यस्तो थियो ‘अपहरण’ कहानी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो थियो ‘अपहरण’ कहानी

राति नै पार्टी एकताको खबर आएपछि समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद सुरेन्द्र यादवको ‘बालुवाटार छिर्ने योजना’ अधुरै रह्यो
जनकराज सापकोटा

काठमाडौँ — समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले आफ्नो पार्टीका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरीको टोलीले जनकपुरबाट अपहरण गरेको भन्दै बुधबार साँझ ७:४३ मा ट्वीट गरे ।

उनले यो पार्टी फुटाउने प्रयोजनका लागि भएको दाबी गरे । सरकारले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत मत भए पुग्ने गरी अध्यादेश जारी गरेको तेस्रो दिनमा पाण्डेले गरेको ट्वीटमा तत्कालै पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिक्रिया जनाउँदै लेखे, ‘ओलीतन्त्रको यो नांगो रूप । धन्य कमाउनिस्ट कणहरु ।’

पूर्वआईजीपी खनालले सांसद यादवको अपहरण गरेका हुन् ?

जनकपुरमा रहेका केन्द्रीय सदस्य यादवलाई काठमाडौं झिकाएर पार्टी विभाजन गर्न सरकार लागि परेको आशयसहितको ट्वीट सार्वजनिक हुनुभन्दा करिब ४ घण्टाअघि नै यादव जनकपुरबाट काठमाडौंका लागि हिँडिसकेका थिए । पाण्डेले संकेत गरेझैं उनलाई लिन काठमाडौंबाट नेकपाका भक्तपुरका सांसद महेश बस्नेत, तनहुँका सांसद किसान श्रेष्ठ र केही महिनाअघि मात्रै सेवानिवृत्त भएका पूर्वआईजीपी सर्वेन्द्र खनाल घरमै पुगेका थिए । कान्तिपुरसँगको कुराकानीमा खनालले आफूहरू फरक काममा लागि भक्तपुरमा जम्मा भएका बेला त्यतैबाट यादवले लिन बोलाएपछि जनकपुर गएको बताए । (हेर्नुस् बक्स)

सांसद 'अपहरण'को वृत्तान्त : जहाँ पाकेको थियो दल टुक्रयाउने ‘खिचडी’

खनालले आफू जनकपुरमा एसपी रहेका बेला समाजवादीका नेता तथा सांसद उमाशंकर अरगरियासंग चिनाजानी भएको र यादवलाई ल्याउन पनि उनले नै अनुरोध गरेको बताए । सांसद बस्नेत र अरगरियाबीच भएको राजनीतिक संवादबारे आफूलाई थाहा नभएको तर सबैले जनकपुर गएर यादवलाई भेट्ने भनेपछि आफू त्यता गएको बताए ।

मंगलबार दिउँसो भक्तपुरबाट हिँडेका सांसदद्वय र पूर्वआईजीपी महोत्तरीको बर्दिबासस्थित गौतम होटलमा पुगेर बसेका थिए । उनीहरु बिहीबार बिहान ९ बजेतिर सांसद यादवको घर पुगेका थिए । खनालले बिहान खाजा र खाना त्यही खाएको र दिउँसो ४ बजेतिर काठमाडौंका लागि हिँडेको बताए । सायद सांसद यादवलाई खनालसहितको टोलीले काठमाडौं हिँडाएको बुझेरै पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले ट्वीट गरेका थिए ।

सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनाल एउटा गाडीमा र सांसद यादव, प्रदेश सांसद कौशलकिशोर यादव, पीएसओ, यादवका भिनाजु अरू दुइटा गाडीमा काठमाडौं हिँडे । खनालका अनुसार उनीहरुले काभ्रेतिर आइपुगेका बेला काठमाडौंमा समाजवादी पार्टी र जनता पार्टीबीच एकीकरणको खबर सुनेका थिए । खनालले राति ३ बजेतिर सांसदको टोली नक्सालको मेरियट होटल छिरेपछि आफू घर लागेको बताए ।

समाजवादीका नेता र स्वयं सांसद यादवले पनि आफूलाई अपहरण भएको बताइरहँदा खनालले भने राजीखुसीमै यादव काठमाडौं आएको दाबी गरे । उनले यादवले बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेट्ने योजना पनि बताएको सुनाए । राति नै पार्टी एकताको खबर आएपछि यादवको ‘बालुवाटार छिर्ने योजना’ अधुरै रह्यो ।

सर्वेन्द्र खनालको बयान- सांसद यादव बालुवाटार जाने भनेरै आएका हुन्

अध्यादेशअनुसार नै पार्टी विभाजन गर्न सरकारले नक्सालको मेरियट होलटमा केही सांसदलाई ल्याएर राखेको दाबी समाजवादीका नेताहरुको छ । त्यसो त समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठले आफ्ना सांसदलाई मरियट होटलमा राखेको सूचना पाएर आफूहरु त्यहाँ पुगेको भन्दै बिहीबार बिहान ११ बजेर १७ मिनेटमा ट्वीट गरेका थिए । उनले आफूसहितका केही नेता करिब साढे ८ बजेछिर त्यहाँ पुगेको तर होटलका कर्मचारीले भित्र छिर्न नदिएको र त्यही बेला नेकपाका नेता महेश बस्नेतले कलुदेवी विश्वकर्मासहितका सांसदलाई रातो कारमा हालेर पछाडिको गेटबाट भगाएको दाबी गरेका छन् । महासचिव श्रेष्ठले ट्वीटमा त्यतिबेला एक हूल प्रहरी आएर आफूहरुलाई नियन्त्रणमा लिएको र दस मिनेटपछि छाडिदिएको उल्लेख गरेका छन् ।

पार्टी विभाजन गर्नका लागि चाहिने ४० प्रतिशत संसद् नपुगेपछि समाजवादी दल विभाजन हुन सकेन । बिहीबार अपराह्न निर्वाचन आयोगमा पार्टी एकीकरणको जानकारी दिइएलगत्तै अपहरण भएका भनिएका सांसद यादव बाबुराम भट्टराईलाई भेट्न पुगिसकेका थिए ।

प्रकाशित : वैशाख १२, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

उद्योग र आयोजनालाई गर्नुपर्ने सहजीकरण

सम्पादकीय

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न चार सातादेखि जारी ‘लकडाउन’ का कारण मुलुकको आर्थिक क्षति चुलिँदो छ । स्वास्थ्य सुरक्षाको आवश्यक प्रबन्ध मिलाएर सम्भव हुने जति उद्योग तथा कलकारखाना चलाउन ढिला भइसकेको छ । यसैबीच सरकारले तीन तहमा वर्गीकरण गरी उद्योग सञ्चालनको तयारी थालेको सकारात्मक खबर छ । पहिलो चरणमा खाद्यान्न, औषधिलगायत अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग, दोस्रो चरणमा विकास निर्माणलगायत कच्चापदार्थ उत्पादन गर्ने उद्योग र तेस्रो चरणमा निर्यात उद्योग सञ्चालन गर्ने सरकारी तयारीले अर्थतन्त्रमा हुने क्षति न्यून गर्न सक्छ ।

लकडाउनको उद्देश्य संक्रमण एकअर्कामा नसरोस्, नफैलियोस् भन्ने हो । यसतर्फ सम्पूर्ण सावधानी अपनाएर उद्योगहरू सञ्चालन गर्न सकिन्छ । संक्रमण फैलिएका क्षेत्रमा यात्रा नगरेका श्रमिक मजदुरलाई मात्र काममा लगाइनुपर्छ । उनीहरूलाई उद्योग परिसरभित्रै ‘क्वारेन्टिन’ मा राख्ने र एकै ठाउँमा खाने–बस्ने सुविधा मिलाउने गर्न सकिन्छ । एकै ठाउँमा राख्न सम्भव नभएकाहरूको हकमा सुरक्षाका मापदण्डहरू अनिवार्य रूपमा पालना गरिनुपर्छ । अब पनि उद्योग सञ्चालनमा ढिलाइ भए लामो समय अर्थतन्त्र चलायमान हुन पाउँदैन, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस क्षेत्रको करिब साढे ५ प्रतिशत योगदान रहेकाले समग्र आर्थिक वृद्धिमै धक्का पुुग्न सक्छ ।

खाद्यान्न, औषधि, मास्कलगायत उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिनुपर्ने अवस्था छ । मुलुकको औषधिको करिब आधा माग धान्ने स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन भएका छैनन्, यसतर्फ विचार पुर्‍याउन आवश्यक छ । खाद्यान्नको मौज्दात घट्दै गएकाले यी उद्योग सम्भव भएसम्मको क्षमतामा सञ्चालन गर्न सरकारले सघाउनुपर्छ । अहिले सरकारबाट अनुमति पाएका दाल, चामल, तेललगायत अत्यावश्यक वस्तुसम्बन्धी उद्योग पनि ४० प्रतिशत मात्रै सञ्चालन भइरहेका छन् । कच्चापदार्थ र स्पेयर पार्टस् को अभाव भइसकेको छ । कुखुरापालन क्षेत्रमा अत्यावश्यक दाना अभाव छ । डेरी उद्योग पनि पूर्ण रूपमा चलेको छैन । यसको मारमा उद्योगी र उपभोक्ता दुवै परेका छन् ।

यतिबेला अन्य प्राकृतिक विपत्ति पनि आउन सक्छ । हावाहुरी, असिनाजस्ता विपत्तिको सामना गर्न जस्तापाता, इँटालगायत उद्योग पनि चलाउनुपर्ने खाँचो छ । सकारात्मक पक्ष, अहिले, स्वास्थ्य सावधानी अपनाउँदै देशभरका दर्जनभन्दा बढी ठूला आयोजनाको काम जारी छ । यसमा सबैभन्दा बढी राष्ट्रिय गौरवका आयोजना छन् । तैपनि कति आयोजना निर्माण सामग्री र इन्धनको अभावमा रोकिएका छन् । उत्तर–दक्षिण (कर्णाली) लोकमार्गको काम यही कारण सुरु हुन सकेको छैन ।

आवश्यक न्यूनतम सामग्रीहरूको आपूर्ति नियमित हुन नसक्दा आयोजना तथा उद्योग सञ्चालन गर्न चाहनेहरूको प्रयास पनि विफल भएका विवरण सार्वजनिक भएका छन् । यस्तो अवस्थामा उद्योग र आयोजना हेरी सरकारले उनीहरूका लागि चाहिने सामग्रीको आपूर्ति प्रणालीमा सहजीकरण गरिदिनुपर्छ । कोभिड–२९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समेत आन्तरिक लकडाउन यथावत् राखी ठूला आयोजना, उद्योग, कृषि उत्पादन र आपूर्तिको काम जारी राख्ने निर्णय गरेको पनि तीन साता भइसक्यो, तर यसबीचमा त्यतिले मात्र पुगेको देखिएन । सरकारले सक्रिय रूपमै सहजीकरण गर्नुपर्ने देखिएको छ ।

भारत सरकारले पनि लकडाउनकै बीचमा ग्रामीण क्षेत्रलाई राहत दिन यही वैशाख ८ यता कृषि क्षेत्रका गतिविधि सञ्चालनलाई केही खुकुलो पारेको छ । त्यहाँको गृह मन्त्रालयले खुला गरिएका क्षेत्रबारे निर्देशिका नै जारी गरेको छ । कोरोना संक्रमण उच्च भएका कारण ‘हटस्पट’ तोकिएका क्षेत्रहरूमा यस्तो सुविधा दिइएको छैन । कृषि क्षेत्रमा आवश्यक पर्ने सबै गतिविधि सञ्चालन र वस्तु खरिद–बिक्री गर्न खुला गरिएको छ । तोकिएका कृषि बजार खुलाइएका छन् । ग्रामीण क्षेत्रका खाद्य प्रशोधन उद्योग, सडक, सिँचाइ, भवन, औद्योगिक परियोजना सुचारु गर्न छुट दिइएको छ । विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनका लागि अनुमति दिइएको छ । सबै किसिमका वस्तुहरू ढुवानीलाई छुट दिइएको छ, यसअघि यस्तो सुविधा अत्यावश्यक वस्तुहरूलाई मात्रै थियो ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान भारतको तुलनामा नेपालको डेढ गुणा बढी छ । त्यसैले नेपाल यो क्षेत्रमा अझ बढी संवेदनशील हुनुपर्छ । अब लगाउनुपर्ने बालीका लागि आवश्यक मलबीउको अभाव हुन नदिने व्यवस्था गर्नुपर्छ । तिनको ढुवानीको उचित प्रबन्ध मिलाइनुपर्छ । कतिपय क्षेत्रमा मकैमा मल हाल्ने बेला हुन लागिसकेको छ । बिस्तारै देशभर वर्षेधान लगाउने समय आउँदै छ । माग र आपूर्तिको प्रणाली नखलबलिने व्यवस्था मिलाउन सरकारले आवश्यक वस्तुको ढुवानी व्यवस्था मिलाउनुपर्छ । आम नागरिकका लागि लकडाउन जहिलेसम्म चले पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सम्बन्धित उद्योग तथा कलकारखाना खुलाउने चाँजो भने मिलाउनैपर्छ ।

प्रकाशित : वैशाख १२, २०७७ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×