११० रुसी नागरिक मस्को फर्किए

वैशाख ८, २०७७

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण अलपत्र परेका १ सय १० रुसी नागरिक सोमबार चार्टर उडानबाट स्वदेश फर्केका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मस्कोस्थित शेरेमेत्येवो अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइटको बोइङ ७५७ विमानले पौने १ बजे काठमाडौंबाट उनीहरुलाई लिएर फर्केको छ । 

‘१ सय ४३ जनाको नाम सूचीमा थियो,’ विमानस्थलका एक अधिकारीले भने, ‘तर ३३ जना अन्तिम समयमा विमास्थल आउन नसकेकाले उक्त चार्टरले १ सय १० मात्रै लिएर फर्कियो ।’

यो विमानको काठमाडौंमा व्यवस्थापनको जिम्मा पाएको नेपाली  एजेन्सी फ्रिडम फाइटका अनुसार, जहाज काठमाडौंबाट सोझै मस्को नगई म्यानमार अवतरण गर्ने छ । त्यहाँ जहाजमा रहेका यात्रुहरुका लागि खानेकुरा राखेर मात्रै मस्को उड्ने छ । 

यो चार्टर उडान काठमाडौंमा रहेको रसियन दुतावासले व्यवस्थापन गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । मस्कोबाट काठमाडौंसम्मको हवाई दूरी साढे ६ घन्टा हाराहारीको रहेको छ ।

यसैबिच श्री एयरलायन्सको सीआरजे–७०० बमबार्डियर विमान सिंगापुर जाने भएको छ । 

उक्त विमानले काठमाडौंबाट बिरामी लैजाने र उताबाट औषधि ल्याएर फर्किने अनुमति प्राप्त गरेका एक अधिकारीले बताए ।

‘७२ घन्टाभित्र चार्टर उडान गरिसक्नुपर्ने अनुमती दिइएको छ,’ सम्वद्ध एक अधिकारीले भने, ‘तर, सिंगापुर जाने हवाइ रुटमा पर्ने अन्य मुलुकहरुको आकाशको अनुमतिको म्याद गुज्रेकाले मंगलबारसम्म उड्ला ।’

लकडाउन

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully