सिड्नी — न्युजिल्यान्ड सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्नका लागि लगाएको लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । प्रधानमन्त्री जसिन्डा आर्डनले सोमबार न्युजिल्यान्डमा लकडाउन खुकुलो पार्ने निर्णय गरेकी हुन् ।
न्युजिल्यान्डले करिब एक महिनाअघि भाइरस संक्रमण नियन्त्रणका लागि देशकै उच्च लेभल ४ अन्तर्गतको लकडाउन लगाएको थियो ।
तर भाइरस संक्रमण कम हुँदै गएपछि लकडाउनलाई खुकुलो पार्दै एक सातापछि लेभल-३ मा झार्ने निर्णय गरिएको प्रधानमन्त्री आर्डनले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिएकी हुन्। लकडाउनलाई खुकुलो पारेसँगै कक्षा १० सम्म विद्यालय खुल्नेछन् भने पार्क तथा सामुन्द्रिक किनार कसरत गर्नका लागि खुला हुनेछ । यसैगरी भाइरसबाट सुरक्षित राखेर उत्पादनलगायतका कलकारखाना खुला हुन पाउनेछन् भने अन्य रेस्टुरेन्टलगायतका व्यवसाय टेक अवेका रूपमा खोल्न पाइनेछ ।
न्युजिल्यान्डले सुरुवाति चरणमै लकडाउन गरेका कारण भाइरस संक्रमण फैलन नपाएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ । अहिलेसम्म भाइरसका कारण १२ जनाले ज्यान गुमाएका छन भने १ हजार ४४० जनामा संक्रमण देखिएको छ ।
सोमबार जम्मा नौ जनामा नयाँ संक्रमण देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री आर्डनले लकडाउन लेभल ३ मा झारेपछि पुन: दुई सातापछि अवस्थाको पुनरावलोकन गरेर थप निर्णय गरिने बताएकी छिन् ।
