काठमाडौँ — सरकारले लकडाउन घोषणा गरेको करिब १ महिना पुगेको छ । लकडाउनभर अन्यावश्यक सेवा र अनुमति बाहेकका सवारी न गुड्न पाउछन्, न मानिस आवतजावत गर्न नै ।
चैत ११ गतेबाट लगाइएको लकडाउन कार्यान्वयनमा सुरक्षाकर्मी पनि बाक्लो रुपमा परिचालन गरिएको छ । तर काठमाडौंमै सुरक्षाकर्मीलाई छल्दै धादिङ धुनीबेसीका ३७ वर्षीय रामबहादुर तामाङले लकडाउनमा ट्रक चलाए ।
नागढुंगाबाटबाट कलंकी हुँदै बल्खुतर्फ कन्टेनरका चालक तामाङ मादक पदार्थ सेवन गरेका कारण अनियन्त्रित थिए । बल्खु पुलको रेलिङमा ट्रक ठोक्कियो । त्यसपछि प्रहरीको फन्दामा पर्ने डरले उनी त्यहाँबाट कलंकीतर्फ हानिए ।
बाटोमा अलपत्र परेका मानिसलाई बोक्ने योजनासहित नागढुंगाबाट उनी आएका थिए । रेलिङमा ठक्कर दिएर शनिबार साँझ ६ बजे फरार भएका तामाङ १५ मिनेटभित्रै कलंकी ढुंगेअड्डाबाट पक्राउ परे । कन्टेनरसहित पक्राउ परेका उनी अहिले महानगरीय प्रहरी वृत्त थानकोटको हिरासतमा छन् ।
प्रहरीसँगको बयानमा तामाङले कोरोनाको औषधि हुने भन्दै मादक पदार्थ सेवन गरेको बताएका छन् । थानकोट वृत्तका डिएसपी घनश्याम श्रेष्ठले लकडाउनमा अनुमतिबिना सवारी गुडाउनुका साथै मादक पदार्थ सेवन गरेर चलाएकोले उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान भइरहेको बताए ।
