भोलि चीनबाट करिब २८ टन स्वास्थ्य सामग्री आइपुग्छ : सेना

स्वदेश र विदेश गरी ७ नेपाली सैनिक कोरोना भाइरस संक्रमित
जगदीश्वर पाण्डे

काठमाडौँ — सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार काठमाडौं ल्याउने भएको छ । त्यसका लागि बुधबार बेलुकी चीनको गोन्जाउको लागि काठमाडौंबाट जहाज उडिसकेको छ । सेनाले समग्रमा तेस्रो लट र जहाजबाट दोस्रो लटमा सामग्री ल्याउन लागेको हो ।

भोलि चीनबाट करिब २८ टन स्वास्थ्य सामग्री आइपुग्छ : सेना

सेनाले पहिलो लटमा स्थलमार्ग तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो । तेस्रो लटमा करिब २८ टन सामग्री आउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

मन्त्रीपरिषद्को चैत १६ गतेको निर्णय अनुसार स्थापना भएको कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेका कार्यहरुका बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत उनले सो कुरा बताएका हुन् ।

त्यसपछि बाँकि सामग्री भने स्थलमार्गबाटै आउने जनकारी समेत प्रवक्ता पाण्डेले दिए । सेनाले करिब दुई अर्ब २६ करोडमा चीनबाट ६७ थरी स्वास्थ्यसामाग्री खरिद गरेको थियो । त्यसको तौल करिब २ सय ४३ टन रहेको छ । बाँकी सामग्री क्रमशः आइरहने पाण्डेले बताए । उनका अनुसार केही सामग्री तातापानी नाकामा आएर भन्सार जाँचमा पनि रहेका छन् । ती सामग्रीहरुलाई काठमाडौं ल्याएपछि विमानस्थलको १४ बाहिनीको अड्डा भित्र रहेको राष्ट्रिय वेयरहाउसमा सुरक्षित गरि राखिने सेनाले जनाएको छ ।

एक लाख बढीले गरे लकडाउन उल्लंघन
सरकारले दुई महिनादेखि गरेको लकडाउनको उलंघन गर्नेको संख्या एक लाख ६३ हजार ४ सय ६० जना पुगेको छ । सीसीएमसीको तथ्यांक अनुसार ९३ हजार ९ सय २२ सवारी साधनहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । सीसीएमसीको ‘शान्ति सुरक्षा क्लस्टर’ अनुसार लकडाउनलाई प्रभावकारी बनाउन उक्त काम भएको हो ।

लकडाउनलाई प्रभावकारी बनाउन सीसीएमसीले सेनाबाट ७ हजार ५ सय ५०, नेपाल प्रहरीबाट ४६ हजार ८ सय, एपीएफबाट ३१ हजार एक सय ९० र राष्ट्रिय अनुसन्धान विभागबाट १९ सय ९७ गरि करिब ८७ हजार ५ सय ७२ सुरक्षाकर्मी परिचालन गरिरहेको छ ।

सीसीएमसीले सीमा क्षेत्रमा १२ सय १३ स्थानमा चेक प्वाइट राख्दै नेपाल भित्रिने व्यक्तिहरुमाथि निगरानी गरेको छ । सीमामा अन्य २२ हजार ६ सय १६ जनशक्ति अहिले खटिएको सीसीएमसीको तथ्यांक छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भारतबाट आउने नागरिकहरुलाई सहज व्यवस्थापन गर्नको लागि क्वारेन्टानमा रहेका मान्छेहरुको नाम, ठेगाना संकलन गर्ने काम भइरहेको बताए ।

१२ हजार एक सय ३१ ओटा स्वाव संकलन
सीसीएमसीकै स्वास्थ्य सेवा तथा मेडिकल क्लस्टर अन्तरगत ट्रयाकिङ, ट्रेसिङ र टेस्टिङ गरिहेको छ । वैशाख २० देखि जेठ १३ सम्म सीसीएमसी मार्फत १२ हजार एक सय ३१ ओटा स्बाव संकलन गरेको छ । यस्तै, ३ हजार ५ सय ३७ ओटा आरडीटी परिक्षण गरेको छ ।

उक्त क्लस्टरले विभिन्न करिब दुई हजार जनालाई कोरोना भाइरस रोकथाम र नियन्त्रण सम्बन्धि प्रशिक्षण दिएको छ ।

८२ हजार ८ सय २८ जनालाई फोन
सीसीएमसीको सुचाना प्रविधि क्लस्टरले गत चैत १ गतेदेखि वैशाख २९ गतेसम्म नेपाल टेलिकमको २० हजार र एनसेलको ४४ हजार सिमकार्ड प्रयोग कर्तालाई कल गरि ट्रेस गर्ने काम गरेको छ । फोन गर्ने र प्राप्त भएको डाटाहरु संकलन गर्ने काम भइसकेको छ ।

त्यसमध्ये ८२ हजार ८ सय २८ जनालाई सम्पर्क गरिएकोमा ४२ हजार ७ सय १२ जनाले कल नउठाएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए । कल उठाएका ४० हजार एक सय १६ जनालाई उक्त क्लस्टरका कर्मचारीहरुले पछ्याउने काम गरिरहेका छन् । वैशाख २९ गते बाट फोन नउठाउने टोलीहरुलाई पनि फेरि कल गरिएको छ ।

जसमा ९ हजार एक सय २९ जनासँग सम्पर्क भएको छ । अहिलेसम्म एक सय ६५ जना विदेशबाट आएको र त्यस मध्ये एक सय १० जनालाई केहि समसया देखिएको छैन । यस्तै, वैशाख १ गतेबाट चालु अवस्थामा आएका सिम कार्डलाई फेरि पछ्याउने काम भइरहेको छ ।

‘अहिलेसम्म हामीले ३१ हजारलाई कल गरिसकेका छौं । सबै कल गरेको सूचना प्रदेशमा भएको सीसीएमसी र जिल्लास्तरीयमा भएको सीसीएमसीलाई तथ्यांक उपलब्ध गराएका छौं । र, त्यहिँबाट नै सम्पर्क गर्ने गरि काम गर्न भनेका छौं,’ प्रवक्ता पाण्डेले भने ।

सैनिक अस्पताललाई हब अस्पताल
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई हब अस्पतालको रुपमा तयार पारिएको सैनिक प्रवक्ता पाण्डेले बताए । जहाँ आईसीयू, आइसोलेसनलगायत गरि दुई सय ओटा बेड तयार पारिएको छ । यस्तै, सेनाले विभिन्न प्रदेश सरकारहरुको अनुरोधमा ४४ स्थानमा क्वारेन्टानमा र दुई स्थानमा आइसोलेसनको गरि जम्मा ५ सय २३ जना परिचालन गरेको छ ।

‘यस्तै, १० जिल्लाको १७ स्थानहरुमा किटनाशक औषधि छर्कने काम गरेका छौं । राहत वितरण कार्य सात जिल्लाका एक सय ४५ स्थानमा सहयोग गरिरहेका छौं,’ पाण्डेले भने । सेनाले सचेतनामुलक कक्षा सञ्चालनमा चाहि १२ जिल्लाका २४ स्थानमा काम गरिरहेको छ । बिरामी ल्याउँदा र लाँदा गर्नुपर्ने तरिका, पीपीईको प्रयोग, बस्ने उपाय र सचेतनाका बारेमा सेनाले कक्षाहरु दिइरहेको हो ।

‘यसका अलावा हाम्रो २२ सय ९० स्वास्थ्य कर्मीहरु खटिएका छन् । क्वारेन्टाइनमा ६ सय ६, आइसोलेसनमा एक सय ४३, हेल्थ डेक्समा ६ सय १२, र्‍यापिड रेस्पोन्स टिममा ७ सय ४३ र मेसिन रिसिभिङ टिममा ३ सय ४१ सैनिकहरु परिचालिन भएका छन्,’ उनले भने ।

त्यस्तै, सेनाले राष्ट्रिय सेवा दलका छात्र–छात्राहरुलाई विभिन्न स्थानमा सचेतना मुलक काम गराइरहेको छ । प्रवक्ता पाण्डेले शव व्यवस्थापनमा पनि सेनाले आवश्यक सहयोग दिइरहेको बताए । ‘धुलिखेल र गुल्मीको केशमा पनि सेनाले काम गरेको थियो,’ उनले भने । सेनाले स्थानीय निकायको माग बमोजिम लकडाउनलाई प्रभावकारी बनाउन विभिन्न स्थानहरुमा चेक–प्वाईट, एरिया सिल्ड र अन्य रोकथामको काम गर्न पनि भूमिका खेलिरहेको उनले बताए । ‘त्यसैले बाँकेको नैनापुरमा सेना परिचालित भएको अवस्था छ,’ उनल थपे ।

७ सैनिक कोरोना भाइरस संक्रमित
नेपाली सेनाका हालसम्म ७ जना कोरोना भाइरसको संक्रमित भएका छन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार हालसम्म नेपाल भित्र ४ र अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ खटिएका ३ सैनिकहरु कोरोना भाइरसबाट संक्रमित भएका हुन् । केहि दिन अघि मध्यपूर्वी पृतनामा दुई जना र मंगलबार बारामा एक जना संक्रमित भएका थिए । यस्तै, प्रवक्ता पाण्डेले बुधबार शान्ति स्थापनार्थ मालीमा २ र दक्षिण सुडानमा १ जनालाई कोरोना भाइरस लागेको हो ।

सेनाले मध्यपूर्वी पृतनाका २ सय १९ सैनिकहरुको स्वाब संकलन गरि परिक्षण गरेको र त्यसको नतिजा आउन बाँकि छ । यस्तै, ३ सय ४० जनाको भने आरडीटी परिक्षण गर्ने योजना रहेको प्रवक्ता पाण्डेले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?