काठमाडौँ — कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण राजधानी लगायतका सहरमा अलपत्र परेका नागरिकलाई घरसम्म पुर्याइदिन तयार रहेको बस व्यवसायीले बताएका छन् ।
यातायात व्यवसायीको संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले अलपत्र परेका सर्वसाधारणलाई घर पुर्याउन तयार रहेको भनेर सोमबार एक विज्ञप्ति जारी गरेको छ ।
राजमार्गमा हजारौं मजदुर पैदलै हिंडेर घर जाने अवस्था देखिएको भन्दै महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले विज्ञप्तिमा भनेका छन्, 'राजमार्गमा हजारौं यात्रु मजदुरहरूको बिचल्ली भई ठूलो समस्या भएकोले उनीहरूलाई घरसम्म पुर्याउन नेपाल सरकारले यो महासंघलाई सवारी पास र आवश्यक सुविधा उपलब्ध गराएमा यात्रु तथा मजदुर हितका लागि हामी नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको व्यवहोरा जानकारी गराउँछौं ।'
महासंघले असार मसान्तसम्मको कर, राजश्व र बैंकको ब्याज मिनाहा गरिदिन पनि सरकारसँग माग गरेको छ । ६ महिनाको किस्ता अवधि बढाइदिन पनि विज्ञप्तिमा लेखिएको छ ।
