भुल्केको मस्जिद आसपासका बासिन्दाको स्वाब परीक्षण हुँदै

वैशाख ८, २०७७

माधव घिमिरे

विराटनगर — कोरोना भाइरस संक्रमित बसेको उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केको मस्जिद आसपासका बासिन्दाको स्वाबको नमुना परीक्षण विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ । मस्जिद आसपास बस्तीका बासिन्दामा संक्रमण फैलिएको हुन सक्ने आशंकामा त्यहाँबाट स्वाब नमुना संकलन गरेर ल्याइएको थियो ।

कोसी अस्पतालको प्रयोगशालामा ल्याइएका ६९ जनाको नमुना परीक्षणको काम भइरहेको छ । प्रारम्भिक रुपमा प्रयोगशाला परीक्षण गरिएका नमुनाहरुका आधारमा संक्रमण नदेखिएको जनाइएको छ । पीसीआर विधिबाट ती नमुनाको परीक्षण भइरहेको अस्पतालले् जनाएको छ ।

उदयपुरको मस्जिदमा रहेका १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा ल्याएर हेरचाह गरिँदैछ । मस्जिदमै बसेका अरु तीनजनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

मस्जिदमा बसेकाहरु घुमिफिर गर्दै त्यहाँ पुगेको र आसपासका बस्तीमा संक्रमण सरेको हुन सक्ने आशंका गरिएको छ । यहीकारण त्यहाँको बस्तीका बासिन्दाको स्वाब नमुना संकलन गर्दै परीक्षणका लागि विराटनगर ल्याइएको हो ।

सोही स्थानमा रहेको नेपाली सेनाको ब्यारेकका सैनिकहरुको पनि स्वाब नमुना संकलन गरिएको छ । काठमाडौंबाट हेलिकप्टरमा आएका चिकित्सकहरुले नमुना संकलन गरेर काठमाडौंमै पु¥याएर परीक्षण गर्ने जनाइएको छ ।

यसरी हुँदै छ १३ संक्रमितको हेरचाह

भुल्केस्थित मस्जिदमा बस्दै आएका दुई नेपाली तथा ११ जना भारतीय नागरिकमा कोभिड–१९ पोजेटिभ देखिएपछि मस्जिदको निकट सम्पर्कमा रहेका थप ६९ जनाको स्वाब शनिबार संकलन गरेर ल्याइएको थियो । तिमध्ये २० जनाको स्वाब परीक्षणबाट समुदायस्तरमा संक्रमण नभएको सुखद् अवस्था पाइएको हो । थप ४९ जनाको रिपोर्ट आएपछि भुल्केको समग्र अवस्थाको बारेमा धेरै कुरा क्लियर हुने स्वास्थ्यविज्ञहरुले बताएका छन् ।

यसैगरी आइतबार नेपाली सेनाको हेलिकप्टरमा आएको चिकित्सकसहितको टोलीले त्यहाँका थप १ सय ५२ व्यक्तिको स्वाब परीक्षणका लागि संकलन गरेर काठमाण्डौ लगिएको छ । सम्भवत: त्यसको रिपोर्ट पनि सोमबार साँझसम्म आउनेछ । सोमबार नेपाली सेनाको टोलीले थप व्यक्तिको पनि स्वाब संकलन गरी परीक्षणको लागि पठाउँदैछ ।

लकडाउनकोरोना भाइरस

माधव

Link copied successfully