बागलुङ — दुई महिनाकी सुत्केरी पैदलै पोखरादेखि बागलुङ आइपुगेकी छिन् । रोल्पाको सुनछहारी गाउँपालिका ५ घर भएकी २० वर्षीया रविना थकाली आइतबार बिहानै हिँडेर बागलुङ आएकी हुन्।
पोखराको बाटुलेचौरमा मदजुरी गर्दै आएकी उनी काम नपाएपछि घर फर्केकी हुन् । पैदलै ५ देखि ७ दिनमा पुग्ने आशले निस्केको उनले बताइन् । श्रीमान बालकुमार पनि सँगै छन् । बालकुमारकै दाइभाउजु र दुई छोरा पनि सँगै पैदलयात्रामा निस्केका हुन् ।
पोखरामा काम गराउने ठेकेदार र साहुहरुले रासनपानी दिन छाडेपछि भोकमरी लागेको भन्दै उनीहरु घर निस्केको बताए । उनीहरुका साथमा पैसा पनि छैन । ‘सबैको साथमा पाँच–सात सय रुपैयाँ मात्र थियो, त्यसैले चिउरा किनेर खाँदै हिँडेका हौं’ उनले भनिन्, ‘घरमा पुगियो भने बारीमा तरकार फलाएर पनि बाँचिएला भनेर हिड्ने आँट गरें ।’ दिनभरी पैदल हिँडेकोले उनी थला परेको बताइन् ।
जिल्लाको प्रवेशद्वारमा आइपुगेपछि प्रहरीले उनीहरुलाई उद्दार गरेर क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बस्नेलाई बागलुङ नगरपालकाले खाना खुवाएको नगरप्रमुख जनकराज पौडेलले बताए ।
६ जना युवासँगै ३ बालबालिका गरी ९ जनालाई प्रहरीले आइतबार राति क्वारेन्टाइन पुर्याएको थियो । उनीहरुसँगै रोल्पाकै गंगादेवी गाउँपालिका र परिवर्तन गाउँपालिका समेतका गरी ४० युवा पैदलै बागलुङ आइपुगेका छन् । उनीहरुमध्ये २८ जना स्थानीय शान्ति समितिको भवनमा आश्रय लिएर बसेका छन् । रोल्पा पुग्न बागलुङ सदरमुकाम देखि १ सय ४२ किमी पश्चिम निसीखोलाको भलकोट हुँदै जानु पर्छ ।
