कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सांसद 'अपहरण'को वृत्तान्त : जहाँ पाकेको थियो दल टुक्रयाउने ‘खिचडी’

अजित तिवारी

जनकपुर — लकडाउनका बेला लगालग गाडी हुँकिएपछि जनकपुर, रामानन्द चोकको पूर्वी बस्तीका स्थानीय बुधबार दिनभर आश्चर्य मानिरहे । गाडीको बाक्लै ओहरदोहर हुँदा स्थानीयले धेरैखाले अड्कलबाजी पनि गरे । 

सांसद 'अपहरण'को वृत्तान्त : जहाँ पाकेको थियो दल टुक्रयाउने ‘खिचडी’

रामानन्द चोकस्थित श्रीराम पेट्रोल पम्पको पूर्वछेउ ठीक सामुन्नेबाट मुस्किलले एउटा गाडी पस्‍ने गल्ली छ । त्यो गल्ली समातेपछि थोरै अगाडि प्रदेशसभा सांसद कौशल किशोर यादवको डेरा आउँछ । कृषि कार्यालयमा कार्यरत साह थरका कर्मचारीको घरको माथिल्लो तल्ला प्रदेश सांसद यादवले बहालमा लिएको २ महिना पनि पुगेको छैन ।

बुधबार करिब ११ बजेतिर समाजवादी पार्टीका संघीय सांसद एवं पार्टीका सचेतक उमाशंकर अरगरिया आफ्नै गाडीमा प्रदेश सांसद यादवको डेरामा पुगे । लगत्तै, समाजवादीका अर्का संघीय सांसद डा. सुरेन्द्र यादव पनि निजी गाडीमै त्यहाँ पुगे । प्रदेश सांसद यादव पनि समाजवादी पार्टीकै नेता हुन् ।

संघीय सांसद अरगरिया र यादव प्रदेश सांसद कौशलको डेरामा पुगेलगत्तै वागमती नम्बरको निजी प्लेटको अर्को गाडीमा दुईजना पहाडी मुलका व्यक्ति पनि त्यहाँ पुगे । भान्से सहयोगीसहित डेरामा एक्लै बस्ने प्रदेश सांसद कौशलले निकटका टोलका केही साथीलाई समेत डेरामै डाकेका थिए । ‘१२ बजेपछि त्यहाँ खानपिन सुरु भयो,’ कौशलनजिक स्रोतले भन्यो, ‘सितनमा भुटेको च्यूरा र हिृवस्की–वियर चलेको थियो । मैले नचिनेका दुई पहाडी अनुहारका व्यक्तिले वियर खाए ।’

सबैको फोन तारन्तार बजिरहेको थियो । कुनै कल बसेकै ठाउँमा रिसिभ गर्थे भने कुनै–कुनै फोन बार्दलीमा गएर कुरा गर्थे । ‘कति फोन आएको हो । पार्टी फुटाउन लाग्नु भयो कि क्या हो भनेर कौशल माननीयसँग रेल्ला पनि भयो,’ स्रोतले भने, ‘देख्ते जाओ, आगे–आगे होता है क्या भन्दै मलाई चुप लागेर बस्न भनियो ।’

प्रदेश सांसद यादवको डेरामा साँझ करिब ७ बजेसम्म खानपिन चल्यो । त्यसपछि संघीय सांसद डा. यादवले आफ्नो निजी टाटा सफारी घर फिर्ता पठाए । सांसद डा. यादव पार्टीका सचेतक अरगरियाको गाडीमा चढे र पूर्व–पश्चिम राजमार्ग पुग्न ढल्केबरतिर लागे ।

अरगरियाकै गाडीको पछिपछि कुद्यो वागमती नम्बर प्लेटको गाडी । त्यो गाडीमा बाहिरबाट आएका दुईजना बसे । त्यसको पछि लाग्यो प्रदेश सांसद कौशल चढेको उनको आफ्नै पिकअप गाडी ।

स्रोतका अनुसार तीनवटै गाडी महोत्तरीको बर्दिवासमा रोकिए । प्रदेश २ प्रहरीको उच्च स्रोतका अनुसार बर्दिवासमा सांसद डा. यादव र अरगरियालाई पिकअप गर्न अर्को गाडी तयार अवस्थामा थियो । ‘डा. यादवले लिन आउनु भनेर काठमाडौंबाट केहीलाई बर्दिवास बोलाएका रहेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘काठमाडौंबाट आएका व्यक्तिहरुले बर्दिवासबाट लिएर गएको हो ।’

बर्दिवासबाट समाजवादीका सांसद अरगरिया र डा. यादव काठमाडौंतिर लागे भने प्रदेश सांसद कौशल आफ्नो घर महोत्तरीकै औरहीतिर फर्किए ।

यसपछि नै समाजवादीका सांसद डा.सुरेन्द्र यादव अपरहणमा परेको खबर फैलियो । समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई र उनको सचिवालयले आफ्नो पार्टी फुटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा काठमाडौंबाट गएको प्रहरीको टोलीले सांसद यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको बताए ।

समाजवादीको प्रचार विभागका उपप्रमुख विश्वदिप पाण्डेले ट्विटरमा यो व्यहोरा सार्वाजनिक गरे । यादवलाई लिन काठमाडौंबाट सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ पुगेको चर्चा पनि चल्यो । महोत्तरी प्रहरीको एउटा स्रोतले पनि यस्तै दाबी गर्‍यो ।

पार्टी फुटाउन सजिलो पार्नेगरी अध्यादेश आएको भोलिपल्ट यो समाचारले सबैको ध्यान खिच्यो । राति सांसद यादवलाई प्रधानमन्त्री निवास बालुवाटार ल्याइएको पनि हल्ला चल्यो । समाजवादीको नेतृत्वसँग असन्तुष्ट सांसदहरु इस्तियाक राई, रेणु यादव र प्रदीप यादव लगायत पार्टी फोर्ने तयारीमा छन् भन्ने अनुमान धेरैले गरिरहेका थिए । उनीहरुका केही दिनदेखि बैठक चलिरहेका थिए । नेपालगन्‍जमा रहेका राई र जनकपुरमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत मंगलबार काठमाडौं आइपुगेका थिए । बुधबार साँझ यी दुईको छलफल पनि चलिरहेको थियो ।

त्यस्तैमा बुधबार राति नै समाजवादी र अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) बीच अनाचक एकता सहमति भएको खबर हावासरी फैलियो । दुवैतिरका चार चारजना नेताले हस्ताक्षर गरेको सहमति पत्र पनि सार्वजनिक भयो । आफ्नो दल फोर्न सरकार लागि परेको भन्दै समाजवादीका नेताहरु राजपासँग एकता गर्न सक्रिय भइरहेका थिए ।

‘नेतृत्वलाई तर्साउन फोहरी खेल खेलेकै हो’

दल टुक्राउन सजिलो पार्ने अध्यादेश सरकारले ल्याएपछि सत्तासँग नजिक हुन् चलखेल गरेका समाजवादी पार्टीका असन्तुष्ट पक्षले नेतृत्वलाई तर्साउन फोहरी खेल खेलेकै दाबी गरेका छन् । कान्तिपुरसँगको कुराकानीमा समाजवादीका असन्तुष्ट नेताहरुले नेतृत्वलाई सच्चिन र आफूहरुको कुराको सुनुवाइ गर्न धेरैपटक आग्रह गरे पनि नटेरेपछि यस्तो खेलमा लागेको स्वीकारेका छन् ।

‘पार्टी टुक्राउने फोहरी खेल नेतृत्वलाई तर्साउन खेलेकै हो,’ समाजवादीका एक असन्तुष्ट सांसदले भने, ‘रिङ मास्टर त रिङ मास्टर नै हुन्छ नि । नेतृत्व तर्सियो । हाम्रो पावर हेरे, यति नै काफी हो ।’ बुधबार दिनभरको घटनाक्रमबारे राखिएको जिज्ञासामा ‘पछि सबै कुरा सुनाउला नि’ भन्दै ती सांसदले थप कुराकानी गर्न मानेनन् ।

यादव मेरियटबाट मुक्त

बुधबार राति नै दुई पार्टीबीच एकता भएपछि पार्टी फुटाउने संभावना क्षीण हुँदै गयो । बुधबार मध्यराति घोषणा भएको नयाँ दल जनता समाजावादी पार्टी दर्ता गर्न बिहीबार साढे १० बजे नै नेताहरु निर्वाचन आयोग पुगे ।

यता समाजवादीले अपहरणमा परेका आफ्ना सांसद 'पीएसओ'को आँखा छलेर उम्किन सफल भएको दाबी बिहीबार बिहानै गर्‍यो । काठमाडौंको नक्सालस्थित पाँचतारे मेरियट होटलमा थुनेर राखिएका सांसद यादव सुरक्षााकर्मीको आँखा छलेर उम्किन सफल भएको दाबी प्रचार विभागका उपप्रमुख पाण्डेले गरे ।

समाजवादीका महासचिव गंगा श्रेष्ठले पाँचतारे मेरियट होटल, नक्सालमा ७०१-७१५ सम्मका कोठाहरूमा थुनेर राखेको भन्ने खबर आएपछि वास्तविकता बुझ्न आफू बिहान पुगेको बताए । 'बिहान ८:३० बजे म त्यस होटलमा पुगेँ। म पुग्दा आंगकाजी शेर्पालगायतका केही साथीहरू पनि होटलमा पुगिसक्नु भएको रहेछ । हामीलाई होटलभित्र छिर्न दिइएन । झण्डै ९ बजेतिर कलुदेवी विश्वकर्मालगायतका सांसदहरूलाई एउटा रातो कारमा हालेर पछाडिको गेटबाट नेकपाका नेता महेश बस्नेतहरूले भगाए । त्यसपछि हामी घर फर्कन लाग्दै थियौं । एक्कासी ३ भ्यान प्रहरी आएर हामीलाई घेरा हालेर हामीलाई नियन्त्रणमा लिए । १० मिनेटपछि हामीलाई छाडिदिए,' उनले भने ।

बिहीबार बिहानै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तापछि आफू विधेयक फिर्ता लिन तयार भएको बताए ।

प्रकाशित : वैशाख ११, २०७७ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?