महामारीको मारमा गर्भवती महिला 

वन्दना ढकाल

काठमाडौँ — आफ्नो दोस्रो सन्तानको न्वारानको दिनसमेत नआउँदै बिहीबार सिन्धुपाल्चोककी एकजना आमाले ज्यान गुमाइन् । आधारभूत उपचारसमेत नपाएर उनको मृत्यु भएको देखिन्छ । उनको अवसान भइसकेपछि मात्रै सरकारले निधनको कारणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको सार्वजनिक गरेको छ । 

यसरी नेपालभित्र कोभिड–१९ कै कारण पहिलो ज्यान गुमाउने व्यक्ति एकजना जवान उमेरकी आमा भएकी छिन् । यो दुःखद् घटनालाई धेरैले मिडिया र सामाजिक सञ्जालमा कोरोना भाइरसको संक्रमण र त्यसले निम्त्याएको खतरा बढेको रूपमा मात्रै अर्थ्याए । तर, यसले गर्भवती महिला र सुत्केरी आमाहरूको स्वास्थ्य सुरक्षामा सरकारले गर्दै आएको लापरबाही, बेवास्ता र दोयम व्यवहारलाई पनि उद्घाटित गरेको छ ।

४ जेठमा प्रकाशित नयाँ पत्रिकाको रिपोर्टअनुसार लकडाउन घोषणा गरिएको चैत महिनामा मात्रै ५३ जना सुत्केरी महिलाले ज्यान गुमाइसकेका छन् । अघिल्लो वर्षको त्यसै अवधिमा भने मातृमृत्यु संख्या शून्य थियो । रिर्पोट भन्छ– अहिले एकै महिनामा ३० हजार सुत्केरी स्वास्थ्य संस्थाको सम्पर्कबाहिर छन् । यस हिसाबले लकडाउनको गत दुई महिनामा ६० हजार सुत्केरी र नवजात शिशु स्वास्थ सेवाको पहुँचबाट वञ्चित छन् । एकजना गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्नु भनेको आउँदो युगको स्वास्थ्य नै जोखिमा पर्नु हो । आज गर्भवती, सुत्केरी र नवजात शिशु रोगी हुँदा आउँदो ५०–६० वर्षसम्म समाज रोगी हुनु हो । आमा र बच्चाको शारीरिक, मानसिक, सामाजिक स्वास्थ्य खतरामा पर्दा त्यसले देशकै भविष्य संकटमा पार्छ ।

कोरोना भाइरस संक्रमणबाट सम्पूर्ण विश्व एकैचोटि प्रभावित छ । यो भाइरसले महिला वा गर्भवतीलाई बेग्लै रूपमा असर पार्छ वा पार्दैन भन्ने अहिलेसम्मको अध्ययनले निष्कर्ष दिएको छैन । तथापि, गर्भावस्था आफैंमा संवेदनशील अवस्था हो । सरकारले जारी गरेको कोरोना जाँच प्रोटोकलले गर्भवतीको कोरोना जाँच गर्ने बेग्लै व्यवस्था गरेको छैन । सिन्धुपाल्चोककी महिला मृत्युको शिकार बन्नुअघि नै कोरोना भाइरस संक्रमणको जाँच र त्यसका निम्ति उपचार नहुनुमा पनि यसले काम गरेको देखिन्छ । लकडाउनको दुई महिनाभरि उनी अरु कुनै संक्रमितको सम्पर्कमा पुगेको आधार पनि पुष्टि भएको छैन । त्यस आधारमा उनलाई अस्पतालबाटै संक्रमण भएको त होइन भन्ने अड्कल पनि काट्न थालिएको छ ।

अघिल्लो महिना पैदलै घर फर्किरहेका श्रमिकहरूको धुइरोमा गर्भवती महिलाहरू पनि थिए । कान्तिपुरमा प्रकाशित ‘जहाँको सास्ती सरकारले देख्दैन’को रिपोर्टमा पत्रकार बिनु सुवेदी लेखेकी थिइन्– सात महिनाकी गर्भवती सत्र वर्षीय कमला घर्ती हिँडेरै सल्यान पुग्न कस्सिएकी छन् तर उनी नागढुंगामै अलपत्र परिन् । फरकफरक गर्भावधिका महिला र सुत्केरीहरू हिँडेरै घर पुगेका समाचार विभिन्न मिडियामा लकडाउन भएयता आइरहेकै छन् । सामान्य आकलन गर्दा पनि पूर्वदेखि पश्चिम र पश्चिमदेखि पूर्वसम्म हिँडेको मजदुरको ताँतीमा गर्भवतीको संख्या उल्लेख्य छ/थियो भन्न सकिन्छ । गर्भावस्था सामान्य भन्दा अधिक आराम, अधिक पोषिलो खाना, अधिक माया, अधिक स्वास्थ्यको हेरविचार स्वयं र परिवारले राख्नुपर्ने समय हो । यस्तो बेलामा आफू र गर्भमा हुर्किरहेको शिशुको ख्याल राख्नुपर्ने दोहोरो जिम्मेवारीमा महिला हुन्छन् ।

विश्वभरि फैलिएको कोरोना महाव्याधीले नेपालमा पनि आर्थिक, सामाजिक, स्वास्थ्य र मानवीय संवेदनालाई नै संक्रमित गरिरहेको छ । दैनिक ज्यालादारी मजदुरहरूको मजदुरी खोसिएको छ । यसमा महिलाहरूको संख्या उल्लेख्य छ । चाहे ती निर्माण क्षेत्र र कारखानामा काम गर्ने महिलाहरू हुन् वा घरेलु कामदार र गृहणीहरू नै किन नहोऊन् । सहरबाट हिँडेर घर पुग्ने महिलामा गर्भवतीहरूको संख्या पनि बढी थियो भन्न सकिन्छ । छिनछिनमा खाना खाइरहनुपर्ने, एक छिनमै के खाऊँ के खाऊँ भइहाल्ने, छिनमै ढाड दुख्ने, कोखा बटारिने, वाक्वाकी हुने, हातखुट्टा फत्रक्क गल्ने, हर्मोनका गडबडीका कारण मनोदशा परिवर्तन भइरहने समय हो, गर्भावस्था ।

तर, अत्यधिक हिँडाइका कारण कतिपय महिला ‘घर’ नपुग्दै गर्भ तुहिने हो कि ? महिना लागेकाको बाटैमा सुत्केरी पो भइने हो कि ? वा रक्तस्राव पो हुने हो कि ? कोखको शिशु चलेको छ कि छैन भन्दै बेलाबखत पेट छाम्दै ठाउँ ठाउँमा सुस्ताए होलान् । यी र यी जस्ता यावत् परिस्थितिको भागीदार हुने डरमा बाटो काटे होलान् । कुनै ट्रकले दया गरेर लगिदिन्छन् कि भनेर दयायाचनामा नागढुंगापर पिपलामोडमा उभिएकी बिनु सुवेदीको रिर्पोटमा उल्लेखित कमला घर्तीको पुटुक्क उठेको पेटले अहिलेका गर्भवती महिलाको कठिन अवस्थालाई प्रतिनिधित्व गर्छ ।

प्राकृतिक प्रकोप होस् वा मानवसिर्जित संकट, त्यसको मारमा सबैभन्दा पहिला र बढी महिला नै पर्ने गरेका छन् । अहिले कोरोना भाइरसको संक्रमणले सिर्जित संकटको मारमा पनि महिलाहरू बढी परेका छन् । घरेलु हिंसामा बढोत्तरी होस् वा बलात्कार घटना । सामान्य स्वस्थ व्यक्ति त अहिलेको कोरोना आतंकका कारण हरपल त्रसित छ भने गर्भवती महिलाले त्यही त्रासमै आफूसँगसँगै पेटभित्रको शिशुलाई जोगाइराख्नुपर्ने चुनौती छ । जनस्वास्थ्यको बागडोर समातेको हाम्रो स्वास्थ्य मन्त्रालयले भने न गर्भवती महिलाहरूबारे बोलेको छ, न यसका लागि कुनै व्यवस्था गरेको छ ।

हालै मोरङको एउटा निजी अस्पतालले शल्यक्रिया कक्षबाटै गर्भवतीलाई उपचार गर्दिनँ भनेर निकालेको समाचार सार्वजनिक भएको थियो । सञ्चारमाध्यममा नआइपुगेका यस्ता धेरै घटनाहरू अहिले गर्भवती र सुत्केरीले भोगिरहेका छन् । सार्वजनिक सवारीसाधन बन्द हुँदा नियमित परीक्षण गराउनुपर्ने गर्भवतीहरू स्वास्थ्य संस्थासम्म पुग्न पनि सकेका छैनन् । कतिपय डाक्टरहरूले गर्भवतीलाई फोनबाटै स्वास्थ्य सेवाबारे जानकारी दिइरहेको पनि पाइन्छ । कुनै पनि बखत अस्पताल कुदिहाल्नुपर्ने अवस्थामा भएका गर्भवती महिलालाई आफ्नो क्षेत्रका स्वास्थ्यसंस्थाहरूले कोरोनाबाट आतंकित भएर सेवा नदिने हुन् कि भन्ने तनाव छ । हाम्रो राज्य प्रणालीले प्रजनन स्वास्थलाई नितान्त महिलाको मामिलाका रूपमा व्यवहार गर्दै आएको छ । सामाजिक इकाइदेखि राज्यको संरचनासम्म पुरुषसत्तात्मक भएका कारण नीतिगत निर्णयमा पनि पुरुष सोच र दृष्टिकोण हावी हुँदै आएको छ । यस्तो दुर्भाग्यपूर्ण व्यावहारिकताको पीडा कोरोना विश्वव्याधीमा झन् बढेको छ ।

कति अस्पतालले आंशिक सेवा मात्रै दिएका छन् । हालै सुदूरपश्चिमको प्रसूति सेवाका लागि सुविधायुक्त भनिएको सेती अस्पताललाई कोरोना अस्पतालमा रूपान्तरित गरेपछि प्रसूति सेवा ठप्प भयो । तर, विरोध भएपछि तीन दिनमा नजिकैको अस्पतालमा प्रसूति सेवा सुरु गरियो । यही घटनालाई हेर्दा पनि महिला र प्रजनन स्वस्थलाई सरकारले प्राथमिकतामा राख्दैन भन्ने पुष्टि हुन्छ । यस्ता घटनाले संविधानमा लेखिएको सुरक्षित प्रजननको अधिकार केवल कागजको अधिकार हो भन्ने व्यवहारमा देखाएको छ ।

सरकार (खासगरी प्रदेश र स्थानीय सरकार) ले अझै पनि गर्भवती र सुत्केरी महिलाका विषयमा संवेदनशील भई महामारी बेलामा गर्भवतीको स्वास्थ्य उपचारका निम्ति स्वास्थ्यकर्मीहरूको छुट्टै टोली खडा गरेर परिचालन गर्न सक्छ । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रत्येक वडावडामा डाक्टर, नर्स, स्वयमसेवकहरूको स्पेसल टास्क फोर्स खडा गर्न सक्छ र भविष्यलाई जन्म दिने आमा र भविष्य हाँक्ने शिशुहरूको जीवनरक्षालाई प्राथमिकतामा राख्न सक्छ । गर्भवती महिलाका लागि कुनै समस्या पर्दा तुरुन्तै सम्पर्क गर्न सकिने र सेवा उपलब्ध गराउने हटलाइन सेवा र सम्पर्कको पनि व्यवस्था गर्नु आवश्यक छ । त्यसो गर्दा मात्रै अस्पताल पुग्न नसक्ने, कोरोनाकै डरले अस्पताल जान डराइरहेका, नियमित चेकजाँच गर्न नपाएका, बेथा लागेर अस्पताल पुग्न छटपटाइरहेका गर्भवतीका लागि राहत हुने थियो । प्रकाशित : जेष्ठ १०, २०७७ १९:३६

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भारतीय क्‍वारेन्टाइनमा नेपालीको मृत्यु

माधव ढुंगाना

भैरहवा — भारतमा रोजगारी गरी घर फर्कने क्रममा भारतीय क्‍वारेन्टाइनमा रहेका एकजना नेपालीको शनिबार मृत्यु भएको छ ।

लकडाउनका कारण स्वदेश आउन नपाएका ती नेपालीको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भएको थियो ।

उनलाई स्वदेश आउने क्रममा सुनौली नाकाको सिमानाबाट केही दिन अघि फर्काएर भारतको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएको थियो । मृत्यु हुनेमा स्याङजाको हरिनाथ नगरपालिका-२ चिसापानीका ३५ वर्षीय देवबहादुर थापा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मृतक थापा भारतको दिल्ली नजिकैको अलिगढ भन्‍ने स्थानमा रोजगारी गर्ने गरेको र उनी मृगौलाको बिरामी भएपनि पछिल्लो पटक हर्नियाको पनि बिरामी रहेको कुरा जानकारीमा आएको बताए ।

‘उनलाइ सन्चो नभएपछि हिजो भारतको महाराजगंज जिल्लाको सदरमुकामस्थित अस्पतालमा उपचारार्थ लगिएको थियो,’ पन्थले भने, ‘औषधिसहित साँझ क्वारेन्टाइनमा फर्केका थापाको आज बिहान मृत्यु भएको जानकारी आयो ।’ प्रजिअ पन्थका अनुसार मृतकको भारतको महाराजगंजस्थित अस्पतालमै पोष्टमार्टम भइरहेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ १९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×