले फेरि दोहोर्‍याउन चाहँदैन भन्ने बुझिन्छ । तर नेपालमा सबै नागरिकमा कोरोना परीक्षण गर्न व्यावहारिक तथा आर्थिक रुपले सहज भने देखिँदैन ।

विश्वमा साइलेन्ट कोरोनाका कारण मृत्यु भएको यथेष्ट प्रमाण भने पाइँदैन । नेपालमा पनि माथि उल्लेख गरेझैं अधिकांश लक्षणविहीन साइलेन्ट कोरोना संक्रमितहरु थिए/छन् र उनीहरु अस्पतालबाट डिस्चार्ज भएपछि कसैलाई पनि जटिल स्वास्थ समस्या देखिएको वा मृत्यु भएको प्रमाण छैन । यो साइलेन्ट कोरोना संक्रमितहरुको लागि पक्कै पनि राम्रो संकेत भने मान्न सकिन्छ । कतिपयलाई त कुनै औषधि नै प्रयोग नगरी अस्पतालबाट डिस्चार्ज गरिएको भन्ने कुरासमेत आएका थिए । नेपालमा आगामी दिनमा साइलेन्ट कोरोनामात्रै देखिन्छ भन्ने यकिन त गर्न सकिँदैन तर यस्तै रहेमा भने नेपालले विश्वको अरु देशहरुमा देखेझैं ठूलो मानवीय क्षति भने बेहोर्नुपर्ने छैन ।

साइलेन्ट कोरोना संक्रमित पत्ता लगाउने मुख्य उपाय भनेको टेस्टको दायरा बढाउँदै लैजानु नै हो । युवामा कोरोनाले खासै ठूलो स्वास्थ्य समस्या ल्याएको वा मृत्यु गराएको देखिँदैन तर युवाहरु लक्षणविहीन संक्रमित भएर थाहा नपाई घरका ज्येष्ठ नागरिकलाई संक्रमित गराउन भने सक्नेछन् । नेपालको तथ्यांकले सबैभन्दा बढी संक्रमित २० देखि ४० वर्षका युवाहरुमा भएको देखाएको छ । तर युवा संक्रमित भए एक प्रतिशतभन्दा पनि कम मृत्युदर भएको तथ्यांकले देखाउँछ भने सबैभन्दा धेरै मृत्यु संक्रमित वृद्धहरुमा हुने गरेको छ । नेपालमा हालसम्मको तथ्यांकले न्यून संख्यामा मात्र वृद्धहरु संक्रमित भएको देखिन्छ । तर समुदायमा कोरोना फैलिएमा संक्रमित वृद्धहरुको संख्या बढ्न सक्नेछ र सोही अनुपातमा जटिल समस्या देखिनेहरुको संख्या बढ्ने पनि प्रबल सम्भावना हुनेछ। तसर्थ साइलेन्ट कोरोना संक्रमित पत्ता लगाउनु भनेको कोरोना महामारीको फैलने रफ्तारलाई पनि रोक्नु हो भनेर बुझ्नुपर्दछ ।

कोभिड-१९ महामारीको सुरुवाती अवस्थामा सर्वसाधारणबीच कोरोना भाइरसको लक्षणबारे व्यापक प्रचार भएको थियो । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र रुघाखोकीलाई कोभिड-१९ को मुख्य लक्षण भनिएको थियो । तर चीनको वुहानबाट सुरु भएको ५ महिना बित्दै गर्दा कोरोना भाइरसले देखाउने लक्षणमा पनि विविधता देखिएको छ । युरोपतिर बच्चाहरुमा दुर्लभ लक्षण देखिएको र अमेरिकामा रगत जम्ने समस्याले धेरैको ज्यान गएको अनुसन्धान लेखहरु प्रकशित भएका छन् ।

पछिल्लो समय कोरोना संक्रमितमा स्वाद र सुँघ्ने क्षमतामा पनि कमी आउने गरेको देखाएको थियो र हाल यसलाई पनि कोभिड-१९ को लक्षणमा थपेको पाइन्छ । तसर्थ वुहानमा सुरुमा देखिएका लक्षणको आधारमा मात्र कोभिड-१९ को शंका गर्ने अवस्था भने अहिले छैन । नेपालमा हालसम्म चीन, युरोप र अमेरिकामा देखिएको जस्तो लक्षण वा चिह्न नदेखिएको भए तापनि ती सबै लक्षण/अवस्थाहरु कोभिड-१९ शंकास्पद बिरामीमा छ वा छैन भनेर चनाखो हुनुपर्ने भने देखिन्छ । तर पनि नेपालमा हालसम्म देखिँदै आएको साइलेन्ट कोरोना सबैको लागि जिज्ञासाको विषय भने बनेको छ ।

हालसम्मको अनुसन्धानको तथ्यांकलाई आधार मान्ने हो भने ८१ प्रतिशतमा सामान्य लक्षणहरु देखिने, १४ प्रतिशतमा कडा लक्षण देखिने र ५ प्रतिशत संक्रमित क्रिटिकल अवस्थामा पुग्ने भन्ने हो । तर नेपालको अवस्था यो तथ्यांकसँग पटक्कै मेल खाँदैन । नेपालमा अधिकांश संक्रमित साइलेन्ट कोरोना नै भएको देखिन्छन् । एक हजारभन्दा बढी संक्रमित देखिनु भनेको पनि कम संख्या मान्न सकिँदैन । तसर्थ नेपालमा कोरोनाले पारेको यथार्थ प्रभावको तथ्यमा आधारित भएर आगामी रणनीति बनाउँदा कोरोना नियन्त्रण बढी प्रभाकारी पो हुने हो कि !

-लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?