रासायनिक मलको कालोबजारी गर्ने व्यापारी धरौटीमा छुटे

जेष्ठ २, २०७७

राजकुमार कार्की

सिन्धुली — लकडाउनकै समयमा बढी मूल्यमा युरिया मल बिक्री गरेको आरोपमा पक्राउ परेका सहकारी सञ्चालक डुकेन्द्रराज दाहाल एक लाख ७० हजार धरौटीमा छुटेका छन् ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार ८४० बोरा युरिया मल सिन्धुलीमा बिक्रीवितरण नगरी रामेछाप पठाउन लागेको अवस्थामा गोदाममा सिल गरी सञ्चालक दाहाललाइ पक्राउ गरिएको थियो ।

आयात भएको मलमध्ये १७० बोरा प्रगतिशील कृषि सहकारी संस्था रामेछापलाई बिक्री गरेको र बाँकी ६७० बोरा युरिया मल पठाउने तयारी गरेको थाहा पाएपछि ट्रकसहित नियन्त्रणमा लिइएको थियो ।

जय बागवानी कृषि सहकारी संस्थाका सञ्चालक दाहालले बढी मूल्यमा मल बिक्री गरेको गुनासो आएको प्रजिअ पाण्डेले बताए । वीरगन्जबाट जनकपुरका लागि चलान भएको युरिया मल दाहालले सिन्धुली ल्याएका हुन् । 

लकडाउन

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully