भुल्केमा संक्रमण पुष्टि भएका ३२ मध्ये २७ जना निको भएर घर फर्किए

डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना संक्रमण पुष्टि भएका ३२ मध्ये २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

भुल्केमा संक्रमण पुष्टि भएका ३२ मध्ये २७ जना निको भएर घर फर्किए

भुल्केमा संक्रमित ३२ मध्ये १२ भारतीय, ४ विराटनगर र अन्य १६ जना भुल्केका स्थानीय हुन् । अर्का एक जना सञ्चारकर्मीलाई गाइघाटमा संक्रमण देखिएको थियो ।

संक्रमण देखापरेका २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । फर्कनेमध्ये १२ जना भुल्केका हुन् । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा संक्रमण नदेखिएपछि उनीहरु विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज गरिएको हो ।

वैशाख ५ गते पहिलो पटक भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका १२ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता स्थानीय प्रशासनले भुल्के क्षेत्र कोरोनाको ‘इपिसेन्टर’ बनेको भन्दै सिल गरेको थियो । अब अवस्था नियन्त्रणमा आएको भन्दै भुल्केमा आउजाउ खुला गरिएको छ ।

नेपाली सेना,सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेराभित्र रहेको भुल्केमा लगाइएको सिल हटाइएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताए । ‘संक्रमण नियन्त्रणमा आएकाले सिल हटाइयो,’ उनले भने, ‘भुल्केमा सिल हटाइए पनि अन्यत्र जस्तै लकडाउनको पालना भने गर्नुपर्ने छ ।’ भुल्के क्षेत्रमा गरिएको सिल हटाइएको तर सावधानी र निगरानी निरन्तर रहने प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

भारतबाट आएका १२ जना र विराटनगरका ४ नेपालीसहित १६ जना जमातीमध्ये एकैपटक ११ जना भारतीय र १ जना नेपाली जमातीमा वैशाख ५ गते संक्रमण देखिएको थियो ।

संक्रमितका परिवार र उनीहरुको सम्पर्कमा रहेका मुस्लिम समुदाय र अन्य समुदायका गरी भुल्के क्षेत्रका ५ सय ८२ जनामा गरिएको पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?