मतभेद थियो, विभाजन नै गर्ने गतिविधिमा भने लागेका थिएनौं : मोहम्मद इस्तियाक राई

वैशाख ११, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले पार्टीभित्र मतभेद रहेको स्वीकार गर्दै विभाजन गर्ने कुनै योजना नरहेको र त्यसमा नलागेको प्रष्ट पारेका छन् । उनी लगायत नेताहरूको समाजवादी पार्टीलाई विभाजनको संघारमा लगेको भन्ने आशंका भइरहेका बेला यस्तो प्रष्टिकरण आएको हो । 

आफूहरूले पार्टी फुटाउन लागेको भन्ने हल्ला मात्रै भएको राईले बताएका छन् ।

'मैले चार दिन अघि नै पार्टीमा मतभिन्नता छ भनेको थिएँ । विवाद छन् तर, हामीभन्दा बढी विवाद नेकपा, कांग्रेस र राजपामा छ,' उनले भने, 'यो विवाद भनेको विभाजन होइन भन्ने मैले प्रस्टै पारेको थिए । त्यो कुरा अहिले पनि छ ।' राईलगायत कतिपय सांसदहरूले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका थिए । 

बुधबार समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको पार्टी विभाजन गर्ने उद्देश्यले 'अपहरण गरिएको' दाबी सार्वजनिक भएको थियो । सरकारले पार्टी विभाजन गर्न सहज पार्ने अध्यादेश ल्याएसँगै समाजवादी पार्टीमा हलचल आएको थियो । सोमबार मन्त्रिपरिषद् पारित गरेको अध्यादेश सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् । जसको प्रभाव बुधबार नै देखिन थालेको थियो । 

पार्टी विभाजनको डरले बुधबार राति राजपा र समाजवादीबीच एकता भएको छ । पूर्वमन्त्रीसमेत रहेका राईले पछिल्लो घटनाक्रमले पार्टीलाई राम्रै गरेको बताए । उनले अधिकार प्राप्तिका लागि संघर्ष गरिरहेका शक्तिहरू एकठाउँमा आउनु खुसीको कुरा भएको प्रतिक्रिया दिए ।

‘एउटा उत्पीडित वर्ग, समुदायले र आम नेपालीले देखेको जुन सपना थियो, जुन संघर्ष गर्ने शक्तिहरू थिए एकठाउँमा यो घटनाले ल्याइदिएको छ । एउटा खुसीको खबर हो,' उनले भने, 'यसबाट जनतामा र मेरो मतदातामा र हाम्रो पार्टीका शुभचिन्तक र शुभेच्छुकहरूमा झनै उत्साह र ऊर्जा थपिएको छ । यसले थप मद्दत पुर्‍याउने छ ।’

राईले पार्टीभित्र फरक मत राख्ने बित्तिकै पार्टी नै विभाजन गर्ने उदेश्य राखेकाे छ भन्ने तरिकाले बुझ्न नहुने पनि बताए ।

सरकारले ल्याएका अध्यादेशबारे पार्टीको धारणा नै आधिकारीक भएको राईको भनाइ थियो । समाजवादी पार्टीले सरकारले अध्यादेश ल्याएर गल्ती गरेको भन्दै फिर्ता लिन माग गरिसकेको छ । 

अध्यादेश

कान्तिपुर

Link copied successfully