कांग्रेसको आर्थिक दृष्टिकोण : आर्थिक शैथिल्यमा कोरोना मात्र दोषी छैन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

कांग्रेसको आर्थिक दृष्टिकोण : आर्थिक शैथिल्यमा कोरोना मात्र दोषी छैन

सार्वजनिक खर्च कटौतीमा जोड
सांसद विकास कोषको खारेजीको माग
कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले कोभिड–१९ को संक्रमणका कारण संकटग्रस्त अवस्थामा पुगेको वित्तीय क्षेत्र सुधार्न अल्पकालीन तथा दीर्घकालीन योजना र कार्यक्रम समेटिएको आर्थिक दृष्टिकोण सार्वजनिक गरेको छ । पूर्वअर्थमन्त्री रामशरण महत नेतृत्वको समितिले सरकारलाई सुझावसमेत दिने गरी पार्टीको आर्थिक दृष्टिकोण ल्याएको हो । समितिले आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई दृष्टिकोण बुझाइसकेको छ ।

कोरोना संक्रमणले अर्थतन्त्रका प्राथमिकता र क्षेत्र बदलिएकाले सोहीअनुसारका योजना र कार्यक्रमलाई दृष्टिकोणमा समावेश गरिएको महतले जानकारी दिए । ‘मूलत: यो पार्टीको दृष्टिकोण हो । तर सरकारले अवलम्बन गर्नुपर्ने यथार्थ बाटो हामीले देखाइदिएका छौं, अवलम्बन गर्ने कि नगर्ने उसको विषय हो,’ उनले भने, ‘हाम्रा सांसदले संसद्मा यसैका आधारमा आवाज उठाउनु हुनेछ ।’

पूर्वअर्थमन्त्री, योजनाविद् र अर्थविद् सम्मिलित समितिले कोरोना संक्रमणपछि अर्थतन्त्रमा परेको प्रभाव र त्यसले भविष्यमा पार्न सक्ने असरबारे अध्ययन गरेको थियो । संक्रमण अवस्थामा सरकारले ल्याउनुपर्ने बजेटको आकारदेखि, बजेटको गन्तव्य, प्राथमिक क्षेत्र, अर्थतन्त्र पुनरुत्थान तथा राहतका कार्यक्रमलाई कांग्रेसले आर्थिक दृष्टिकोणमा समेटेको छ ।

आव ०७७/७८ को सार्वजनिक नीति तथा कार्यक्रम यथार्थपरक र व्यावहारिक नभएको, यसले निर्देश गर्नुपर्ने विषय र योजनाका प्राथमिक क्षेत्र पहिल्याउन नसकेको, बजेटको लक्ष्यअनुसार कार्यान्वयन गर्ने सरकारको क्षमता नभएको भन्दै कांग्रेसले आलोचना गरेको छ । आर्थिक पुनरुत्थानका लागि कांग्रेसले सार्वजनिक खर्च कटौती र लकडाउनबीच पनि आर्थिक गतिविधि जारी राख्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएको छ । ‘देशको अर्थतन्त्रलाई क्रमश: पुनरुत्थान गर्दै जान लकडाउनको अवस्थामा पनि सुरक्षाका लागि आवश्यक सामाजिक दूरीका सर्त पालना गर्दै चल्न सक्ने उद्योग व्यवसायहरू सञ्चालनका लागि उपयुक्त कार्यविधि अपनाउनुपर्छ,’ कांग्रेसद्वारा जारी आर्थिक दृष्टिकोणमा भनिएको छ ।

आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि क्षेत्र प्राथमिकतामा राखिएको महतले बताए । कोरोना संक्रमणले सिर्जना गरेको ठूलो संख्याको बेरोजगारीलाई कृषि क्षेत्रले मात्रै पूर्ति गर्न सक्ने कांग्रेसको निष्कर्ष छ । यसका लागि व्यावसायिक कृषिमा प्रविधिसहित निजी क्षेत्रलाई ल्याउन ठूलो आकारमा जग्गा उपलब्ध गराउन भूमि बैंक र जग्गा करारको बलियो कानुनी व्यवस्थासहितको प्रवद्र्धनात्मक नीतिमा जोड दिइएको छ ।

पुँजीको व्यवस्था गरी व्यावसायिक खेती गर्न चाहने युवा एवं बेरोजगार व्यक्तिलाई जडीबुटी, कृषि र वन पैदावरमा आधारित उद्योगमा प्रेरित गर्न स्थानीय सररकाले भूमि बैंकमार्फत खेती नगरिएका जग्गा भाडामा उपलब्ध गराउन सकिने कांग्रेसको सुझाव छ ।

कृषिको व्यावसायिक विकासका लागि आधुनिक औजार तथा मेसिन सञ्चालनका लागि आवश्यक तालिम, उत्पादन क्षमतालाई आधार मानेर दुई वर्षसम्म ब्याज छुटसहितको ऋण, नि:शुल्क बिमालगायत कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूपलाई यसै क्षेत्रमा रूपान्तरण गर्नुपर्ने धारणा पनि अघि सारिएको छ । कार्यक्रमको सदुपयोग नभएका कारण विवादास्पद बनेको भन्दै कांग्रेसले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित बजेटलाई अर्थतन्त्रमा आवश्यक र बजारको मागअनुसार कृषि, उद्योग, निर्माणलगायत व्यवसायलाई आवश्यक पर्ने सीपयुक्त प्राविधिक र व्यावसायिक तालिम तथा इन्टर्नसिपमा खर्च सकिने बताएको छ ।

कोरोना संक्रमणपछि विप्रेषण आप्रवाहमा कमी, सुस्त पर्यटन र व्यापार, द्विपक्षीय सहायता कटौतीका कारण राजस्व र अनुदानमा हुने संकुचन, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि जस्ता क्षेत्रमा खर्चको पुन: प्राथमिकीकरण, घाटा बजेटबाट सिर्जित हुने ऋणग्रस्तता र मुद्रास्फीति जस्ता कारणले सार्वजनिक वित्तीय क्षेत्रमा असर पुग्ने विश्लेषण गरिएको छ ।

‘आर्थिक वर्ष समाप्तिको करिब दुई महिना मात्र बाँकी रहँदा जेठ ४ सम्म सरकारले ६ खर्ब ९ अर्ब (लक्षित कुल राजस्व ११ खर्ब १२ अर्बको ५५ प्रतिशत) मात्र संकलन गरेको, खर्चतर्फ ७ खर्ब ६४ अर्ब (लक्षित कुल १५ खर्ब ३३ अर्बको ५० प्रतिशत) भएको देखिन्छ, जसबाट ठूलो वित्तीय खाडल सिर्जना भएको छ,’ कांग्रेसले भनेको छ, ‘लकडाउनले अर्थतन्त्रलाई घायल पारे पनि समग्र आर्थिक शैथिल्यका लागि सरकारले कोभिड–१९ लाई दोष दिएर उम्कने आधार छैन ।’

आर्थिक पुनरुत्थानका लागि सार्वजनिक खर्चको पुन:संरचनामा कठोर बन्न सरकारलाई सुझाएको छ । ‘मितव्ययिताको निर्मम अभ्यास गर्नुपर्ने बाध्यात्मक अवसर आएको छ । कोभिड–१९ को संकटले चुस्ततामा अभिवृद्धि, भड्किलो उपभोगमा अंकुश र मितव्ययिता अवलम्बन गर्ने अवसर प्रस्तुत गरेको छ,’ कांग्रेसले भनेको छ, ‘सार्वजनिक खर्च पुनरावलोकन आयोग–०७५ को प्रतिवेदनले खर्च प्रणालीको पुन:संरचनासम्बन्धी विभिन्न पक्षबारे दिइएका सुझावको कार्यान्वयन अघि बढाइनुपर्दछ ।’

कांग्रेसले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत सांसदका लागि जाने बजेटसमेत खारेज गर्नुपर्ने बताएको छ । ‘विवादित आयोजनालाई समायोजन वा खारेज गरिनुपर्दछ,’ दृष्टिकोणमा भनिएको छ । अर्थतन्त्रको पुनरुत्थानका लागि बाह्य ऋण र साझेदारीको विवेकपूर्ण व्यवस्थापन गर्न सक्ने क्षमता पनि सरकारले देखाउनुपर्नेमा जोड दिइएको छ । अनुदान परिचालनमा पनि सरकारी विश्वसनीयता फितलो देखिएको कांग्रेसको बुझाइ छ ।

कांग्रेसले कोभिड–१९ को संक्रमणका कारण पीडित श्रमिक, निम्न आय भएका वर्ग र व्यावसायिक तथा औद्योगिक क्षेत्रका लागि राहत प्याकेज ल्याउन सुझाएको छ । लकडाउनका कारण अत्यधिक पीडामा परेका बेरोजगार श्रमिक, गरिब वर्ग तथा उद्योग व्यवसाय बन्द गर्न बाध्य उद्यमीलाई लक्ष्य गरी आर्थिक प्याकेज ल्याउन उसले सुझाएको हो ।

जोखिममा परेका महिला तथा बालबालिका, अपांगता भएका, दैनिक ज्यालादारी, अनौपचारिक क्षेत्रमा काम गर्ने, अस्थायी बसोबास गर्ने, दीर्घरोगीलगायत नागरिकलाई ‘पोषण भौचर’ उपलब्ध गराउन सकिने, स्थानीय तहहरूले घरेलु हिंसा, भोकमरी, उपचार नपाउने अवस्थामा परेकालाई सहयोग र उद्धार गर्न हेल्प डेस्क राख्नुपर्ने, सरकारले भत्ता र राहत दिँदै आएको वर्गलाई समयमै भत्ता उपलब्ध गराउने वातावरण मिलाउनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाविरुद्धको खोप सफल भएको दाबी

दोस्रो र तेस्रो चरणमा ५५ वर्षमाथिका र ५ देखि १२ वर्षसम्मका बालबालिका गरी १० हजार २ सय ६० जनामा परीक्षण गरिने
नवीन पोखरेल

लन्डन — बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वानसमेत गरेको छ ।

त्यसैगरी चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको जनाएको छ । क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको थियो ।

अक्सफोर्डका वैज्ञानिकहरूका अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराइनेछ । अक्सफोर्ड खोप समूहले परीक्षणको अर्को चरणमा वृद्धवृद्धाहरूको रोग प्रतिरोध प्रणालीले यो खोपप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा केन्द्रित रहने जनाएको छ । परीक्षणको नतिजा सेप्टेम्बरसम्म प्राप्त हुने बेलायती अनुसन्धानकर्ताहरूको विश्वास छ ।

बेलायतका सरकारी अधिकारीहरू कोरोना भाइरसविरुद्धको खोप छिट्टै बजारमा आइसक्ने विश्वासमा छन् । ब्रिटिस सरकारले आउँदो सेप्टेम्बरसम्ममा कोभिड–१९ खोपका ३ करोडसम्म डोज उपलब्ध भइसक्ने जनाएको छ ।

व्यापार व्यवसाय मामिला हेर्ने बेलायती मन्त्री आलोक शर्माले अक्सफोर्ड विश्वविद्यालयमा खोपको क्लिनिकल परीक्षण राम्रोसँग अगाडि बढिरहेको र त्यो सफल भए गर्मीयाम नसकिँदै खोप तयार हुने बताएका छन् ।

मन्त्री शर्माले अक्सफोर्ड र इम्पेरियल कलेजमा अहिले जारी परीक्षणलाई सघाउन सरकारले थप ८ करोड ४० लाख पाउन्ड उपलब्ध गराउने घोषणा पनि गरे । यसअघि सरकारले खोप विकासका लागि अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनको समूहलाई ४० मिलियन पाउन्ड उपलब्ध गराइसकेको छ ।

शर्माले खोप विकासका लागि ब्रिटिस वैज्ञानिक तथा अनुसन्धाताहरूको प्रयत्नको प्रशंसा गर्दै आफूलाई गर्व लागेको पनि बताएका छन् । औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले बेलायतका लागि सेप्टेम्बरसम्म ३ करोड डोज उपलब्ध गराउने गरी अक्सफोर्ड विश्वविद्यालयसँग सम्झौता गरेको छ । उक्त फर्मास्युटिकल फर्मले बेलायतका लागि कुल १० करोड डोज उपलब्ध गराउने सम्झौता छ ।

मन्त्री शर्माले उक्त खोपको पहुँच पाउने बेलायत पहिलो मुलुक हुने भए पनि आफ्नो सरकार विकासोन्मुख देशहरूमा समेत न्यूनतम मूल्यमा खोप उपलब्ध गराउन कटिबद्ध रहेको बताए । स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायती संसद्मा बोल्दै खोपमा सफलता मिले ३ करोड डोज पहिला जोखिममा रहेका मानिसलाई प्रदान गरिने बताएका थिए ।

इम्पेरियल कलेज लन्डनले यही जुनदेखि मानव परीक्षण सुरु गर्दै छ । तर ब्रिटिस सरकारका मुख्य वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले प्रभावकारी खोप विकासको प्रत्याभूति अहिल्यै गर्न नसकिने बताएका छन् । विश्वभर महामारीका रूपमा फैलिरहेको कोभिड–१९ विरुद्धको खोप विकास गर्न अहिले बेलायतसहित कैयौं मुलुक जुटिरहेका छन् । विभिन्न देशका वैज्ञानिकहरूबीच खोप पहिल्याउन अहिले होड नै चलेको छ ।

आगामी जुनदेखि मानव परीक्षण सुरु गर्ने तयारी गरिरहेको इम्पेरियल कलेज लन्डनका प्राध्यापक रोविन स्याटकको भनाइअनुसार ब्रिटेन, अमेरिका, चीनलगायत विकसित मुलुकमा कम्तीमा सयवटा परीक्षण जारी छ ।

अन्य देश पनि लाभान्वित हुने

कोभिड–१९ खोप छिट्टै बजारमा आउने सम्भावनाले बेलायतवासी आशावादी देखिएका छन् । बर्मिङघम युनिभर्सिटीमा औषधि विज्ञानका सिनियर लेक्चरर एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्याल बेलायतमा खोप विकासको प्रगतिले आशावादी हुन सकिने बताउँछन् ।

‘अहिले विश्वभर सयजति प्रोजेक्ट सुरु भएका छन् । एउटा प्रक्रिया सफल भएन भने अर्को गरिन्छ,’ इन्टरनेसनल जर्नल अफ क्लिनिकल फार्मेसीका उपसम्पादकसमेत रहेका पौड्यालले कान्तिपुरसँग भने, ‘भाइरस क्लेभर माइक्रो अर्गानिज्म हो । यसले छिट्टै आफ्नो स्वरूप परिवर्तन गर्ने भएकाले यो चुनौतीपूर्ण पनि छ ।’

पौड्यालका भनाइमा सामान्यत: खोप विकासका लागि पहिला कम्प्युटर मोडेल, त्यसपछि सेल, मुसा, कुकुर, चिम्पान्जी, बाँदर हुँदै बल्ल मानिसमा परीक्षण हुन्छ । तर अहिले द्रुतगतिमा लैजानुपरेकाले वैज्ञानिकहरू मुसा, बाँदरपछि मान्छेमा एकैपटक ‘ट्रायल’ गर्न लागिरहेका छन् ।

भाइरस संक्रमण कम भयो भने ‘ट्रायल’ गर्न गाह्रो हुने भएकाले अहिले वैज्ञानिकहरूले अस्पताल, केयर होममा काम गर्नेमा परीक्षण गरिरहेका डा. पौड्यालले बताए । ‘सार्स, मर्सजस्ता भाइरस खोप नबन्दै हराएपछि खोपको ‘ट्रायल’ हुन पाएन । त्यसकारण भ्याक्सिन परीक्षण छिटो गर्नुपर्ने चुनौती छ,’ पौड्याल भन्छन् ।

बेलायत वा अन्य देशमा खोप परीक्षण सफल भयो भने नेपालजस्ता कम विकसित मुलुकमा पुग्न पनि धेरै समय नलाग्ने पौड्यालको विश्वास छ । ‘खोप विकास गर्न विभिन्न च्यारिटेबल संस्थाबाट डोनेसन भएकाले नेपाल पुग्न समय र पैसा धेरै नलाग्ने देखिन्छ,’ पौड्यालले भने ।

प्रकाशित : जेष्ठ १२, २०७७ ०६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×