'क्याबिनेट मिनिस्टर' बनाउने प्रधानमन्त्रीको प्रस्ताव थियो : सांसद यादव

गोकुल बाँस्कोटा असफल भएपछि बस्नेत, श्रेष्ठ र खनालको प्रयोग !

वैशाख १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — समाजवादी पार्टी विभाजन गरेर अर्को पार्टी गठन गरेमा मन्त्री बनाउने भनेर प्रधानमन्त्रीको तर्फबाट आफूलाई प्रस्ताव आएको सांसद डा. सुरेन्द्र यादवले बताएका छन् । कान्तिपुर टिभीसँग कुरा गर्दै उनले आफूलाई काठमाडौं ल्याउने सांसदहरू महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्रनाथ खनालले प्रधानमन्त्रीका तर्फबाट उक्त प्रस्ताव दिएको बताए । 

राजनीतिक दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश जारी भएको भोलिपल्ट मंगलबार नै प्रधानमन्त्री ओलीको तर्फबाट सम्पर्क गरेको र पछि मन्त्री बनाउने प्रस्ताव सुनाएको सांसद यादवले बताए । उनलाई महोत्तरीबाट बस्नेत, श्रेष्ठ र खनालले रातारात काठमाडौं ल्याएका थिए । 

'मुख्य कुरा क्याबिनेट मिनिस्टर नैं चाहिन्छ भने पनि ल्याउनु भनेर प्रस्तावमा थियो,' सांसद यादवले भनेका छन् । सरकारले अध्यादेश जारी गरेपछि पहिलोपटक प्रधानमन्त्रीको तर्फबाट भन्दै पूर्वआईजीपी खनालले फोन गरेको यादवको भनाइ छ । लकडाउन सुरु हुनुपहिला नै आफू निर्वाचन क्षेत्रमा रहेको अवस्थामा प्रधानमन्त्रीले भेट्न चाहेको भनेर फोन आएको उनले बताएका छन् । पहिलेदेखि नै चिनजानका खनालले मंगलबार फोन गरेर 'प्रधानमन्त्रीले भेट्न चहनुभएको छ, तपाईं काठमाडौंमा नै हुनुहुन्छ ?' भनेर सोधेको उनले बताए। प्रधानमन्त्रीले भेट्न खोजेको भन्ने कुरा सुनेपछि खनाललाई दिएको जवाफबारे उनले भने, 'प्रधानमन्त्रीले भेट्न खोज्नुभएको छ भने म पनि भेट्न चाहन्छु । लकडाउन खुलेपछि म आउँछु भनेको थिएँ ।' 

आफू गाउँमा रहेको भनेपछि जनकपुरबाट खनालले बुधबार फेरि फोन गरेको यादवले जानकारी दिएका छन् । 'म त गाउँ छु भनेपछि हिजो (बुधबार) उहाँले अचानक फोन गर्नुभयो । म घरमा छँदाखेरि जनकपुर हुनुहुन्छ भन्नुभयो म गाउँमा छु भनेको थिए,' उनले भनेका छन्, 'मेरो पीएसओको माध्यमबाट एसपीलाई म कहाँ छु भन्ने थाहा थियो । उहाँ गाउँमै पुग्नुभयो । सँगै दुईजना माननीय (सांसदहरू बस्नेत र श्रेष्ठ) हुनुहुन्थ्यो ।'

खनाललाई मात्रै देख्दा केही नराम्रो नलागे पनि दुईजना सांसदको उपस्थिति भने आफूलाई अनपेक्षित लागेको सांसद यादवले बताएका छन् । 'दुईजना माननीयलाई देखेपछि अनपेक्षित फिल भयो । उहाँहरू आएपछि पक्कै पनि राजनीतिक गतिविधि चलेको छ, त्यो मनसायले आउनुभएको थियो ।'

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि पार्टी विभाजनको कुरा चलेको यादवले स्वीकार गरेका छन् । क-कसले त्यस्तो अभियान संचालन गरेको हो भन्ने स्पष्ट नपारे पनि उनले भने, 'पार्टी फुटाउन त विगतमा सरकारबाट निस्केपछि साथीहरूको कुरा आएको थियो ।'

आफूले नयाँ पार्टी गठनमा नलाग्ने मनसाय राखेपछि पछि हटेको पनि उनले बताए । यसपालि पनि ७ जना समाजवादीका सांसद पार्टी विभाजन गर्न तयार भए पनि उनले नमानेपछि त्यो योजना असफल भएको बताइएको छ । सरकारले अध्यादेश ल्याएर संसदीय दलमा वा केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याए पार्टी विभाजन गर्न सकिने कानुनी व्यवस्था गरेको छ । समाजवादीबाट अलग्गिन चाहने सांसदहरूले संसदीय दलमा ४० प्रतिशत पुर्‍याउने सम्भावना थियो । उनीहरूको केन्द्रीय समितिमा भने त्यो संख्या थिएन । आफूलाई लिन महोत्तरी पुगेका सांसद र पूर्व प्रहरी अधिकृतलाई आफू पार्टी विभाजनमा नलाग्ने भन्ने जानकारी भएको तर नयाँ प्रस्ताव लिएर पुगेको उनले बताएका छन् । 

गोकुल बाँस्कोटा असफल भएपछि बस्नेत, श्रेष्ठ र खनालको प्रयोग !

पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य डा. यादवले समाजवादी विभाजन गर्नका लागि प्रधानमन्त्री ओलीले सुरुमा आफ्ना विश्वासपात्र गोकुल बाँस्कोटालाई जिम्मेवारी दिएको बताएका छन् । 

यादवले भनेका छन्, 'प्रधानमन्त्रीले गोकुल बाँस्कोटाको नेतृत्वमा समाजवादी पार्टीसँग कुरा गर्ने जिम्मा दिनुभएको थियो ।' बाँस्कोटाले अध्यादेशमा गरिएको व्यवस्थाअनुसार समाजवादी पार्टीबाट विभाजित हुने सांसदको संख्या ४० प्रतिशत पुर्‍याउन नसकेपछि आफूकहाँ मन्त्रीको प्रस्ताव ल्याएर मनाउनका लागि महेश बस्नेत र किसान श्रेष्ठलाई पठाइएको उनले बताएका छन् । 'गोकुल बाँस्कोटाबाट नभएपछि उहाँलाई जिम्मा दिनुभएको थियो,' उनले भनेका छन् । 

सांसद यादवका कुराबाट प्रधानमन्त्रीले समाजवादी पार्टी फुटाउन चालेका कदमबारे उनी पूरापुर जानकार रहेको र बालुवाटारसँग निरन्तर सम्पर्कमा रहेको देखिन्छ । उनले महोत्तरीबाट बिहीबार बिहान ३ बजे काठमाडौंको होटल मेरियटमा पुर्‍याइएको र यसबीचमा कुनै अर्को सांसदसँग आफ्नो कुराकानी नगराइएको तथा भेट नगराइएको बताएका छन् । 

सम्बन्धित समाचारः

अध्यादेश

कान्तिपुर

Link copied successfully