कोरोनामाथि विजय हासिल गर्न कदम चाल्ने बेलामा सरकारले बेमौसमी बाजा बजायो : कांग्रेस

वैशाख ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णयलाई कांग्रेसले बेमौसमी बाजको संज्ञा दिएको छ । 

सोमबार दिउँसो सरकारले अध्यादेश ल्याउने निर्णय गरेसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले संसारकै मुख्य प्राथमिकता कोरोना भाइरसमाथि विजय हासिल गर्ने भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत अहिले नेपालका लागि पनि कोरोनामाथि विजय हासिल गर्नु नै प्राथमिकताको कुरा भएको उल्लेख गर्दै अरु सबै विषण गौण भएको बताएका छन् । प्रवक्ता शर्माले लेखेका छन्, 'हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ ।'

सरकारले अध्यादेश ल्याउने निर्णय गरेसँगै नेकपभित्र हलचल मच्चिएको छ । पूर्वमाओवादी पक्षका मन्त्रीहरु ऊर्जामन्त्री वर्षमान पुनको कार्यकक्षमा बैठक बसेर अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगिसकेका छन् ।

त्यस्तै दाहालले पनि जिल्लाबाहिर रहेका सबै नेतालाई काठमाडौं बोलाइसकेका छन् । यसैबीच केही बेरमै बालुवाटारमा नेकपा सचिवालयको बैठक बस्दैछ ।

कान्तिपुर

Link copied successfully