नेपालगन्ज — नेपालगन्ज नाका भएर भारतबाट फर्किएका नेपालीहरुको आरडीटी जाँचमा स्वास्थ्यकर्मीहरु व्यस्त भएपछि कोरोना संक्रमण देखिएको क्षेत्रका कन्ट्क्याट ट्रेसिङको काम रोकिएको छ ।
तीन दिनअघि नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुर्वामा एक जनामा कोरोना संक्रमण देखिएको थियो । शुक्रबार नरैनापुर गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारी गरेका थिए ।
बिहीबार भारतबाट ६ सय ८७ जना नेपाल भित्रिएका थिए । घर फर्किन पाउने हल्लाले नेपालगन्ज नाकामा भीड जम्मा भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले ४ सय ६६ जनाको कोरोना आरडीटी जाँच गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीको टोली व्यस्त भएको बताए । उनका अनुसार जनशक्ति अभाव भएपछि कोरोना प्रवाभित क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङको काम रोकिएको बताए । ‘स्वास्थ्यकर्मीको टोली सीमामा आएका नेपालहरुको आरडीटी जाँचमै व्यस्त छन् । त्यसैले कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्न आजै गर्न भ्याएनौं,’ उनले भने ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार प्रयोगशालामा काम गर्ने १७ स्वास्थ्यकर्मी छन् । थप जनशक्तिका लागि २० जनालाई तालिम दिइएको छ । नेपालगन्ज सीमामा आएकाहरुलाई आरडीटी जाँपछि घर पठाइने तयारी गरिएको छ ।
