काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैजना संयम भएर लाग्नुपर्ने बताएका छन् ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न अपिल गरेका छन् ।
देउवाले विज्ञप्तिमा भनेका छन्, 'आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपिल गर्दछु । सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु ।'
त्यस्तै सभापति देउवाले कोरोना भाइरस संक्रमणको जोखिम सामना गर्न परीक्षणको दायरा समुदाय स्तरमा तीव्र रुपले विस्तार गर्न पनि सरकारसँग अनुरोध गरेका छन् । पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने आवश्यकता रहेको पनि सभापति देउवाले बताएका छन् ।
