लकडाउन असर– रियालिटी शोहरु अपूरै

जेष्ठ १४, २०७७

रीना मोक्तान

काठमाडौँ — हालै अमेरिकन आइडलले पहिलोपटक घरै बसेर १८ औं सिजन सम्पन्न गर्‍यो । लकडाउनले गायन रियालिटी शो असम्भवझैं देखिन्थ्यो । तर, घरबाटै प्रतिस्पर्धीहरुलाई प्रस्तुति दिन लगाएर भए पनि आइडल समापन भयो । नेपालीहरुका लागि पनि यसपालीको आइडल केही विशेष रहृयो । नेपाली गायक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उपविजेता बने । 

अमेरिकन आइडलको नेपाली फ्रन्चाइज ‘नेपाल आइडल’ले पनि लकडाउनमा यसरी नै कार्यक्रम गर्ने सोचेको थियो । तर, प्राविधिक समस्या आउने देखिएपछि रिस्क लिन नखोजेको निर्देशक सुरेश पौडेल बताउाछन् । 

‘अमेरिकन आइडलझैं गर्न हाम्रो प्राविधिक पक्ष बलियो हुनुपर्थ्यो । सबै प्रतिस्पर्धीको घरमा उस्तै इन्टरनेट स्पीड नहुन सक्छ, त्यसैले जोखिम उठाएनौं,’ उनले भने, ‘ हाम्रो फ्रेन्चाइज दाताले पनि लकडाउन अवधिभर कार्यक्रम नगर्नु भन्यो ।’ 

लकडाउनको समय स्टूडियोमा दर्शक पनि राख्न भएन । प्रतिस्पर्धी, निर्णायक, दर्शक अनि क्यामेरा क्रुको भेला गराउँदा भीड त्यतिकै जम्मा हुने भयो । त्यसैले शो तत्कालका लागि रद्द गरेको सुरेश सुनाउँछन् । सरकारले लकडाउन घोषणा गर्नुअघि आइडलको दुईवटा श्रृङ्खला प्रसारण भए । लकडाउन घोषणा हुनासाथ प्रतिस्पर्धीहरुलाई आ–आफ्नो घर पुर्‍याइयो । 

वाइल्ड कार्डको प्रस्तुतिपछि आइडल रोकिएको हो । यो श्रृङ्खलापछि शीर्ष पाँच घोषणा गर्ने तयारी थियो । तर, लकडाउनले नतिजा बोकेर बस्नुपरेको सुरेशले सुनाए । ‘शीर्ष पाँचको नतिजा हामीसँग छ । अब कार्यक्रम सुरु भएसँगै नतिजा पनि सुनाउँछौं । अहिले १० जना प्रतिस्पर्धी हुनुहुन्छ,’ उनले भने । 

लकडाउन दुई महिना नाघिसक्यो । लामो समयदेखि रोकिएको आइडलको आगामी प्रसारण पनि लकडाउनमै निर्भर रहेको सुरेशको भनाई छ । लकडाउन खुकुलो भइहाले पनि तीन हप्तासम्म आइडल प्रसारण नगर्न फ्रेन्चाइजदाताले भनिसकेका छन् । 

‘लकडाउनअघि पनि हामीले सुरक्षामा धेरै ध्यान दिएका थियौं । स्टुडियो छिर्ने ढोकामा स्यानिटाइजर राखेका थियौं । स्टुडियो नै स्यानिटाइज गरेका थियौं,’ उनी भन्छन्, ‘अब हामी कार्यक्रम सुरु गरेपछि पनि त्यसलाई निरन्तरता दिन्छौं ।’

लकडाउनले त्यति असर नगरेको गायन रियालिटी हो, ‘द भ्वाइस अफ नेपाल’ । अहिले भ्वाइसको टिम तेस्रो संस्करणको तयारीमा छ । अबको एकाध महिनामा भ्वाइसको डिजिटल अडिसन सुरु हुने फ्रेन्चाइजका नेपाल निर्देशक लक्ष्मण पौड्याल बताउाछन् । ‘हेड अफिसले महामारी नहटे पनि कार्यक्रम प्रसारण गर्न मिल्ने खालको फर्म्याट बनाइसकेको छ । हामी रोक्दैनौं । हाम्रो डिजिटल अडिसन दुई महिनाभित्र सुरु हुन्छ,’ पौड्यालले भने, ‘हामी योजना बनाउँदैछौं ।’

अरुबेला  ‘द भ्वाइस अफ नेपाल’को लाइभ कार्यक्रममा दर्शकको पनि उपस्थिति हुने गर्थ्यो । अब भने महामारीलाई मध्यनजर गर्दै प्रसारण हुने कार्यक्रममा दर्शक नराख्ने उनीहरुको योजना छ । ‘लकडाउन रहिरहृयो भने दर्शकबिनै कार्यक्रम प्रसारण गर्छौं । कोच बस्ने मेच पनि सामाजिक दूरी कायम गर्ने खालकै छ,’ उनले भने, ‘हाम्रोमा अडिसन दिन लाइन बस्नु पर्दैन । मोबाइलबाटै गीत गाएर पठाउने हो । अमेरिकन आइडलले पनि केही परिवर्तन गरेर घरबाटै कार्यक्रम गर्‍यो । हाम्रो पनि परिवर्तन भइसकेको छ ।’

अहिले युकेमा ‘द भ्वाइस’ प्रसारण भइरहेको छ । अब आफूहरु बिनादर्शक नै फाइनल गर्न पनि तयार रहेको उनी बताउँछन् । ‘सरकारको नियम पनि केही बनिहाल्यो भने हामी फिनालेसम्म पनि दर्शक राख्दैनौं । अब कार्यक्रम सुरु भइहाले पनि सुरक्षातिर हाम्रो ध्यान हुन्छ । सरकारले जे–जे नियम बनाउाछ त्यही अनुरुप अगाडि बढ्छौं,’ उनले भने । 

दुई महिनाअघि मात्रै लक्ष्मणले अर्को रियालिटी सो ‘डान्सिङ विथ स्टार्स’ घोषणा गरेका थिए । १२ जना प्रतिस्पर्धी कलाकारसँगै निर्णायकमा अभिनेत्री गौरी मल्ल र कोरियोग्राफर/निर्देशक रेनशा बान्तवा राई फाइनल भइसकेका थिए । सबैलाई एडभान्स रकम पनि बुझाइसकेका थिए । लकडाउनको एक हप्ताअघि कार्यक्रम सुरु गर्ने तयारी भइसकेको थियो । नृत्य गर्ने कलाकारको जोडी पनि फाइनल नै भइसकेको थियो । स्टेजको काम सकेर कार्यक्रम सुरु गर्ने तयारी हुँदै गर्दा देशमा लकडाउन भयो ।

लकडाउनले यो शोलाई असर गरेको लक्ष्मण सुनाउँछन् । ‘एकदमै असर गर्‍यो । हाम्रो तयारी लगभग सकिसकेको थियो । अब लकडाउन खुलेको १५ दिनमा कार्यक्रम प्रसारण गरिहाल्छौं,’ उनले भने, ‘खोइ लकडाउन पो कहिले खुल्ने हो । यो कार्यक्रममा पनि दर्शक राख्ने/नराख्नेमा दोधारमा छन् उनीहरु । 

बीबीसी वर्ल्डवाइडले सुरु गरेको यो रियालिटी शो ‘झलक दिखलाजा’को नामले भारतमा चर्चित छ । समयमै कार्यक्रम सुरु गर्न नपाउँदा पनि आफूलाई भाग्यमानी ठान्छन् लक्ष्मण । ‘अरुको तुलनामा हामी भाग्यमानी छौं । हाम्रो कार्यक्रम सुरु भएर बीचमै रोक्नु परेको भए बिजोग हुन्थ्यो । सुरु गरौं भन्ने समयमा लकडाउन भयो,’ उनले भने, ‘अहिले हिाड्न दिइरहेकोछ, बरु भौतिक दूरी कायम गरेर सुरक्षामा ध्यान दिएर काम चाहिा नरोकेको भए यसरी घरमा बस्नु पर्थेन । कलाकारहरुले पनि अभ्यास गर्ने समय पाउँथे ।’

गायक रामकृष्ण ढकाल, आलोकश्री र अन्जु पन्त निर्णायक रहेको गायन रियालिटी सो ‘नेपाल स्टार’को सात श्रृङ्खला यो लकडाउनमा प्रसारण भइसक्यो । लकडाउन सुरु हुँदा शोको तेस्रो श्रृङ्लखा प्रसारणमा आएको कार्यक्रम निर्देशक रवि श्रेष्ठ बताउँछन् । 

लकडाउन अवधिभर पनि यो शोको प्रसारण रोकिएको छैन । रविका अनुसार श्रृंखला दोहोर्‍याएर भए पनि प्रसारण रोक्न दिइएको छैन । ‘नेपाली स्टार टिभीमा आइरहेको छ । हामीले लकडाउनमा देखाउन बन्द गरेको छैनौं । अडिसनको श्रृफ्ला पहिल्यै खिचिएको थियो,’ उनले भने । 

‘नेपाल स्टार’ले काठमाडौं अडिसन भने अहिले नै प्रसारण नगर्ने निर्णय गरेको छ । काठमाडौंको अडिसनका श्रृंखला पनि तयार छ । तर त्यसलाई भने लकडाउनपछि देखाउने सोचेका छन् । रवि भन्छन्, ‘काठमाडौंको अडिसन लकडाउनमा उपयुक्त हुँदैन भनेर नदेखाएको हो । लकडाउनपछि कार्यक्रमलाई निरन्तरता दिन काठमाडौंको अडिसन आवश्यक पर्छ ।’ 

अहिले नयाँ कार्यक्रमको सुटिङ गर्न नपाएको बताउँदै रविले आगामी कार्यक्रमको योजनामा लकडाउनले असर गरेको बताए । ‘सबैजनाको कार्यक्रम रोकिएको छ । हाम्रो पनि रोकियो,’ उनले भने, ‘हामीले जुन मितिमा कार्यक्रम फाइनल गर्ने सोचेका थियौं । त्यो समय पछाडि धकेलियो ।’

अनिश्चित लकडाउनले गर्दा ‘नेपाल स्टार’को नयाँ श्रृंखलाहरु कहिले बन्ने हो रवि अनुमान लगाउँदैनन् । उनलाई यत्ति थाहा छ, अवस्था सामान्य भइसकेपछि सात प्रदेशका प्रतिस्पर्धीलाई काठमाडौं बोलाउँदा सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्नेछ ।

यो कुनै फ्रन्चाइज नभई नेपालमै बनेको गायन रियालिटी सो हो । 

लकडाउन

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully