इक्वेडरको अवस्था ‘भयावह’ : परीक्षण न्यून, मृतकको संख्या बढ्दै
ग्वायाकिल, इक्वेडर — इक्वेडरको ग्वायाकिल सहरका डार्बिन क्यासिलोका बुवाको कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला मृत्यु भयो । उनी बुवाको शव लिनका लागि अस्पतालको शवगृहमा गए । तर उनलाई बुवाको होइन, अर्कै शव दिइयो । यस घटनापछि सहरको स्वास्थ्य प्रणालीको व्यापक आलोचना भइरहेको छ ।
बुवाको मृत्यु भएको दुई हप्ता भइसक्यो तर डार्बिनले अझै शव भेटेका छैनन् । ग्वायाकिल इक्वेडरको ठूला सहरमध्येको एक हो र ग्वायाज प्रान्तको राजधानी पनि । इक्वेडरमा देखिएको कोरोना भाइरसको संक्रमणमध्ये करिब ७० प्रतिशत यही प्रान्तमा देखिएको छ । प्लास्टिक उत्पादन गर्ने कारखानामा काम गर्ने ३१ वर्षीय डार्बिनले बुवाको अन्तिम संस्कारका लागि किनेको कफिन पनि फिर्ता गरिसके ।
‘म अस्पताल र शवगृहलाई दोष दिन चाहन्नँ । तर पनि त्यहाँ गेटमै शवहरु छरपस्ट थिए,’ डार्बिनले एफपीसँगको कुराकानीमा भनेका छन्, ‘म बुवालाई एक पटक हेर्न चाहन्थेँ, म क्रिश्चियन परम्पराअनुसार उहाँको अन्तिम संस्कार गर्न चाहन्थे । मेरा बुढा बालाई म एउटा गुलाबको फूलको बुकेले श्रद्धाञ्जली अर्पण गर्न चाहन्थेँ ।’
ग्वायाकिलमा एक फर्निचर पसलमा कफिन बनाउँदै एक दम्पती तस्बिर : एएफपी
डार्बिनका ७६ वर्षीय बुवा मानुएल किड्नीका बिरामी थिए । उनी नियमित रुपमा डायलसिस गराउँदै आएका थिए । उपचारका क्रममा मानुएलको मार्च ३१ मा मृत्यु भएको हो । २ दिनपछि डार्बिन लस सेइबोस अस्पताल गए । उनी बुवाको शव लिन अस्पतालको शवगृह पुगे । शवै शवको थुप्रो देखे । त्यहाँ रहेका १७० शवमध्ये बुवाको शव भेट्टाइदिनका लागि उनले कर्मचारीलाई १५० अमेरिकी डलर दिए ।
बुवाको शव खोज्दाखोज्दै भौंतारिएका डार्बिन क्यासिलो तस्बिर : एएफपी
जब उनले आफूलाई अर्कै शव दिइएको थाहा पाए, शवगृहका कर्मचारीले उनले कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिहरुको शव रहेको ठाउँमा बुवाको शव खोजेको बताए । ‘यदि त्यहाँ कोरोना भाइरसबाट मर्नेहरुको शव हुन्थेन भने म प्रत्येक शव हेर्दै बुवालाई खोज्थेँ । तर आफैलाई कोरोना भाइरस संक्रमणको जोखिम भएकाले मैले छोडिदिएँ ।’
‘धेरै परीक्षण भएकै छैन’
जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार सोमबार बिहानसम्म इक्वेडरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७४ पुगेको छ । त्यस्तै सोमबार बिहानसम्म संक्रमितको संख्या ९ हजार ४ सय ६८ पुगेको छ । त्यस्तै करिब एक हजार संक्रमणपछि निको भएको विश्वविद्यालयले जनाएको छ ।
तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इक्वेडरमा कोरोना भाइरसको परीक्षण नै निकै कम भएको छ । केही दिनमा मात्रै ग्वायाकिल सहरका घर र अस्पतालबाट करिब एक हजार ४ सय शव संकलन गरिएको त्यहाँको सरकारले जानकारी दिएको छ । त्यस्तै यो महिना ६ हजार ७ सयको मृत्यु भएको सरकारले जानकारी दिएको छ । तर तीमध्ये धेरैको कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण भने गरिएको थिएन । सामान्य अवस्थामा भन्दा यस वर्ष अप्रिलको पहिलो दुई हप्तामा ग्वायाकिलमा झन्डै ६ हजार बढीको मृत्यु भएको बीबीसीले जनाएको छ ।
दिवंगत आफन्तको शव पहिचानका लागि व्यक्तिगत सुरक्षाकवच लगाएर शवगृहमा जाँदै एक व्यक्ति तस्बिर : रोयटर्स
अलजजीराका लागि अर्जेन्टिनाका रिपोर्टर टेरेसा बोका अनुसार भन्छिन्, ‘यस क्षेत्रका विज्ञहरुका अनुसार ल्याटिन अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको तथ्यांक विश्वसनीय छैन । किनभने यहाँ परीक्षण नै एकदमै न्यून मात्रामा भएको छ ।’ टेरेसाका अनुसार ल्याटिन अमेरिकाका अधिकांश देशमा स्वाब परीक्षणका लागि किटको पर्याप्त उपलब्धता नै छैन ।
इक्वेडरकै ग्वायाकिल सहरमा २ वटा चिहान विस्तार गरिएको अलजजीराले जनाएको छ । सरकारले संकलन गरेका शव सम्बन्धित परिवारलाई जिम्मा लगाउन वेबसाइटमा सूची सार्वजनिक गरिएको छ । तर डार्बिनले भने सूचीमा बुवाको नाम भेटेनन् । डार्बिनजस्तै ग्वायाकिलका थुप्रैले आफन्तको शव भेटेका छैनन् ।
ग्वायाकिलमा रहेको श्मशान क्षेत्रलाई विस्तार गर्दै कामदार तस्बिर : रोयटर्स
केहीले भने यस्तो भयावह परिस्थिति निम्तिनुमा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । ‘परिवारलाई आफ्ना दिवंगत आफन्त कहाँ छन् भनेर थाहा पाउने अधिकार छ । मृतकको आफन्तले सूची पनि तोडमोड भएर सार्वजनिक भएको बताएका छन् । पुरुषलाई महिला र महिलालाई पुरुष बनाएर सूची सार्वजनिक भएको उनीहरुले बताएका छन्,’ वकिलसमेत रहेका हेक्टर भेनेगासले एएफपीसँगको कुराकानीमा भनेका छन् । सरकारका कारण सिर्जना भएको समस्या र द्विविधाका कारण आफूहरु सरकारविरुद्ध मुद्दा हाल्ने तयारीमा रहेको पनि उनले बताएका छन् ।
दिवंगत आफन्तको शव लिएर हिँडिएको गाडीमा स्पेनी भाषामा 'आमा म तिमीलाई माया गर्छु' लेखिएको पोस्टर तस्बिर : रोयटर्स
इक्वेडरको ग्वायाकिलमा कोरोना भाइरसको संक्रमणका कारण धेरैको मृत्यु भएको आशंका गरिएको छ । सहरका गल्ली–गल्ली र सडक–सडकमा शव त्यसै छोडिएको तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रकाशित भइरहेका छन् ।
ग्वायाकिलको गल्लीमा अलपत्र अवस्था रहेको शव तस्बिर : रोयटर्स
त्यस्तै सहरमा रहेका विभिन्न श्मशानहरुमा मानिसहरु आफन्तको अन्तिम संस्कारका लागि पालो कुर्दै गरेका तस्बिर पनि सार्वजनिक भएका छन् ।
–अलजजीरा र विभिन्न समाचार एजेन्सीहरुको सहयोगमा यो सामग्री तयार पारिएको हो ।
