कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रभावित गोर्खाहरूलाई सघाउन बेलायतलाई दूतावासको पत्र

नवीन पोख्रेल

लन्डन — लन्डनस्थित नेपाली दूतावासले सोमबार कोभिड–१९ बाट प्रभावित यहाँका भूतपूर्व गोर्खाहरूलाई सहयोग उपलब्ध गराइदिन बेलायत सरकारलाई पत्राचार गरेको छ ।

कोरोना प्रभावित गोर्खाहरूलाई सघाउन बेलायतलाई दूतावासको पत्र

सरकारका अधिकारीहरूलाई लेखिएको पत्रमा बेलायतमा रहेका नेपालीमध्ये भूतपूर्व गोर्खा वृद्धवृद्धा र उनीहरूका परिवार कोरानाले बढी प्रभावित भएकाले यथाशक्य चाँडो आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ ।

कोरोनाले पूर्वगोर्खाहरूको मृत्युदर पनि उच्च रहेको, उनीहरू भाषागत र अस्पताल तथा अत्यावश्यक सामग्रीमा न्यून पहुँचजस्ता समस्याबाट गुज्रिरहेको तर्फ दूतावासले सरकारको ध्यानाकर्षण गराएको छ । बेलायतमा हालसम्म कोरोना संक्रमणले ३४ नेपालीको मृत्यु भएकामा २६ जना पूर्वगोर्खा छन् ।

राजदूत दुर्गाबहादुर सुवेदीले बेलायतको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोर्खा वेलफेयर ट्रस्टका पदाधिकारीलाई समस्याबारे ध्यानाकर्षण गराउनुका साथै दूतावासले समेत आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको उपनियोग प्रमुख शरदराज आरनले जनाए । दूतावासले पूर्वगोर्खाहरूका लागि नेपाली भाषामै जानकारी र परामर्श उपलब्ध गराउन तथा अस्पताल र औषधिको पहुँच सहज बनाउन बेलायत सरकारलाई आग्रह गरेको उनले बताए ।

दूतावासले गोर्खा वेलफेयर ट्रस्टलाई आवश्यक खाद्यान्न व्यवस्थापन र उसबाट प्रदान हुने अन्य सहयोगमा पनि सहजीकरण गरिदिन आग्रह गरेको छ । बेलायतमा पूर्वगोर्खाहरूको संख्या करिब २० हजार छ । समान पेन्सन पाए उनीहरूमध्ये अधिकांश नेपाल नै फर्कने मनस्थितिमा रहेको गोर्खा संगठनहरूले बताउँदै आएका छन् ।

प्रकाशित : वैशाख १६, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?