३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

यसरी हुँदै छ १३ संक्रमितको हेरचाह

विराटनगरको कोभिड उपचार केन्द्रमा राखिएकाहरुलाई समूह–समूहमा चिकित्सकले रेखदेख गर्दैछन् तर उनीहरुमा संक्रमणका बाहिरी लक्षण नदेखिादा कुनै औषधि चलाइएको छैन । केन्द्रमा भित्रका चिकित्सक बाहिर निस्कन पाउँदैनन्, बाहिरबाट कसैलाई भित्र जान दिइँदैन ।

विराटनगर, उदयपुर — चिकित्सक र अरू स्वास्थ्यकर्मीको २५ जनाको टोली यतिबेला कोसी अस्पतालमा रहेको ‘कोभिड–१९ उपचार केन्द्र’ मा केन्द्रित छ । प्रदेश १ मा कोरोना संक्रमण नदेखिएकै बेला बनाइएको यो केन्द्रमा सीमित चिकित्सक र स्वास्थ्यकर्मी बस्दै आएका थिए ।

यसरी हुँदै छ १३ संक्रमितको हेरचाह

उनीहरू सम्भावित संक्रमित आए के कसरी उपचारलगायत प्रक्रिया गर्ने भन्ने सल्लाह गर्दै थिए । त्यसैअनुसारको तयारी पनि जारी थियो । प्रदेश १ सरकारका मुख्यमन्त्री, मन्त्रीहरू अनि अरू अधिकारी आएर तयारीबारे जानकारी लिने गरेका थिए । तर दुई दिनयता भने उक्त केन्द्रको अवस्था बेग्लै छ । त्यहाँ न अन्यत्रका कसैलाई प्रवेश अनुमति छ, न त्यहाँ कार्यरत चिकित्सक/स्वास्थ्यकर्मीलाई बाहिर निस्कने छुट नै । केही सामान वा सहयोग आवश्यक परे सम्पर्कका अरू माध्यम प्रयोग गर्ने गरिएको छ ।

उदयपुरको भुल्के मस्जिदका १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ल्याएर केन्द्रमा राखिएकाले यहाँको अवस्था दुई दिनयता फेरिएको हो । संक्रमितहरूलाई आइसोलेसनमा राखेर चिकित्सकले रुटिन बनाएर रेखदेख र उपचार गरिरहेका छन् ।

उनीहरूको उपचार र रेखदेखका लागि कोसी अस्पतालले डा. दीपक सिग्देलको नेतृत्वमा २५ जनाको स्वास्थ्यकर्मी टोली खटाएको छ । ६/६ जनाको चारवटा समूह बनाएर रुटिनअनुसार संक्रमितको रेखदेख तथा उपचार भइरहेको छ ।

‘चारवटै समूहले ६/६ घण्टाका दरले २४ सै घण्टा ड्युटी गर्छन्,’ डा. सिग्देलले भने, ‘एउटा समूहमा एकजना चिकित्सक, दुई जना नर्स, एक जना स्वास्थ्यकर्मी र दुई जना कार्यालय सहयोगी छन् ।’

२४ जना अस्पतालभित्र निरन्तर बस्ने गरेका छन् । उनीहरू बाहिर निस्कन पाउँदैनन् । डा. सिग्देल अस्पताल प्रांगणसम्म पुगेर दिनमा केही पटक संक्रमितहरूको स्वास्थ्य अवस्था बुझ्छन् । केही समस्या भए छलफल गर्छन् र केही समस्या आए समाधानको उपाय खोज्ने गरिएको छ ।

बिहान र बेलुका चिकित्सकले ‘राउन्ड’ गरेर स्वास्थ्य जाँच गर्दै आएका छन् । ‘राउन्ड गरेपछि चिया, नास्ता, खाना खुवाउने गरेका छौं,’ सिग्देलले भने, ‘सिसी क्यामेराको मद्दतले मनिटर रुमबाट पनि निगरानी गर्ने गरिएको छ । अरू बेला पनि नियमित फोन सम्पर्क गरी अवस्था बुझ्ने गरेको उनले बताए ।

आइसोलेसनमा राखिएका १३ जनामा हालसम्म कोरोनाको कुनै लक्षण भने देखिएको छैन । यही कारण अरू रेखदेख र जाँच गरिएको छ, तर कुनै औषधि प्रयोग नगरिएको संलग्न चिकित्सकले बताए । ‘कसैलाई कुनै किसिमको लक्षण देखिएको छैन,’ सिग्देलले भने, ‘उनीहरूको रगत जाँचलगायत परीक्षणको काम निरन्तर भइरहेको छ ।’

कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले कोरोना उपचार केन्द्रमा रहेका संक्रमितहरूलाई विश्व स्वास्थ्य संगठन र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको मार्गदर्शनअनुसार उपचार गरिरहेको बताए ।

‘आइसोलेसन कक्षमा निश्चित दूरीमा राखिएका शय्यामा उनीहरूलाई राखेका छौं,’ उनले भने, ‘पीपीई लगाएर चिकित्सकले बिहान र बेलुका प्रत्येक संक्रमितको स्वास्थ्य जाँच गर्ने गरेका छन् ।’

अस्पतालभित्रबाट कसैलाई बाहिर निस्किने सुविधा नभएको यादवले बताए । ‘उपचार केन्द्रमा खटिएका चिकित्सकलगायत स्वास्थ्यकर्मी टोली सात दिनपछि १४ दिनका लागि क्वारेन्टाइनमा बस्न जान्छन्,’ उनले भने, ‘कपडा वा अरू सुरक्षाका सामग्री आवश्यक परे वा फेर्नुपर्ने भए अस्पताल परिसरकै टेन्टसम्म मात्रै आउन पाइन्छ ।’

बाहिरबाट पुग्ने चिकित्सक र स्वास्थ्यकर्मी भित्र पस्न पाउँदैनन् । अस्पताल प्रांगणसम्म मात्रै जान पाउने व्यवस्था गरिएको छ । अरू कामले जाने कर्मचारी वा सम्बन्धित अरू व्यक्ति अस्पतालको मूल गेटमा राखिएको सम्पर्क केन्द्रभन्दा भित्र छिर्न पाउँदैनन् । अस्पताल परिसरमा बसेर नेपाल प्रहरीका सुरक्षाकर्मीले निगरानी गर्ने गरेका छन् ।

कोसी अस्पतालकी निमित्त सुपरिडेन्टेन्ट डा. संगीता मिश्राले कोरोना भाइरस संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाले हालसम्म कुनै पनि औषधि नचलाएको बताइन् । ‘कुनै लक्षण देखिएको छैन, खासमा उदयपुरमै सुरक्षित तरिकाले राख्दा पनि हुन्थ्यो,’ उनले भनिन्, ‘ल्याइसकिएकाले पूरै टिम लागेर रेखदेख गरिरहेका छौं ।’

उदयपुरको भुल्केका स्थानीय नागरिकको स्वाब परीक्षणका लागि स्वास्थ्‍यकर्मी लिएर गएको सेनाको हेलिकप्टर

वीरगन्जमा तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के मस्जिदमा पनि भारतीय नागरिक बसेको सूचनाका आधारमा स्थानीय प्रशासनले अनुगमन गरेको थियो ।

त्यसक्रममा भारतीयसहित १६ जना बसेको पाइएको थियो । सुरुमा उनीहरू सबैको आरडीटी विधिले परीक्षण गरिएको थियो । त्यसबेला नेगेटिभ रिपोर्ट आएको थियो । उक्त रिपोर्टबाट सन्तुष्ट हुन नसकेका स्वास्थ्य कार्यालयका कर्मचारीले १६ जनाकै स्वाबको नमुना संकलन गरी परीक्षणका लागि कोसी अञ्चल अस्पतालमा पठाएका थिए ।

कोसीमा गरिएको पीसीआर विधिको परीक्षणबाट १२ जनामा संक्रमण पाइएको थियो । थप पुष्टिका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको थियो ।

शुक्रबार साँझ उक्त प्रयोगशालाको रिपोर्टमा १२ जनामै संक्रमण देखिएको पुष्टि भएको थियो । शुक्रबार मध्यराति उनीहरूसहित थप चार जनालाई उदयपुरबाट एम्बुलेन्समा ल्याइएको थियो । संक्रमितलाई कोभिड उपचार केन्द्रको आइसोलेसनमा राखेर अरूलाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा पठाइएको थियो । शनिबार गरिएको परीक्षणमा क्वारेन्टाइनमा पठाइएको चारमध्ये एकजनामा संक्रमण पुष्टि भएको थियो । उनलाई पनि केन्द्रमा ल्याएर रेखदेख सुरु गरिएको छ ।

प्रकाशित : वैशाख ८, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?