१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लकडाउनमा ‘मेचीपारिको नेपाल’ [तस्बिरहरु]

शब्द/तस्बिर : पर्वत पोर्तेल

मेचीपारि, झापा — पूर्वी सिमाना भारतको बिहारसँगै सटेको छ । पश्चिमतिर मेची नदी  । बिहार र मेची नदीबीचको सानो भूभाग हो मेचीपारिको नेपाल । भद्रपुर-३ मा पर्ने यो गाउँ छुट्टै देशजस्तो लाग्छ । करिब डेढ सय घरधुरीको गाउँमा महतो, सन्थाल र राजवंशी समुदायको बसोबास छ ।

कोरोना संक्रमणका कारण लकडाउन छ । सीमानामा नाकाबन्दी । तर, पनि यो गाउँ चकमन्न छैन । कहिँकतैबाट मान्छेहरु पुग्दैनन् । भारतबाट त आउने कुरै भएन । ‘लकडाउनका कारण हाम्रो गाउँ कोरोनाबाट धेरै सुरक्षित छ’, वडा सदस्य अरुण राजवंशीले भने, ‘बाहिरबाट मान्छेहरु नआएपछि हामी त्यसै सुरक्षित हुने नै भयौ ।’ उनका अनुसार गाउँभित्र चहलपहल छ । खेतबारीमा काम गर्नेहरुको दैनिक बिथोलिएको छैन । बिथोलिएको छ त मात्रै किनमेलका लागि भारत जाने क्रम । ‘अब भारत नजाँदा पनि हामी बाँच्ने रहेछौं भन्ने लाग्न थालिसक्यो’, स्थानीय उमेश महतो भन्छन्, ‘लकडाउनले हामीलाई श्रमजीवी बन्न थप सिकायो ।’

यो गाउँको मुख्य बजार आफ्नै नगर भद्रपुर हैन, विहारको गलगलिया, ठाकुरगञ्ज हो । लकडाउनका कारण कसैले गाउँ छाडेका छैनन् । विहार जान नाकाबन्दी छ, भद्रपुरतिर मेची नदी तगारो । विगतमा भारत जान्थे । ‘अब भारत जाने बानी पनि हराइसक्यो’, उमेश हाँस्दै भन्छन्, ‘सधैं भारतको भर मात्रै परेर नहुने रहेछ ।’

वडा सदस्य राजवंशीका अनुसार मेचीपारिका नेपाली ८० प्रतिशत बढी कृषिमा आबद्ध छन् । जसका कारण चामल र तरकारीको समस्या भने छैन ।


प्रकाशित : जेष्ठ २, २०७७ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्