एक महिनामा डेढ लाखले गरे कोरोना बिमा

जेष्ठ ११, २०७७

यज्ञ बञ्जाडे

काठमाडौँ — पछिल्लो समय कोरोना बिमा गर्नेको संख्या बढेको छ । कोरोना बिमालेख जारी भएपछि बिहीबारसम्म करिब १ लाख ६० हजारले यस्तो बिमा गरेका छन् । कोभिड–१९ को जोखिम सुरक्षणका लागि एक महिनाअघि (वैशाख ४ मा) बिमा समितिले कोरोना बिमालेख जारी गर्न निर्देशन दिएको थियो । वैशाख ७ देखि बिमा कम्पनीहरूले यो बिमालेख जारी गरेका हुन् ।

एक महिनामा १ लाख ५९ हजार ९ सय ३६ जनाले कोरोना बिमा गरेका हुन् । यसबाट ८ करोड ६१ लाख ४४ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ । यस अवधिमा १२ हजार ५ सय ७८ वटा बिमालेख बिक्री भएको बिमा समितिले जनाएको छ । गएको एक महिनामा औसत दैनिक ५ हजार ३ सय ३३ जनाले बिमा गरेको देखिन्छ । कोभिड–१९ को जोखिम सुरक्षणका लागि जारी गरिएको बिमा लेख हो यो । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बिमालेख बिक्री गरिरहेका छन् ।

कोरोना जोखिम बढ्दो अवस्थामा रहेको र कम खर्चमा बिमा गरेर जोखिम सुुरक्षण गर्न सकिने भएकाले पनि यसमा आकर्षण बढ्दै गएको हो । निर्जीवन बिमा कम्पनीमध्ये बिहीबारसम्म शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३२ हजार ६७ जनाको १ करोड ७६ लाख रुपैयाँ बराबरको यस्तो बिमा गरेको छ । सबैभन्दा कम नेसनल इन्स्योरेन्सले २ हजार ३५ जनाको ११ लाख ५२ हजार रुपैयाँ बराबरको बिमा गरेको समितिको तथ्यांक छ ।

सुरु भएको पहिलो सातामै १० हजारभन्दा बढीले कोरोना बिमा गरेका थिए । त्यसपछिको साता थप १७ हजारको बिमा भएकोमा हालसम्म सवा लाख पुगेको समितिका कार्यकारी निर्देशक राजुरामण पौडेलले बताए । ‘लकडाउनको अवधिमा पनि बिमालेखको बिक्री राम्रो छ,’ उनले भने, ‘यो बिमा अनलाइनबाटै गर्न सकिने भएकाले पनि छोटो समयमा धेरैले लाभ लिन सकेका हुन् ।’ कोरोना बिमालेख कम आय भएका वर्गलाई लक्ष्य गरिएकाले उक्त वर्गमा पुर्‍याउनेतर्फ केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।

‘प्रतिव्यक्ति ३ सय र ६ सय प्रिमियम तिरेर परिवारको बिमा गरी क्रमश: ५० हजार र एक लाख रुपैयाँ दाबी भुक्तानी पाइन्छ,’ उनले भने, ‘कोरोना लागेका बिरामीका लागि उक्त रकमले ठूलो राहत दिन्छ ।’ कोरोनाको उपचार सरकारले गरे पनि बिमाको पैसा बिरामी कुरुवा, अस्पताल आवतजावत, भिटामिन, फलफूललगायतमा उपयोग हुने उनले बताए ।

कोरोना बिमालेखमा एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक तोकिएको छ । व्यक्तिगत, सामूहिक (परिवार, कार्यालयका कर्मचारी आदि) रूपमा पनि यो बिमा गर्न सकिन्छ । एक लाख रुपैयाँको बिमाका लागि व्यक्तिले एक हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) तिर्नुपर्छ । तर सामूहिक रूपमा घरपरिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ ।

यस्तै ५० हजार रुपैयाँ बिमांक रहेको बिमाका लागि प्रतिव्यक्ति ५ सय र सामूहिक रूपमा प्रतिव्यक्ति ३ सय रुपैयाँमा बिमा गर्न सकिन्छ । तीन महिनाको बच्चादेखि ९९ वर्ष उमेर समूहका व्यक्तिका लागि यो बिमा गर्न सकिन्छ । अस्पतालबाट कोरोना संक्रमण पुष्टि भएलगत्तै दाबी भुक्तानी पाइन्छ । तर बिमा गरेको १५ दिनपछि मात्र उक्त बिमा सक्रिय (एक्टिभ) हुने कम्पनीहरूले जनाएका छन् । कोभिड–१९ बाहेक अन्य कुनै रोग लागेमा भने दाबी गर्न पाइँदैन । यो बिमा परिपक्व हुने अवधि बिमा लेख सुरु भएको मितिदेखि १२ महिनाको हुन्छ ।

विदेशबाट फर्केकालाई परीक्षणपछि मात्र बिमा

यसैबीच भारतलगायत तेस्रो मुलुकबाट फर्केका नेपालीले स्वास्थ्य परीक्षणपछि मात्र कोरोना बिमा गर्न पाउने भएका छन् । पछिल्ला दिनमा भारतलगायत मुलुकबाट फर्किनेको संख्या बढेपछि बिमा समितिले शुक्रबार कम्पनीहरूलाई परिपत्र गरी उक्त निर्देशन दिएको हो ।

निर्देशनअनुसार अब कम्पनीहरूले भारतलगायत मुलुकबाट आएका नेपाली नागरिकको हकमा १५ दिन क्वारेन्टाइनमा बसेपछि परिवारसँग भेट भएको १५ दिनपछि मात्र कोरोना बिमा गर्न पाउनेछन् । ‘विदेशबाट नेपाल फर्केका नेपाली नागरिक र उनको परिवारले अनिवार्य आरडीटी परिक्षण गराई त्यसको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेस गर्नुपर्ने,’ निर्देशनमा भनिएको छ । आरडीटी प्रतिवेदन स्वास्थ्य मन्त्रालय वा मातहतका निकायबाट प्रमाणित हुनुपर्नेछ ।

कोरोना भाइरस

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully