कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नरैनापुर निषेधित क्षेत्र घोषणा

 स्थिति नियन्त्रणमा लिन सेना परिचालन,  नेपालगन्जबाट चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय

नेपालगन्ज — अव्यवस्थित क्वारेन्टाइन र कोभिड-१९ संक्रमितलाई आइसोलेसन सेन्टरमा पुर्‍याउन अवरोध गर्न थालेपछि जिल्ला सुरक्षा समितिले आइतबारबाट नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरेर सेना परिचालन गरेको छ । गाउँपालिकाका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई संक्रमण पुष्टि भएपछि आइसोलेसन सेन्टरमा ल्याउन नेपालगन्जबाट गएका एम्बुलेन्सलाई घेराउ गरेर स्थानीयवासीले शुक्रबार १३ संक्रमितलाई भगाएका थिए ।

नरैनापुर निषेधित क्षेत्र घोषणा

ठूलो संख्यामा स्थानीयले एम्बुलेन्स घेराउ गरेपछि गाउँपालिकाले स्थिति नियन्त्रणबाहिर गएको जनाउँदै शनिबार जिल्ला प्रशासनदेखि प्रधानमन्त्री कार्यालयसम्मलाई सुरक्षा बढाउन पत्राचार गरेको थियो ।

सीमावर्ती गाउँपालिका कोरोना ‘इपिसेन्टर’ बनेको छ । आइतबार साँझसम्म गाउँपालिकामा १ सय १४ संक्रमित पुगेका छन् । संक्रमितमध्ये एक जनाको साताअघि क्वारेन्टाइनमै मृत्यु भएको थियो । भारतबाट फर्किएका करिब एक हजार जना अझै क्वारेन्टाइनमा छन् । ठूलो संख्यामा भारतको महाराष्ट्र र दिल्लीबाट सर्वसाधारण आउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । अवस्था भद्रगोल हुँदै गएपछि सेना परिचालनको निर्णय लिनुपरेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

समिति बैठकले आइतबार निषेधित क्षेत्र घोषणासँगै नेपाली सेनाका मेजरको कमान्डमा सेना परिचालन गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासनले आइतबार राति ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ । यसअघि संक्रमण बढ्दै गएकाले प्रशासनले गाउँपालिकालाई ‘रेड एरिया’ घोषणा गरेर सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको थियो । तर, स्थानीयले त्यसको वास्ता गरेनन् । प्रशासनको आदेश उल्लंघन गरेर क्वारेन्टाइनस्थल र एम्बुलेन्स घेराउ गरे । संक्रमितलाई गाउँमा राख्नुपर्ने दबाब दिँदै सामाजिक दूरीको बेवास्ता गरे । संक्रमितहरू क्वारेन्टाइनमा बसेका व्यक्ति, स्थानीय बासिन्दा र सुरक्षाकर्मीसित समेत घुलमिल भइसकेका छन् । त्यसले संक्रमितको संख्या बढ्न सक्ने चिकित्सकले बताए ।

‘रेड एरिया घोषणा भए पनि भीडभाड गर्ने, क्वारेन्टाइनभित्रै प्रवेश गर्न खोज्ने प्रयास भयो, समुदाय नै संक्रमित हुने खतरा देखिएपछि निषेधित क्षेत्र घोषणा गरिएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भने, ‘नरैनापुरको सुरक्षा कमान्डको जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको छ । सशस्त्र र नेपाली प्रहरी पनि खटिएका छन् ।’ सेनाले क्वारेन्टाइनमा सुरक्षा दिने, गाउँमा गस्ती गर्दै कोरोनाविरुद्ध जनचेतना जगाउने र लकडाउनलाई पूर्ण कार्यान्वयन गराउने उनले बताए ।

नेपालगन्जको राँझास्थित भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापाले नरैनापुरमा खटिने सेनाको टोलीले जनचेतनासँगै सुरक्षागस्ती पनि गर्ने बताए । ‘लकडाउन र निषेधित क्षेत्रको पूर्ण पालना सेनाले गराउने छ,’ उनले भने, ‘जनचेतनाका काम पनि गर्नेर्छौं ।’

स्थानीयले क्वारेन्टाइन स्थलमै पुगेर संक्रमितलाई भगाउने प्रयास गर्न थालेपछि अवस्था भद्रगोल बनेको थियो । भीडका कारण सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई काम गर्न असहज भइरहेको छ । राजनीतिक दलका स्थानीय कार्यकर्ताले सर्वसाधारणलाई भड्काएर क्वारेन्टाइनमा बस्नेलाई भगाउने प्रयास गर्दै आएको आरोप गाउँपालिकाका जनप्रतिनिधिले लगाए । उनीहरूले संक्रमितलाई नेपालगन्जमा उपचार गर्न लगिए कोठामा थुनेर राख्ने, खान नदिने र किड्नीसमेत झिकिदिने भ्रम फैलाएर स्थानीयवासी विरोधमा उत्रिएको गाउँपालिकाले जनाएको छ ।

सुरक्षा समितिको बैठकले नेपालगन्जबाट चिकित्सकको टोली पठाउने निर्णय गरेको छ । एक जना चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन हुनेछन् । नरैनापुरमै आइसोलेसन सेन्टर बनाउन पहल गर्ने निर्णय बैठकले गरेको छ । त्यसका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण र जनशक्तिको खोजी भइरहेको प्रशासनले जनाएको छ । आइसोलेसन सेन्टरका लागि विद्युत् आवश्यक पर्ने हुँदा सोमबार विद्युत् कार्यालयका कर्मचारी र ठेकेदारहरूलाई बोलाएर छलफल गर्ने सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । ‘ठेकेदारलाई रातदिन खटिएर भए पनि विद्युत बिस्तार गर्न निर्देशन दिन्छौं । बिजुली नहुँदासम्म जेनेरेटरले भए पनि काम चलाउने भनेका छौँ,’ उनले भने । नरैनापुरमा विद्युत् बिस्तारको काम अहिले रोकिएको छ ।

महामारी बढ्दै गएपछि स्थानीयले जीवनरक्षाका लागि संघ र प्रदेश सरकारसित गुहार गरिरहेका छन् । संक्रमितका परिवारका सदस्यहरू बिलौना गरिरहेका छन् । महामारीका समयमा सरकारले चिकित्सक पठाउन सकेको छैन । आधा दर्जन स्वास्थ्यकर्मीको भरमा प्राथमिक स्वास्थ्य केन्द्रको बहिरंग (ओपीडी) सेवा चलिरहेको छ । तिनलाई क्वारेन्टाइनको रेखदेख गर्ने जिम्मा पनि छ । क्वारेन्टाइनमा राखिएका स्थानीयको स्वास्थ्य अवस्था बुझ्ने जनशक्ति अभाव छ । जनप्रतिनिधिले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन । ‘कोरोना महामारी हाम्रो काबुभन्दा बाहिर गइसकेको छ, अझै पनि माथिका सरकारले सहयोग नगर्ने हो भने यहाँको अवस्था जे पनि हुन सक्छ,’ गाउँपालिका प्रमुख इस्तियाक अहमद साहले भने, ‘यस्तो महामारीका बेला एक जना डाक्टर पनि छैनन् । चिकित्सकबिना कसरी महामारी नियन्त्रण गर्न सकिन्छ ।’ गाउँपालिकाले शनिबार लिखित रूपमै संघ र प्रदेश सरकारसँग सहयोग माग गरिसकेको छ । उनका अनुसार स्थानीयस्तरबाट महामारी नियन्त्रण गर्न असम्भव छ ।

नर्स र प्रहरीलाई संक्रमण

बाँकेमा कोरोना संक्रमितको सुरक्षाका लागि खटिएका एक सुरक्षाकर्मी र उपचारमा खटिएका स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि हुन थालेको छ । नरैनापुर-३ कालाफाँटा प्रहरी चौकीमा कार्यरत एक जनामा शनिबार संक्रमण पुष्टि भएको हो । उक्त प्रहरी चौकीमा २३ जना प्रहरी कार्यरत छन् । शनिबार नरैनापुरमा २७ जनामा कोरोना संक्रमण देखिएकोमध्ये एक प्रहरी भएको जिल्ला प्रहरीले जनाएको छ ।

अन्य सुरक्षाकर्मीको कोरोना रिपोर्ट आउन बाँकी छ । एक जनामा कोरोना पुष्टि भएपछि प्रहरी चौकी सिल गरी अन्यलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको जिल्ला प्रहरीले जनाएको छ । त्यस्तै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा खटिएकी नर्समा संक्रमण देखिएको छ । उनलाई पनि आइसोलेसनमा राखिएको छ ।

संक्रमित वडाध्यक्षले एम्बुलेन्स पाएनन्

कपिलवस्तु- कपिलवस्तुको वाणगंगा नगरपालिकामा ६ वटा एम्बुलेन्स छन् । त्यसमध्ये दुईवटालाई कोरोना संक्रमित ओसार्न तयारी अवस्थामा राखिएको छ । चालकलाई संक्रमणबाट जोगाउन नगरपालिकाले एम्बुलेन्समा क्याबिन बनाएको छ । चालकसित व्यक्तिगत सुरक्षा पोसाक छ । तर, चालक संक्रमितलाई अस्पताल पुर्‍याउन मान्दैनन् । नगरपालिकाकै संक्रमित वडाध्यक्षले शनिबार दिउँसोदेखि साँझ ८ बजेसम्म एम्बुलेन्स खोजे पनि पाएनन् । वडाध्यक्षलाई अस्पताल पुर्‍याउन नगरपालिकाका सबै जनप्रतिनिधि जुटे पनि एम्बुलेन्स पाएनन् । ‘राति वाणगंगाको क्वारेन्टाइनबाहिर सुतें,’ ती वडाध्यक्षले भने, ‘केही उपाय नलागेपछि आइतबार बिहान स्कुटर चलाएर अस्पताल आएँ ।’ उनी जितपुरबाट स्कुटरमा ३६ किलोमिटर यात्रा गरेर बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पुगेर भर्ना भएका हुन् ।

‘नगरपालिकामा क्वारेन्टाइनस्थल बनाएर सेवा गरें,’ उनले भने, ‘त्यसक्रममा आफैं संक्रमित भएँ, अहिले एम्बुलेन्स पाइनँ ।’ क्वारेन्टाइनस्थल बनाएर खाट राख्ने, बिस्तारा मिलाएर झुल टाँग्ने काम आफूले गरेको उनले बताए । सीमामा अलपत्रलाई उद्धार गरेर क्वारेन्टाइनमा राख्ने क्रममा आफैं संक्रमित बनेको उनले बताए । ‘मेरो मनोबल उच्च छ,’ उनले भने, तनाब र चिन्ता लिएको छैन । छिट्टै कोरोना जितेर फर्किन्छु ।’ एम्बुलेन्स चालकको व्यवहारले पीडा भएको उनले बताए ।

वाणगंगाकी संक्रमित सञ्चारकर्मीलाई पनि यस्तै समस्या पर्‍यो । शनिबार बिहान संक्रमणको खबर पाएपछि उनलाई बुटवल पुर्‍याउन एम्बुलेन्स खोज्दा पाइएन । ‘निकै प्रयास गर्‍यौं,’ पत्रकार महासंघ अध्यक्ष पार्वती पाण्डेले भनिन्, ‘कुनै एम्बुलेन्सले मानवीयता देखाएनन् ।’ बिहानै पठाउने प्रयास गरे पनि शनिबार राति १० बजेसम्म एम्बुलेन्स नपाएको उनले बताइन् । केही उपाय नलागेपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई आग्रह गरेर प्रहरीको गाडीमा अस्पताल लगेको उनले जानकारी दिइन् । जिल्लामा २६ एम्बुलेन्स चालु अवस्थामा छन् । तिनका चालकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पनि उपलब्ध गराइएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?