क्‍वारेन्टाइनबाटै संक्रमित भागाभाग

बाँके नरैनापुर गाउँपालिकाका १३ संक्रमित कोही भागेर रुख चढेर लुकेका थिए भने कोही रातभर कुलोमा सुतेका थिए । भोलिपल्ट पक्राउ नपरुन्जेलसम्म जिल्लाभरिकै अवस्था तनावपूर्ण बनेको थियो ।

नेपालगन्ज, तिलोत्तमा — बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनबाट शुक्रबार १३ जना संक्रमित भागेका छन् । संक्रमण पुष्टि भएको खबर सुनेसगै उनीहरू भागेका हुन् । कोही भागेर रुखमा चढेर लुकेका थिए भने कोही कुलोमा गएर सुतेका थिए । स्थानीयका अनुसार केही व्यक्ति दशगजाको खाल्डोमा गएर बसेका थिए । छिटो आइसोलेसन सेन्टरमा पुर्‍याउनु पर्ने संक्रमित भागेको खबरले जिल्लाभरिकै अवस्था तनावपूर्ण बनेको थियो ।

क्‍वारेन्टाइनबाटै संक्रमित भागाभाग

संक्रमित भगाउन परिवार र स्थानीय एकजुट भएका थिए । प्रहरीका अनुसार आसपासका गरेर एक हजारभन्दा बढी स्थानीय व्यक्ति क्वारेन्टाइन घेर्न पुगेका थिए ।

उनीहरूले शुक्रबार साँझ नेपालगन्जबाट संक्रमितलाई लिन पुगेको एम्बुलेन्स पनि घेराउ गरेका थिए । स्थानीयले सुरक्षाकर्मीसँग विवाद गर्न थालेपछि संक्रमित भाग्न सफल भएका थिए । रातभरि सम्पर्कविहीन भएका संक्रमितको खोजीका लागि नेपालगन्जबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । शनिबार बिहान मात्र उनीहरू भेटिए । यसअघि मंगलबार नरैनापुरका ५७ जना कोरोना संक्रमितले नेपालगन्जस्थित आइसोलेसन सेन्टरमा आउन मानेका थिएनन् । त्यसबेला पनि संक्रमित रहेको क्वारेन्टाइन वरिपरि करिब पाँच सय स्थानीय जम्मा भएर नेपालगन्ज लैजान नपाउने अडान राख्दै विरोधमा उत्रिएका थिए । जसका कारण संक्रमित २४ घण्टा क्वारेन्टाइनमै बसे । परिवारले घर लैजाने अडान राखेपछि सुरक्षाकर्मीले क्वारेन्टाइन घेरा हालेर बस्नु परेको थियो । शनिबार यही गाउँपालिकामा २७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरूलाई ल्याउँदा तनाव हुने देखेर सुरक्षा सतर्कता अपनाइएको छ ।

नरैनापुरका संक्रमितहरू उपचार गराउन छोडेर क्वारेन्टाइनबाट भाग्नुमा अनेक कारण छन् । ‘कोरोना संक्रमित व्यक्तिहरू मानसिक रूपमा तनावमा छन् । परिवारका सदस्य क्वारेन्टाइन पुगेर रुन्छन् । यहीं उपचार होस् भन्ने चाहन्छन् । स्थानीय भावनामा बगेर विरोधमा उत्रिन्छन्,’ गाउँपालिकाका अगुवा युवा विनय दीक्षितले भने, ‘गाउँमा भ्रम पनि फैलिएको छ । नेपालगन्ज लगेपछि खान दिइन्न । कोठामा थुनेर राखिन्छ । किड्नी पनि झिक्न सक्ने भन्दै अनावश्यक अफवाह फैलाइएको छ ।’

उनका अनुसार संक्रमित व्यक्तिलाई ल्याउन एम्बुलेन्स पुगेपछि परिवारका सदस्यहरु क्वारेन्टाइन छेउछाउ पुुगेर रोइकराइ गर्छन् । स्थानीयको भीड लाग्छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई अवरोध पुग्छ । स्थानीयले नरैनापुरमै आइसोलेसन नबनाएसम्म संक्रमितलाई लैजान नदिने अडान दोहोर्‍याउँदै आएका छन् । तर, उक्त पालिकामा बिजुलीबत्ती छैन । प्राथमिक स्वास्थ्य केन्द्रमा एक जनाको एमबीबीएस डाक्टरको दरबन्दी भए पनि अहेब र नर्सहरूका भरमा स्वास्थ्य संस्था चलेको छ । नरैनापुर–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले स्थानीय स्तरमै आइसोलेसन वार्ड नबनाएसम्म समस्या समाधान नहुने बताए । ‘पालिकामै आइसोलेसन वार्ड बनाइएको भए परिवारले टाढैबाट भए पनि देख्न र कुराकानी गर्न पाउँथे । उनीहरूको मन बुझ्थ्यो,’ उनले भने, ‘नेपालगन्ज लैजाँदा विवाद भइरहेको छ । आइसुलेसन वार्ड बनाएको भए संक्रमित व्यक्ति भाग्ने दिन आउने थिएन ।’

गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले स्थानीय नेताले ‘भ्रम’ फैलाएका कारण कोरोना संक्रमितले क्वारेन्टाइनबाट भाग्ने प्रयास गरेको बताए । ‘जान्ने बुझ्नेहरू पनि भ्रम फैलाइरहेका छन् । कोरोनामा पनि राजनीति भयो । किड्नी झिकिन्छ भन्ने अफवाह फैलाउने काम भइरहेको छ,’ उनले भने, ‘यस्ता भ्रम फैलाउनेलाई प्रशासनले किन कारबाही गर्दैन ? संक्रमित भगाउनेलाई किन संरक्षण गरिएको छ ?’

कोरोना संक्रमण फैलिरहेका बेला पनि राजनीति हुनु दु:खद भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताए । संवेदनशील समयमा सबैलाई सहयोग गर्न उनले आग्रह गरे । ‘संक्रमितलाई उपचारका लागि नेपालगन्ज ल्याउँदा पनि विरोध हुनु राम्रो होइन । यस्तो संकटका बेला सबैको सहयोग आवश्यक छ,’ उनले भने, ‘काम गर्ने वातावरण छैन । यस बेला बल प्रयोग गर्नु पनि उपयुक्त हुँदैन ।’

उक्त पालिकामा क्वारेन्टाइन नै कोरोना भाइरसको ‘इपी सेन्टर’ बनेको छ । व्यवस्थित क्वारेन्टाइन नहुँदा र त्यहाँ बस्ने व्यक्तिले दूरी कायम नगर्दा संक्रमण बढेको हो । क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, ०७६ अनुसार क्वारेन्टाइन व्यवस्थापन र त्यहाँ बस्ने व्यक्तिले आचारसंहिता कार्यान्वयन नगर्दा संक्रमण बढेको भेरी अस्पतालका कन्सलटेन्ट प्रमुख फिजिसियन तथा मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले बताए ।

‘क्वारेन्टाइन’ विरुद्ध प्रदर्शन

क्वारेन्टाइन व्यवस्थापनमा लापरबाहीको आरोपमा रूपन्देहीको कोटहीमाई गाउँपालिका–६ का बासिन्दाले शनिबार बिहान प्रदर्शन गरेका छन् । वडाको बोगडी मावि क्वारेन्टाइन व्यवस्थित नभएको भन्दै गाउँले प्रदर्शनमा उत्रिएका हुन्् । उनीहरूले गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवविरुद्ध नाराबाजी गरे । क्वारेन्टाइनमा रहेका मानिस र रेखदेखमा खटिएका कर्मचारीले लापरबाही गर्दा बस्तीमा संक्रमणको जोखिम बढेको उनीहरूको आरोप छ । क्वारेन्टाइनमा बसेकाले खेर गएको खाना प्लास्टिकको झोलामा राखेर सडकमा फ्याँक्ने गरेको र कर्मचारीले बचेको खाना–खाजा घर लैजाँदा जोखिम बढेको स्थानीयको भनाइ छ । उनीहरूले क्वारेन्टाइनमा रहेका व्यक्ति पसलमा जाने, सामान किन्ने गरेकाले पनि त्रास फैलिएको गुनासो गरे ।

समस्याबारे गाउँपालिका अध्यक्ष यादवलाई जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीय निशान्त पाण्डेले बताए । ‘क्वारेन्टाइन बनाइएदेखि नै लापरबाही थियो,’ उनले भने, ‘धेरैपटक कर्मचारी र गाउँपालिकालाई आग्रह गर्दा पनि नसुनेपछि विरोधमा उत्रिएका हौं ।’ सडकमा फ्याँकिएको खाना पशुचौपायाले खाएर घरमा जाने गरेका छन् । कर्मचारी पनि गाउँमा डुल्ने गरेका छन् । स्थानीयले उनीहरूलाई क्वारेन्टाइनमै बस्न आग्रह गरे पनि टेरिएको छैन् । ‘क्वारेन्टाइनमा बसेका मानिस साँझ परेपछि गाउँमा घुम्न आउँछन्,’ स्थानीय सन्दीप त्रिपाठीले भने, ‘कर्मचारीले त्यहाँ पकाएको खाना घरमा लिएर जाँदा झनै त्रास फैलिएको छ ।’

यसबारे जानकारी गराउन गाउँपालिका अध्यक्षको घरमै पुगेको उनले बताए । गाउँपालिका अध्यक्ष यादवले भने क्वारेन्टाइन निर्माणबाट असन्तुष्ट केही मानिसको अगुवाइमा प्रदर्शन गरिएको बताए । ‘गाउँकै बासिन्दा भारतबाट आएका हुन् । उनीहरूलाई राख्न क्वारेन्टाइन बनाउँदा संक्रमणको भ्रम फैलाएका हुन्,’ उनले भने, ‘कर्मचारी पनि सतर्क छन् ।’ विरोध गर्ने तर आफूहरू भीडभाड गर्दै बिनामास्क गाउँमा हिंड्दा जोखिम बढ्ने कुरामा भने ध्यान नदिने गरेको आरोप यादवले बताए । स्थानीयले शुक्रबार इलाका प्रहरी मझगावमा लापरबाहीबारे निवेदन दिएर क्वारेन्टाइन सुरक्षित बनाउन आग्रह गरेका थिए ।

यो गाउँपालिकाले हेर्ने विषय भएकाले त्यतै छलफल गर्न सल्लाह दिएको प्रहरी निरीक्षक चन्द्र केसीले बताए । ‘गुनासोका आधारमा गाउँपालिका अध्यक्षसँग कुरा भएको छ,’ उनले भने, ‘अध्यक्षले बैठक बसेर समाधान गर्ने बताउनुभएको छ ।’ उक्त क्वारेन्टाइनमा जेठ ६ देखि मानिस बस्न थालेको हुन् । क्वोन्टाइनको स्टोरमा काम गर्ने प्रदीप नाउले केही मानिसले गलत अफवाह फैलाएको बताए । ‘बचेको खाना खाडल खनी पुर्ने र कागज जलाउने गरेका छौं,’ उनले भने, ‘केही सामान सिद्धिएको खण्डमा क्वारेन्टाइनमा लगाएको लुगा फेरेर मात्र बाहिर निस्कने गर्छौं ।’ दिनरात खटिएका कर्मचारीको मनोबल बढाउनुको सट्टा विरोध गरिएको गुनासो उनको छ । क्वारेन्टाइनमा भारतबाट आएका ७० जना छन् ।

कारबाही भएन

कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का दुई क्वारेन्टाइनमा रहेकालाई भगाउन भूमिका खेलेको आरोप लागेका उक्त वडाध्यक्षमाथि कुनै कारबाही भएको छैन । क्वारेन्टाइनमा उपलब्ध सेवा सुविधाबारे गुनासो गरेपछि वडाध्यक्षले उनीहरूलाई भागेर घर जान उक्साएको आरोप छ । यशोधरा–८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानले जेठ २ र ३ गते ४४ जनालाई भगाएका थिए । खोरिया स्थित सरस्वती प्राविका क्वारेन्टाइनमा बसेका १८ र उक्त वडाकै राष्ट्रिय निमावि सिहखोरको क्वारेन्टाइनमा बसेकालाई घर जान समर्थन गरेको प्रशासनले जनाएको छ । घटनापछि उनले सञ्चारकर्मीलाई क्वारेन्टाइनबाट मान्छे भागेको जानकारी गराएका थिए । ‘गाउँमा पुगेका सुरक्षाकर्मीले बुझ्दा वडाध्यक्षले भगाएको पायौं,’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘तर, उनलाई कारबाही भने गरेनौं ।’

एउटै पालिकामा ११४

बाँकेको नरैनापुर गाउँपालिकामा शनिबार २७ जनामा संक्रमण पुष्टि भएपछि एउटै पालिकामा संक्रमितको संख्या ११४ पुगेको छ । दाङस्थित राप्ती विज्ञान प्रतिष्ठान अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार ठूलो संख्यामा संक्रमित थपिएका हुन् । नरैनापुरस्थित–६ मदरसा, नरैनापुर–३, राष्ट्रिय प्रावि गेगलीमा क्वारेन्टाइनमा बसेका १५ र नरैनापुर–१ राष्ट्रिय प्रावि महतेनीयाको क्वारेन्टाइनमा रहेका ६ जनामा शनिबार संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । व्यवस्थित क्वारेन्टाइन नहुँदा संक्रमण बढेको चिकित्सकले जनाएका छन् । शुक्रबार संक्रमित १३ जना भागेपछि सुरक्षाकर्मीले खोजी गरी नेपालगन्ज ल्याउने तयारी गरिरहेका छन् । संक्रमितलाई नेपालगन्ज ल्याउने क्रममा स्थानीयले विरोध जनाउदै आएका छन् । उनीहरूले नरैनापुरमै आइसोलेसन वार्ड बनाउन माग गर्दै आएका छन् ।

क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६ अनुसार एक सय जना क्वारेन्टाइनमा बसेकाहरूका लागि सुपरीवेक्षणका लागि एमपीएच/एमडी कम्युनिटी मेडेसिन एक, मेडिकल अधिृकत एक, स्वास्थ्य परिचारिका एक, प्यारामेडिक एक, ल्याब टेक्निसियन एक, फार्मसिस्ट (डिफार्म) एक, २४ घण्टा एम्बुलेन्स र तालिम प्राप्त प्यारामेडिक दुई र एम्बुलेन्स चालक एक, फोहोर व्यस्थापनका लागि सफाइ सुपरीवेक्षक एक, सरसफाइ गर्ने कर्मचारी पाँच जना आवश्यक मानिन्छ ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिले सबैलाई सम्मानजनक व्यवहार र सहयोगी बन्ने, भेदभाव नगर्ने, सुर्तीजन्य तथा मादक पदार्थ सेवन नगर्ने, अभद्र व्यवहार नगर्ने, सभ्य तथा शोभनीय पोसाक लगाउने, नकारात्मक गतिविधि, होहल्ला नगर्ने, तोकिएको स्थानमा मात्र रहने, अरुलाई बाधा नगर्ने, बाह्य व्यक्तिलाई नजिक आउन नदिने, क्वारेन्टाइनमा बस्ने व्यक्ति भाग्न लागेको जानकारी पाएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्ने, समझदारी अनुसार सुविधा उपभोग गर्ने लगायत मापदण्ड तोकिएको छ । मापदण्ड अनुसार खोक्दा वा हाछ्यु गर्दा नाक मुख छोप्ने र छोप्न लगाउने, सामाजिक दूरी कायम गर्ने लगायत छन् ।

१० जना निको भएर घर

शनिबार रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एकैसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएका उनीहरू सबै कपिलवस्तुका हुुन् । दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुईपटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुुदर्शन थापाले बताए ।

‘बिरामीलाई निको भएर पठाउँदा खुसी लागेको छ,’ उनले भने, ‘आत्मबल बलियो राख्ने र अपनाउनुपर्ने नियममा ख्याल गरे कोरोनालाई जितिन्छ ।’ निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश दिएको उनले सुनाए । थापाका अनुसार अहिले अस्पतालमा आठ जना नयां बिरामी थपिएका छन् । धागो कारखानाको कोरोना अस्पतालमा उपचार गराइरहेका बिरामीको संख्या ३४ छ । यसअघि रुपन्देहीको कोटहीमाईका २५ वर्षीय युवक निको भएर घर गइसकेका छन् । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २ सय ७१ छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?