कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन अवधिमा हवाईमार्गबाट ८ जना नेपाल छिरे, सात हजार बढी बाहिरिए

सुरज कुँवर

काठमाडौँ — विगत ६५ दिनदेखि जारी लकडाउनको समयमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७ हजार २ सय ७६ जनाले देश छोडेका छन् भने मात्र ४ नेपाली र ४ विदेशी नेपाल प्रवेश गरेका छन् ।

लकडाउन अवधिमा हवाईमार्गबाट ८ जना नेपाल छिरे, सात हजार बढी बाहिरिए

लकडाउनका कारण संसारभर छरिएका लाखौं नेपालीले स्वदेश फर्किन चाहना राखेका छन् । तर, कोरोना भाइरसको माहामारी नियन्त्रण गर्न सरकारले विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई चैत ९ गतेदेखि लगाएको रोक जेठ मसान्तसम्म जारी रहने छ । यद्यपि यो ६५ दिनको लकडाउनको अवधिमा ८३ वटा अर्न्ताष्ट्रिय उडान भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, यी चार्टर उडानबाट फर्किने ७ हजार २ सय ७६ थिए भने अर्न्तराष्ट्रिय वायुसेवा चढेर ८ जना नेपाल छिरेका हुन् । यी ८ जना जापान र बंगलादेशबाट काठमाडौं आएका थिए ।

यिनमा ४ नेपाली र ४ विदेशी छन् । अध्यागमन विभागका महानिर्देशक रमेश केसीका अनुसार, नेपाल आउने ८ जनामध्ये चार विदेशीमा काठमाडौंस्थित जापानी राजदुत र उनकी पत्नी तथा काठमाडौंस्थित बंगलादेशकका राजदूतका पति र छोरा थिए ।

त्यस्तै नेपालीमा गृह मन्त्रालयका एक उपसचिव, परराष्ट्र मन्त्रालयका एक अधिकृत, शिक्षण अस्पताल महाराजगंजका एक जना चिकित्सक र बंगलादेशमा अध्ययरत एक बिरामी विद्यार्थी थिए । सरकारी कर्मचारी विदेश भम्रणमा रहेकैबेला लकडाउन शुरु भएपछि त्यतै रोकिएकाले मन्त्रालयको पहलमा नेपाल फर्काइएको हो । त्यस्तै बंगलादेशमा एमबीबीएस अध्यनरत नेपाली छात्रा गम्भिर बिरामी भएकाले उनलाई परिवारले चार्टर विमान पठाएर नेपाल ल्याएको हो ।

महानिर्देशक केसीका अनुसार, यी सबैलाई रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले नेपाल आउन अनुमति दिएको थियो ।

जापानबाट आउनेहरुलाई नेपाल वायुसेवा निगमको चार्टर विमानले ल्याइदिएको थियो भने बंगलादेशबाट दुई बंगलादेशी नागरिक तथा एक नेपाली विद्यार्थीलाई बुद्ध एयरको चार्टर उडानले ल्याएको थियो ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ९ गतेदेखी अन्तर्राष्ट्रिय उडान र नेपाल प्रवेश गर्न रोक लगाएको छ । चैत ११ गतेदेखि नेपालले लकडाउन शुरु गरेको थियो । यो अवधिमा सरकारले ६ पटक निर्णय गर्दै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान रोक्न निर्णय गरेको छ ।

जस्मा ०७६ चैत ९ देखी १८, चैत १९ देखी ०७७ बैसाख ३, बैसाख ४ देखी बैसाख १८, बैसाख १९ देखी जेठ २, जेठ ३ देखी जेठ १८ र जेठ १९ देखी जेठ ३२ सम्म गरी ६ पटक उडान रोक्न मन्त्रीपरिषद र नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले निर्णय गरेका हुन ।

त्यसैगरी यो अवधिमा दुई जना नेपाली नागरिकको शव काठमाडौं ल्याइएको छ । मृतक दुवै नेपाली सेनामा कार्यरत थिए । दुई मध्ये एक सुडानमा हृदयघातबाट मृत्यु हुने काठमाडौंका लेफ्टीनेन्ट कर्णेल रिदेश बिष्ट थिए भने अर्का लिबियामा हृदयघातकै कारण मृत्यु हुने झापा घर भएका जमदार थिए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?