कृषक तरकारी फाल्दै, बिचौलिया उपभोक्ता ठग्दै 

वैशाख ८, २०७७

मोहन बुढाऐर

धनगढी — धनगढी उपमहानगरपालिका–१५ पथरियाका मुद्रे चौधरीले शुक्रबार बिक्रीका लागि ल्याएको  काउली बिक्री नभपछि निराश भएर घर फर्के । दस रुपैयाँ किलोमा पनि बिक्री नभएपछि बजारबाट फर्काएको काउली गोरुलाई खुवाए ।

अर्को दिन शनिबार गाउँभरिकालाई चाहिने जति काउली लिएर गए। ‘केहीले एक–दुई दिनका लागि लिएर गए,’ उनले भने, ‘बाँकी काउली फेरि पनि बारीमा रह्यो । हलगोरु लिएर तरकारी बारी जोतें ।’ 

विगत सात वर्षदेखि उनी व्यवसायिक रुपमा तरकारी उत्पादन गर्दै आएका छन् । उनले १० कट्ठा जमिनमा उब्जाएकाे तरकारीको आम्दानीबाट खाद्यान्न किनेर खाने गरेको बताए । ‘लकडाउनले तरकारी बिक्री गर्न नपाउँदा रासनपानी किन्न पनि मुस्किल हुने देखियो,’ उनले भने, ‘लगानी पनि नउठ्ने भयो । १० कट्ठामा फलाएको लगानी मात्रै दुई लाख जति भएको छ ।’

काउली र बन्दा फलेर बजार पुर्याउने बेला मुलुक लकडाउन भयो । उनका काउली र बन्दामात्रै हैन् अन्य तरकारी पनि बारीमैं बिग्रदैं गएका छन्। उनले ५ कट्ठामा लगाएको २ लाखको काउली बन्दाको बिक्री ५ हजारको पनि नभएको बताए । बाँकी ५ कट्टामा खुर्सानी, काँक्रा, लउका, फर्सीलगायतका लहरे तरकारी लगाएको बताए । 

‘लहेर तरकारीले शून्य आम्दानीबाट बचाएको छ,’ उनले भने, ‘५०–६० हजार जतिको लहरे तरकारी बिक्री भएको छ ।’ तर मूल्य पाउन नसकेको बताए । अरु किसानको तरकारी बारीमै  खेर गएको उनले बताए । 

धनगढी उपमहानगर पालिका १५ पथरी गाउँमा पछिल्लो समय तरकारी उत्पादन बढी हुने गरेको छ । पथरीमा एक दर्जन बढीले  व्यवसायिक रुपमा तरकारी खेती गर्दे आएका छन् ।  अर्का तरकारी व्यवसायी वीरबहादुर चौधरीले थोक ग्राहकले फुटकर बिक्रेताको अभाव देखाएर तरकारी राख्न तयार नहुने गरेको बताए । 

‘कोरोना संक्रमित फेला परे पछि स्थानिय प्रशासनले चैत महिनामा लकडाउन  कडा गरेको सुन्दा बजार पुर्‍याउन  सकेनौं,’ उनले भने, ‘अहिले बजार सम्म पुगाएको भएपनि के गर्ने खरिद गरि दिने कोही छैन ? थोक न फुटकर  ।’

कैलाली जिल्ला पछिल्लो समयमा हरियो तरकारीमा आत्मनिर्भर अघि बढ्दै गएको छ । प्रदेश कृषि मन्त्रालयका अनुसार आलु र प्याज बाहेक अन्य हरियो र लहरे तरकारी आत्मनिर्भर बन्दै गएको छ । 

बिचौलिया मोटाउँदै 

एकातिर  किसानलाई उत्पादित तरकारी फाल्नु परेको छ । अर्कोतिर बजारमा उपभोक्ताले महँगोमा तरकारी खानु परेको बताएका छन् । 

धनगढी–५ तारादेवी जोशीले तरकारी महँगोमा किन्नु परेको बताइन् । ‘काउली र बन्दा ४०/४५ रुपैयाँ प्रतिकिलोमै किन्नु परेको छ ।,’ उनले भनिन्, ‘लौका, फर्सी, आलु र प्याज पनि पहिलेको भन्दा बढेको छ।’

लकडाउनका कारण उपभोक्ताले घरघर पुर्‍याउने ठेला पसलेबाट महँगोमा तरकारी किन्नु परेको बताइन् । ‘घर नजिक तरकारी बेच्नेबाट किन्नु परेको छ,’ उनले भनिन,‘जति भन्यो त्यतिमा किन्नु परेको छ ।’

राष्ट्रिय उपभाक्ता मञ्चका अध्यक्ष हरिप्रसाद रेग्मीले किसानबाट यतिबेला सस्तोमा तरकारी किनेर उपभोक्ताबाट नचाहिँदो  मूल्यमा तरकारी बेच्ने गरेको बताए । ‘किसानले एकातिर तरकारी सिस्तैमा दलाल व्यपारीलाई दिनु परेको छ,’ उनले भने, ‘उपभोक्ताले होमडेलिभरी तथा घुम्ती पसलका नाममा खाद्यान्न र तरकारीमा ढाड सेक्ने काम भएको छ ।’ उनले होमडेलरी र तरकारी व्यापारीको व्यवसायिक रेटदरमा अनुगमन गर्ने बेला आएको बताए । 

मोहन

Link copied successfully