रुपन्देहीबाट पनि १० संक्रमित निको भएर घर फर्किए

जेष्ठ १०, २०७७

सन्जु पौडेल

तिलोत्तमा — शनिबार रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एकैसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएका उनीहरू सबै कपिलवस्तुका हुन् ।

दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए ।

'बिरामी निको भएर पठाउँदा खुसी लागेको छ', उनले भने, 'आत्मबल बलियो राख्ने र अपनाउनुपर्ने नियममा ख्याल गरे कोरोनालाई जितिन्छ ।'

निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनले बताए । थापाका अनुसार अहिले अस्पतालमा ८ जना नयाँ बिरामी थपिएका छन् । धागो कारखानाको कोरोना अस्पतालमा  उपचार गराइरहेका बिरामीको संख्या ३४ छ ।

यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन् । 

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully