मेचीपारि, झापा — पूर्वी सिमाना भारतको बिहारसँगै सटेको छ । पश्चिमतिर मेची नदी । बिहार र मेची नदीबीचको सानो भूभाग हो मेचीपारिको नेपाल । भद्रपुर-३ मा पर्ने यो गाउँ छुट्टै देशजस्तो लाग्छ । करिब डेढ सय घरधुरीको गाउँमा महतो, सन्थाल र राजवंशी समुदायको बसोबास छ ।
कोरोना संक्रमणका कारण लकडाउन छ । सीमानामा नाकाबन्दी । तर, पनि यो गाउँ चकमन्न छैन । कहिँकतैबाट मान्छेहरु पुग्दैनन् । भारतबाट त आउने कुरै भएन । ‘लकडाउनका कारण हाम्रो गाउँ कोरोनाबाट धेरै सुरक्षित छ’, वडा सदस्य अरुण राजवंशीले भने, ‘बाहिरबाट मान्छेहरु नआएपछि हामी त्यसै सुरक्षित हुने नै भयौ ।’ उनका अनुसार गाउँभित्र चहलपहल छ । खेतबारीमा काम गर्नेहरुको दैनिक बिथोलिएको छैन । बिथोलिएको छ त मात्रै किनमेलका लागि भारत जाने क्रम । ‘अब भारत नजाँदा पनि हामी बाँच्ने रहेछौं भन्ने लाग्न थालिसक्यो’, स्थानीय उमेश महतो भन्छन्, ‘लकडाउनले हामीलाई श्रमजीवी बन्न थप सिकायो ।’

