सरकारलाई कांग्रेसको आग्रह : सिमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश देऊ

जेष्ठ २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले सिमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश गराउन सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लो चौबीसै घण्टामा हजारौं नेपाली नागरिक सीमा क्षेत्रमा अलपत्र परेको भन्दै तत्काल प्रवेश गराउन सरकारसँग माग गरेका हुन् । 

भारत सरकारले रेल र बसमार्फत् यात्राको सुविधा दिएपछि भारतको विभिन्न सहरबाट नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रस्ट नीति तय गरेर स्वदेश आउन दिनुपर्ने कांग्रेसले माग गरेको छ । 

‘जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने एकातर्फ खाने-बस्ने कठिनाइमा हजारौं नेपाली दशगजा क्षेत्रमा थप प्रताडित हुनेछन् भने अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अत: नाकामा आइपुगेका सबै नेपालीलाई व्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परीक्षणपश्चात् सुरक्षित रूपमा घर पुर्‍याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।’

लुकिछिपी प्रवेश भएकै कारण यसबीचमा संक्रमण फैलिएको भन्दै कांग्रेसले सतर्कता र उच्च मानवीय भावनाका साथ सरकार हुनुको दायित्व निर्वाह गर्न सरकारलाई आग्रह गरेको छ ।

लकडाउनकोरोना भाइरससीमानाका

कान्तिपुर

Link copied successfully