१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रदेशहरुमा स्वास्थ्य संकट

सम्भावित जोखिमलाई ध्यानमा राख्दै तयारी अझै गर्नुपर्ने अवस्था
क्वारेन्टाइन र आइसोलेसन कतै पर्याप्त, कतै चाहिनेभन्दा निकै कम
परीक्षणको व्यवस्था चुस्ता हुन सकेन
स्वास्थ्य पूर्वाधार, स्रोत र जनशक्ति व्यवस्थापनमा अझै तदारुकताको खाँचो
प्रदेश ब्युरो

काठमाडौँ — कोरोना संक्रमितको संख्या प्रतिदिन बढ्दै जान थालेपछि मुलुकको मौजुदा क्षमताले उपचार प्रक्रिया थाम्न नसक्ने गाह्रो पर्ने देखिएको छ । पीपीई, किट, भीटीएम, आइसोलेसन शय्या, पीसीआर उपकरण र भेन्टिलेटर सामग्री पर्याप्त छैन नै, स्वास्थ्यकर्मीको जनशक्ति पनि अपुग छ ।

प्रदेशहरुमा स्वास्थ्य संकट

यसले गर्दा संक्रमितको पहिचान र उपचारमा पर्याप्त तयारी हुन सकेको छैन । आइतबारसम्म मुलुकका ४२ जिल्लाका पहिचान भएका संक्रमितको संख्या ६ सय ३ जना पुग्दा प्रदेश २ र ५ मा आइसोलेन शय्या अभाव भएको छ । अन्य प्रदेशहरुमा पनि यो क्रम सुरु हुने संकेतहरु देखिएका छन् । भारतबाट घर फर्कनेको चाप बढेसँगै स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा धौधौ भएको छ । केही ठाउँमा प्रदेश सरकार बल्ल परीक्षण र आइसोलेसन क्षमता बढाउने तयारीमा छ ।

संक्रमितको उपचारका लागि प्रदेश १ सरकारले विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा ७०, प्रतिष्ठानमा १ सय शय्या र मेची अस्पतालमा २५ शय्या व्यवस्थापन गरेको छ ।

प्रदेशका १ का १४ जिल्लाका ५३ ठाउँमा ४ सय ५५ शय्या आइसोलेसन, ४ वटा अस्पतालमा ४४ वटा आईसीयू शय्या, ३ सय ३१ ठाउँमा ६ हजार ८ सय १३ शय्याको क्वारेन्टाइन र १२ ठाउँमा १ हजार ४ सय ३८ शय्याको होल्डिङ क्षेत्र निर्माण गरिएको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । अहिले क्वारेन्टाइनमा १ हजार ९४, आइसोलेसनमा १६, होल्डिङ क्षेत्रमा ९ सय ७७ जना छन् ।

कोसीमा ५ भेन्टिलेटर, १० आईसीयू, १० एचडीयू शय्या छन् । प्रतिष्ठानमा १२ भेन्टिलेटर, १० आईसीयू, २ एनआईसीयूलगायतको व्यवस्था गरिएको छ । प्रदेशभरिमा हालसम्ममा ४ हजार ३ सय १४ जनाको स्वाब संकलन गरिएकामध्ये ४ हजार १ सय १९ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने ८६ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ का ७ जिल्लाका ८६ संक्रमितमध्ये ३५ जना कोसीमा र २५ जनाको धरानमा उपचार भइरहेको छ । २६ जना कोसीबाट संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । सबैभन्दा बढी झापामा ३६, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, खोटाङ र भोजपुरमा १/१ जना संक्रमित छन् ।

प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट र नोबेल गरी ३ वटा शिक्षण अस्पताल छन् । बीपीमा मात्रै ७ सय ५० शय्या छन् । विराटनगरमा कोसी अस्पताल, विराट नर्सिङ होम, न्युरो, गोल्डेन, सिटीलगायतका निजीस्तरका ठूला अस्पतालहरु छन् । झापामा मेची अञ्चल अस्पताल, बी एन्ड सी लगायतका निजी अस्पतालहरु छन् ।

कोसी अस्पताल, प्रतिष्ठान र प्रदेश जनस्वास्थ्य प्रयोगशालास्थित पीसीआर ल्याबमा स्वाब परीक्षण भइरहेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार स्थानीय तह र जिल्लामा गरी अस्पतालमा ८ सय ९९, स्वास्थ्य कार्यालयमा १ सय ४९, स्थानीय तहमा ५ हजार १ सय १३ गरी कुल ६ हजार ३ सय ५६ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

प्रदेश १ सरकारले दैनिक १ हजार जनाको स्वाब परीक्षण गर्ने गरी पीसीआर ल्याब थप्न लागेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार धरानको बीपी प्रतिष्ठान ल्याबको क्षमता विस्तार, हात्तीसार क्याम्पसको प्रयोगशाला र झापाको दमकस्थित भुटानी शरणार्थी शिविरको प्रयोगशालालाई पीसीआर ल्याबका रूपमा विस्तार गर्ने तयारी गरिएको हो । यस्तै, मेची अस्पतालमा पनि पीसीआर ल्याब निर्माण भइरहेको उनले बताए । अहिले कोसी अस्पतालमा दैनिक ७०, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ३५ र बीपीमा २ सय स्वाब परीक्षण गर्ने क्षमता छ ।

कोसीको कोभिड उपचार केन्द्रमा १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठ गाउँमा २ सय, बीपी प्रतिष्ठानमा ३ सय, चतरास्थित बाबा कृष्णदास आश्रममा २ सय र सेनाको इटहरीस्थित पूर्वी पृतनामा ५० गरी थप ८ सय ५० शय्या थपिने मन्त्री घिमिरेले बताए । देश सरकारको कोरोना कोषमा हालसम्म जम्मा भएको २९ करोड ३४ लाखमध्ये १७ करोड ८५ लाख खर्च भइसकेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

आइसोलोसनमा चाप थेग्नै मुस्किल

प्रदेश २ का आइसोलोसन र क्वारेन्टाइनमा थेग्नै नसक्ने गरी चाप बढेको छ । दिनहुँ संक्रमित थपिँदा प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगन्जको आइसोलोसन भरिएको छ । प्रादेशिक अस्पतालको आइसोलोसनमा ३० र नारायणी अस्पताल वीरगन्जमा ९७ जना संक्रमित उपचाररत छन् । प्रदेश २ मा संक्रमितको संख्या आइतबार १ सय ७९ पुगेको छ भने निको हुने १३ पुगेका छन् ।

प्रदेश २ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित सबैको प्रदेशकै आइसोलोसनमा उपचार भइरहेको छ । नेपाली सेनाका मध्यपूर्व पृतना कार्यालयका २ जना संक्रमितको भने काठमाडौंस्थित सशस्त्र प्रहरीको कोरोना अस्पतालमा उपचार भइरहेको छ । प्रदेश २ मा ४ सय ५१ बेडको आइसोलोसनको क्षमता छ । त्यसमध्ये १ सय ७२ जनाको उपचार भइरहेको छ । समुदायमा संक्रमणको जोखिम उच्च देखिएका सर्लाही र महोत्तरीमा आइसोलेसन वार्ड छैन ।

प्रदेश २ मा क्वारेन्टाइनको क्षमता ११ हजार ७ सय ८७ छ । ८ हजार २ सय ३८ जना बसिरहेका छन् । होम क्वारेन्टाइनमामात्रै ५ हजार २ सय २० जना छन् । नारायणी अस्पतालको आइसोलोसन वार्ड भरिएपछि वीरगन्जको सिद्धार्थ स्कुललाई अस्थायी आइसोलेसन बनाइएको छ । प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. नागेन्द्र यादवका अनुसार जनकपुरको आइसोलेसन भरिएको र थप संक्रमितको उपचार कहाँ गर्ने निधो भइसकेको छैन । प्रदेश २ मा सरकारी र नीजि क्षेत्रमा कार्यरत चिकित्सकको संख्या १ हजार २५ र नर्स ८ सय ६३ जना छन् । सरकारी र निजी अस्पतालमा गरी ४८ वटा भेन्टिलेटर छन् ।

उपत्यकाबाहेक ८ जिल्लामा १७ संक्रमित

वाग्मती प्रदेशमा उपत्यकाबाहेकका ८ जिल्लामा १७ जना सक्रमित भेटिएका छन् । तीमध्ये सिन्धुपाल्चोककी एक सुत्केरीको मृत्यु भएको थियो । ३ जना निको भएर घर फर्किसकेका छन । अहिले १३ जना उपचाररत छन् ।

वाग्मतीका उपत्यकाबाहेकका १० जिल्लामा ३ हजार ३ सय ८७ जना राख्न सकिने क्वारेन्टाइनमा हाल ४ सय ८ जना बसेका छन् । प्रदेशभरि ६ सय ५ आइसोलेसन वेड छन् । आइतबार अपराह्नसम्म ५५ जना आइसोलेसनमा राखिएका छन् । सबैभन्दा धेरै २३ जना हेटाैंडाको आइसोलेसनमा छन् । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका अनुसार आइतबारसम्म ५ हजार २ सय ७५ जनाको स्वाब परीक्षण गरिएकोमा १६ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

मकवानपुरदेखि रसुवासम्मका १० जिल्लामा ३५ वटा भेन्टिलेटरसहितका बेड छन् । स्वास्थ्यकर्मीका लागि ५ हजार पीपीई आवश्यक भए पनि २ हजार २ सय ५० मात्रै छन् । उपत्यकाबाहेक अन्य जिल्लामा प्रदेशभर ५ हजार ४ सय ३ स्वास्थ्यकर्मी कार्यरत छन् । १० जिल्लामध्ये दोलखा, र रसुवा जिल्लामा संक्रमित भेटिएका छैनन् । चितवनमा ६ जना संक्रमित भेटिएकामा २ जना निको भएर घर फर्केमा छन् । मकवानपुरका ३ जना संक्रमितको काठमाडाैंमा उपचार भइरहेको छ ।

धादिङमा भेटिएका ३ संक्रमितमध्ये १ जना निको भएर घर फिरेका छन् ।

गण्डकीमा भारतबाट फर्कनेले जोखिम

अन्य प्रदेशको तुलनामा कम संक्रमण देखिएको गण्डकी प्रदेशका ११ जिल्लामा हालसम्म जम्मा ५ जनामात्रै संक्रमित भेटिएका छन् । तीमध्ये बागलुङका २ जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये १ जनाको काठमाडौ र २ को चितवनस्थित भरतपुरमा उपचार भइरहेको छ ।

अहिले कम प्रभावित भए पनि जोखिम बढ्न सक्नेतर्फ ध्यान दिएर तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्मा बताउँछन् । उनले स्वास्थ्यकर्मीदेखि स्वास्थ्य सामग्रीसमेत पर्याप्त रहेको दाबी गरे । पीसीआर परीक्षण बढाउने, पीपीई, रिएजेन्ट, भीटीएम खरिद गर्ने निर्णयसमेत गरेको उनले बताए ।

प्रदेशमा विदेशलगायत अन्य प्रदेशबाट आएका २ हजार ५ सय ५३ जना अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा भने ५ सय ६९ जना बसेका छन् ।

प्रदेशभर ७ सय ९६ क्वारेन्टाइनमा ४ हजार १ सय ४७ बेड छन् । आइसोलेसन बेड ३ सय २ वटा छन् । भर्ना भने ४ जना मात्रै छन् ।

प्रदेशमा २२ सरकारी र ६२ निजी अस्पताल छन् । तिनमा ३ हजार १ सय बेड छन् । सरकारीमा १३ र निजीमा १ सय ८८ गरी २ सय १ आईसीयू, ५४ भेन्टिलेटर छन् । त्यसैगरी ४ सय ८१ जना चिकित्सक र अनमीसहित १ हजार २ सय जना नर्स छन् । पीसीआर मेसिन दुइटा छन् ।

प्रदेश ५ मा आइसोलेसन बेड अभाव

पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्टर बनेको प्रदेश ५ मा आइतबारसम्म १२ मध्ये ७ जिल्लामा २ सय ७७ संक्रमित भेटिएका छन् । सरकारले प्रदेशभर २ सय १ आइसोलेसन बेड तयार गरेको थियो । तीमध्ये २६ आईसीयू र ३ भेन्टिलेटर छन् । अभाव भएपछि थप्न सुरु गरेको छ ।

बुटवलको धागो, भैरहवाको भीम, दाङको आयुर्वेद र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर कोरोना अस्पतालमा १ सय ५ जनाको उपचार भइरहेको छ । बाँकेमा लायन्स डेन्टल अस्पतालमा २२, कृषि तालिम केन्द्र खजुरामा ४१, कृषि केन्द्र पिपरी कोहलपुरमा ४० र गणेशपुर आयुर्वेद औषधालयमा ३ गरी १ सय ६ जनाले उपचार गराइरहेका छन् ।

सरकारले बनाएका अस्पतालमा २ सय १२ जनाको उपचार भइरहेको छ । बाँके र बुटवलबाट ३२ जना निको भएर घर फर्केका छन् । ३३ जनाको क्वारेन्टाइनमै उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरीले बताए ।

तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडका आइसोलेसन केन्द्र निर्माणका लागि सबै स्थानीय तहमा प्रदेश सरकारले निर्देशन दिएको छ । सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीका अनुसार प्रदेश ५ मा १ हजार ४ सय ६ जना स्वास्थ्यकर्मी छन् । तीमध्ये ७० जना डाक्टर र १ सय ४९ जना नर्स छन् । ‘अधिकांश स्वास्थ्यकर्मी अहिले कोरानाकै उपचारमा खटिएका छन्,’ उनले भने, ‘आवश्यकताअनुसार निजी मेडिकल कलेजमा पनि सहयोग मागिरहेकै छौं ।’ ल्याबमा जनशक्ति समस्या भए पनि उपचारका लागि उपकरण र जनशक्ति अभाव नरहेको उनले बताए ।

प्रदेशमा भैरहवा, दाङ र बाँकेमा प्रयोगशाला स्थापना भएका छन् । थ्रोट र नोजल स्वाब संकलनका लागि आवश्यक पर्ने भीटीएम झन्डै ६ हजार थान छन् ।

त्यस्तै फुल र दोस्रो क्याटोगोरीका गरी ७ हजार थान पीपीइ सेट उपलब्ध रहेको मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख दिनेश चापागाईंले बताए । पहाडी जिल्लामा १ सय र तराईका जिल्लामा ३ सयका दरले भीटीएम पुगेका छन् ।

बढी संक्रमण देखिएका जिल्लामा झन्डै १० हजार आरडीटी किट पठाइएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा ८ सय ७३ क्वारेन्टाइनमा १९ हजार ५६ जना छन् । ८ हजार ५ सय ८१ जनाको स्वाब संकलन गरिएकोमा ६ हजार ७ सय २७ जनाको परीक्षण भएको छ । १ हजार ८ सय ५४ को रिपोर्ट आउन बाँकी रहेको प्रदेश निर्देशनालयले जनाएको छ ।

कर्णालीलाई थेग्नै मुस्किल

कर्णालीमा भारतबाट आउनेको संख्या बढेसँगै कोरोना संक्रमित पनि देखिन थालेका छन् । आइतबारसम्म ४ जनामा पुष्टि भएको छ । थप ५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आए पनि पुन: परीक्षणको रिपोर्ट आइसकेको छैन ।

सुर्खेतको बबई नाका भएर शनिबारसम्म ४ हजार ३ सय ३६ व्यक्ति भारतबाट फर्केका सुर्खेत जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा छ । शनिबार मात्र ५९ बसमा २ हजार ९ जना व्यक्ति प्रवेश गरेका कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।

भारतबाट फर्किनेको ताँती लागे पनि परीक्षण भने हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयले आरडीटी किट सकिएकोले परीक्षणमा समस्या भएको जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीका अनुसार बबई, गुराँसे र सल्यानको नाकामा परीक्षणको लागि ४ हजार ३ सय किट पठाइएको छ । मन्त्रालयमा किट सकिएपछि संघीय सरकारसँग माग्नुका साथै आफै खरिद गर्ने प्रक्रिया पनि अघि बढाइएको उनले बताइन् ।

प्रदेश सरकारले सुर्खेतको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई कोरोना विशेष अस्पतालको रूपमा पूर्वाधार थपेको छ । तर, अहिले संक्रमितहरु सुर्खेतमा मात्र रहेका छन् ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले संक्रमण देखिए पनि चिह्न, लक्षण नदेखिएका बिरामीलाई सम्बन्धित जिल्लाका आइसोलेसन सेन्टरमै उपचारको प्रबन्ध गर्नुपर्ने बताए । ‘विशेष अस्पतालमा दोस्रो फेजका बिरामीलाई उपचारका लागि ल्याउँदा राम्रो हुन्छ,’ उनले भने, ‘सबै ठाउँमा उपचारको व्यवस्था गर्न सकियो भने सहज हुन सक्छ ।’

सामाजिक विकास मन्त्रालयका अनुसार अहिले प्रदेशभर ५ सय ४० वटा आइसोलसेन बेड रहेका छन् । भेन्टिेलेर १८ र आईसीयू ४० रहेका छन् । कर्णालीका सरकारी अस्पतालमा हाल १ सय ६२ जना चिकित्सक कार्यरत छन् । तीमध्ये ३० जना मेडिकल मार्चअन्तर्गत विभिन्न २७ स्थानमा खटिएका छन् । अहिले कर्णालीका अस्पतालमा ४ हजार ६ सय १ पीपीई सेट छन् ।

प्रदेशभर ११ हजार १ सय २७ बेड क्षमताको क्वारेन्टाइन बनाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शनिबारसम्म क्वारेन्टाइनमा बसिरहेकाको संख्या २ हजार ७ सय ९ जना छ । बबईबाट हिँडेकाहरु कतिपय बीच बाटोबाटै घरतिर लागेका छन् भने कतिपय बाटोमै रहेकाले क्वारेन्टाइनमा बस्नेको संख्या कम देखिएको सरकारको भनाइ छ ।

सुदूरपश्चिम भरी १ सय ६३ आइसोलेसन

भारतबाट फर्कनेक्रम बढेसंगै सुदूरपश्चिमका विभिन्न जिल्लाका कोरोना संक्रमण देखिन थालेको छ । आइतबारसम्म संक्रमितको संख्या १५ पुगेको छ । चैत महिनामा संक्रमण देखिएका २ महिला र ३ पुरुष निको भएर घर फर्किसकेका छन् ।

गत शुक्रबारदेखि आइतबारसम्म संक्रमण पुष्टि भएका १० जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । आइतबार अछामका १ जना ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सुदूपश्चिमका ९ जिल्लामध्ये कैलाली र कञ्चनपुरबाहेक बैतडी, डडेलधुरा र अछाममा यो सातामात्रै संक्रमण देखिएको हो । हाल उपचाररत १० जना पुरुषहरुमा ३ जना कैलालीको जानकी गाउँपालिका, बैतडीको शिवनाथ गाउँपालिका ५, अछामका १ र डडेलधुराका १ जना छन् । डडेलधुरा र बैतडीका १/१ जनाको त्यहाँकै अस्पतालमा र अछामका १ जना, बैतडीका ४ र कैलालीका ३ जनासमेत ८ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १३ अस्पताल छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई कोरोना उपचारको डेडिकेटेड अस्पताल कायम गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १३ अस्पतालमा ८० जना चिकित्सक र २२० जना नर्सिङ स्टाफ रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।

शनिबारसम्म ३ हजार ७८ आरडीटी र ९ सय ७६ थान भीटीएन किट मौज्दात छ । पीपीई सेट १ हजार ४ सय ११, मास्क ६० हजार ५ सय ११, ग्लब्स १७ हजार २ सय २९ मौज्दात छन् । यी स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालय, स्थानीय स्तरमा खरिद र दातृसंस्थाहरुबाट उपलब्ध भएका हुन् । दैनिक हजारांै भारतबाट भित्रिरहेको कञ्चनपुरमा परीक्षणका लागि ४० थान मात्रै भिटिएन मौज्दात रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यो पनि आपत्कालीन अवस्थाका लागि राखिएको हो ।

सुदूरपश्चिमका ९ जिल्लाका ४ सय ४१ स्थानमा १२ हजार ४ सय ७२ बेडको क्वारेन्टाइन बनाइएको प्रदेश स्वास्थ्य निर्देशनालयको दाबी छ । शनिबारसम्म क्वारेन्टाइनमा ५ सय ६५ महिला र ५ हजार २ सय ५१ पुरुष छन् । अधिकांश क्वारेन्टाइन व्यवस्थित छैनन् । डाक्टर र स्वास्थ्यकर्मी नियमित पुग्दैनन् । मापदण्डअनुसार खाना पनि छैन । एउटै कोठामा कोचिएर बस्नुपरेको क्वारेन्टाइनमा बस्नेहरुको गुनासो छ ।

सुदूरपश्चिममा आइसोलेसन बेडको संख्या १ सय ६३ छ । आइतबारसम्म आइसोलेसनमा २५ जना छन् । सेती अस्पतालमा १० र महाकाली अस्पताल महेन्द्रनगरमा ४ गरी १४ बेड आईसीयू छन् । सेती अस्पतालमा ६ वटा भेन्टिलेटर छन् ।

देवनारायण साह (मोरङ), अजित तिवारी (जनकपुर), प्रताप विष्ट (हेटाैंडा), लालप्रसाद शर्मा (पोखरा), घनश्याम गौतम (रुपन्देही), कलेन्द्र सेजुवाल (सुर्खेत), चित्रांग थापा (धनगढी)

प्रकाशित : जेष्ठ १२, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?